म वृद्धाश्रमकी एक वृद्धा

कवयित्री
कवयित्री

हेमन्ता आचार्य
सिड्नी, अष्ट्रेलिया

यो ठाउँ किन अनजान अनजान जस्तो लाग्छ
वर्षौँ बितिसके पनि ।
यो घर किन शून्य शून्य जस्तो लाग्छ
हज़ारौँ आउने जाने भए पनि ।

हज़ारौँको यो भिडमा मेरो मन
आफन्त देख्न तढ्पिरहन्छ ।
हरेक बिहानी अनि अँधेरी रात
शनिवारको प्रतीक्षा गरिरहन्छ ।

बिहानीको मिरमिरे घाम अनि
शनिवारको स्वच्छ हावासँगै
भुलाइदिन्छ हरेक तडप अनि एकलो पन
आफन्त भेट्नेको बेचैनीसँगै ।

किनकि, यही त एक दिन हो
जहाँ खुसीको मौसम, आँसुको वर्षा,
अनि उकुसमुकुस भएका कुराहरू
पोख्न पाइन्छ ।

यही त एक क्षण हो,
जहाँ सधैँझैँ निलो बस्र गरेका,
दिनै भिन्नभिन्न चेहरा लिएका,
एक हातमा तिखो सुइ, अनि अर्को
हातमा दबाइको सिसि बोकेका हैन,
रंगीन भेषमा, मासूम चेहरामा,
मेरा आफ्ना, मुटुका टुक्रा देख्न पाइन्छ ।

यही त एक प्रतीक्षा हो,
जहाँ वृद्धाश्रमका यी
भिन्नभिन्न भाषीसँगको
सांकेतिक भाषा छोडेर
आफन्तसँग आफ्नै मातृभाषामा
बोल्न पाइन्छ ।

शनिवारको अँधेरी रातसँगै
सारा जोस हराउँदछ, प्रश्नै प्रश्नले
मन भरिन्छ, कि
म किन यहाँ छु ?

मेरो आफ्नो सुन्दर घर छोडी
म किन यहाँ छु ?
मेरो डाक्टर छोरो अनि
शिक्षिका छोरी छाडी
म किन यहाँ छु ?
मेरा यिनै हातले हुर्काएका
ती नातिनातिनी छोडी
म किन यहाँ छु ?

आज पनि याद छ त्यो दिन
जब मेरो छोरोले पहिलो पटक
संसार देखेको थियो।
उसको पहिलो आँखा झिम्क्याइमैँ
मेरो सारा घाउ निको भएको थियो ।

कसरी बिर्सन सक्छु म त्यो क्षण
जब मेरी छोरीले पहिलो पटक
आमा आमा भनी पुकारेकी थिई,
अनि उसका ती कोमल हातले
मेरा कान्छी आैंला समातेकी थिई
यिनै आैंला समाई स्कुल गई
सक्षम नारी बनेकी थिई

फेरि म सोच्दछु कि
म किन यहाँ छु ?

के यो समय हो? के यो भाग्य हो?
कि यो कर्म अनुसारको फल हो?
के छोराछोरी पढाउनु, पश्चातापको रापमा जल्नु हो?
अथवा सारा जीवन
यही वृद्धाश्रममै काट्नु हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *