यो बन्द कोठामा आज पनि निसासिएको छु
शिवलाल दाहाल
केन्टकी, अमेरिका
उही बन्द कोठा र झ्यालहरु
मात्र सिसाबाट बाहिरी संसारको सानो किस्सा देखिन्छ
सायद यो धेरैमा थोरै बुझेको संसारको एक हिस्सा हो
सायद यो धेरैमा थोरै देखिने संसारको एक आयाम हो
म एकान्तको लहड्मा हराउँछु
र गणितका सुत्रहरु केलाउँदछु
केही दिन अघि एउटा समाचार छापिएको थियो
गुरुत्व तरङ्ग पत्तालागेको सम्बन्धमा
म यही विषयमा घोत्लिन्छु
यी गणितका सुत्रहरु केलाउँदै
हामी गणितका सूत्रभित्र अनुबन्धित छौँ
आजको यो दिन पनि गणितका सूत्रभित्र नै अनुबन्धित छ
यो बाहिरी पर्दै गरेको हिउँ
मुटु चसक्क खाने आजको चिसो
यो झ्यालबाट देखिने यी सिक्रे रुखहरु
पर क्षितिजमा फैलिएका बादलका धर्सा
कता–कता सुनिने आवाजहरू
कानसम्म आइपुगेर ठोकिने यो किबोडका स्ट्रकहरु
यी गणित हुन्, निःसन्देह
प्रत्येक पन्ध्र दिनमा आइदिने पेचेकको प्रतीक्षा
प्रत्येक महिना बुझाउनु पर्ने भूक्तानीहरु
यो आइतबारे बिदा, बेलाबेलाको फुर्सद
यी जिन्दगीका जोडघटाउहरु
गणित हुन्, बेप्रवाह
जन्मदेखि मृत्यसम्म
यी अक्षर र शब्द–शब्दहरूको गणना
यो बाहिरी देखिने परिदृश्य
हावा–पानी, घाम–जून
आकाश–धर्ती
तारा–नक्षेत्र
सृष्टि–प्रलय
एक–एक गणित हुन्
पृथ्वी गणित हो
ब्रम्हान्ड गणित
यो कविता गणित हो, म गणित हुँ
म कवितामा गणित देख्छु, गणितमा कविता
यो बन्द कोठामा आज पनि निसासिएको छु
यी गणितका सुत्रहरुमा……
यी शव्दजालहरुमा……..