राइखन्यूँ

कवि

शिवलाल दाहाल
खुदुनाबारी

राइखन्यूँ जो मैले सानो हुँदा
रहरले रोपेको थिएँ,
राइखन्यूँ जो मैले सानो छँदा
गाईको घाँस खोज्न टाडा जानु परेको पीरले रोपेको थिएँ
हिजो आज बडेमानको रुख भएको छ

त्यसो त साम्चु खोला नजिकको भिरको पहिरोबाट
राइखन्यूँको विरुवा ल्याएर रोपेको थिएँ
दश–पन्ध्र वर्ष वित्यो होला
एउटा लोभ लाग्दो रुख भएको छ
हाँगाहरुमा, पातहरुमा फैलिएको
एउटा अजंगको रुख
गोठाला, खेतालाहरु लोभ्याउँदै
बाटाकै छेउमा उभिएको छ

एकलास पहिरे भिरबाट ल्याएर
त्यो राइखन्यूँको विरुवा रोपी
एउटा ठूलो रुख बनाएर
मैले गुन गरेँ कि बैगुन
थाहा छैन
तर अचेल त्यही राइखन्यूँ
अरिङ्गालको गोलो पालेर
प्रतिपल
मेरै मृत्युको उत्घोष गरिरहेछ !

अप्रिल २, २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *