रिमोट

दिल भूटानी
बेलडाँगी, झापा, नेपाल 
ऊ प्रजातन्त्र उपहार दिए भन्छ
रिमोट हातमा लिएर स्वतन्त्रता दिए भन्छ ।
सारा गाउँहरू बन्दीगृह झैँ बनाएर
सारा शहरहरु स्विच अफ् राखेर
ऊ यतिखेर अन्धकार मात्र बालिरहेको छ
सङ्गिन र बुट यथावत् राखेर
जनताको छात्तीमा
यसैलाई ऊ
राष्ट्रिय खुसीयाली भन्छ
प्रजातन्त्र उपहार हो भन्छ।
रिमोटले चल्ने रोबट झैँ
मेरो देशको प्रजातन्त्र ।
ऊ अचेल हातमा रिमोट लिएर
जनताको हातहरू बाँधिरहेको छ
जनताका उन्नतिहरू रोकिरहेछ
जनताका मुखहरू थुनिरहेको छ।
यस्तै छ
रिमोटले चल्ने रोबट झैँ
मेरो देशको प्रजातन्त्र ।
यहाँ
हिमाल र पहाडहरूले हाँस्न पनि सोध्नुपर्छ
खोला र झरनाहरूले रुन पनि सोध्नुपर्छ
मुना र कोपिलाहरूले खेल्न पनि सोध्नुपर्छ
जुन र फूलहरूले मुस्कुराउन पनि सोध्नुपर्छ
जुनकिरी र पुतलीहरूले नाच्न पनि सोध्नुपर्छ
मान्छे र चराहरूले उड्न पनि सोध्नुपर्छ
यहाँ जन्मनु र मर्नु अघि पनि उसलाई नै सोध्नुपर्छ
यस्तै छ
रिमोटले चल्ने रोबट झैँ
मेरो देशको प्रजातन्त्र।
ऊ रिमोटले प्रधानमन्त्री बनाउँछ
ऊ रिमोटले संसद् चलाउँछ
ऊ रिमोटले मन्त्रीहरू बनाउँछ र चलाउँछ
ऊ रिमोटले प्रधानन्यायाधीश बनाउँछ
ऊ रिमोटले सेना खटाउँछ
ऊ रिमोटले नै प्रजातन्त्र चलाउँछ
त्यसैले म भन्दैछु
नक्कली तमसुक जस्तै संविधान पनि नक्कली छ।
उसलाई थाहा छ कि
यो युग विज्ञान र प्रविधिको हो
त्यसैले
आफ्नो सत्ता टिकाउन
आफ्नो बर्बरताहरू लुकाउन
आफ्नो तितो सत्यताहरू छिपाउन
ऊ सधैँ रिमोट चलाउँछ
रिमोटले चल्ने रोबट झैँ
मेरो देशको प्रजातन्त्र।

Leave a Reply

Your email address will not be published. Required fields are marked *