रूपान्तरित मन

तिलारूपा आचार्य (अधिकारी)
ओहायो,अमेरिका

आफ्नै अनुभूतिहरूमाझ
हराउनुको मज्जा,
सपना देख्नु ,
मनमनै मुस्कुराउनु
उसको आकृति बनाएर
मन मन्दिरमा सजाउनुको
छुट्टै आनन्द छ।
एकान्तको आभास पाएर
कहिले म,
उसलाई महसुस गर्दै….
फूलका नरम पत्रहरूमाथि
आफ्ना सुकोमल ओठ
छुवाइरहेकी पाउँछु
केवल, सपनाको निमन्त्रणामा ।

कहिलेकाहीँ
समयको अँगालोमा
एउटा असहाय व्यक्ति झैँ
चुपचाप उभिएको पाउँछु
आफूलाई नै ।

त्यसैले होला,
ममा एउटा
उमङ्गको घर बनिदैछ,
एउटा छुट्टै उत्साह
पोतिँदै छ।

समयको आगमनमा
क्रमशः :
दिन ढल्दै साँझ
साँझ ढल्दै रात
सुस्त सुस्त बहिरहेका
शीतल हावा
हल्लिरहेका पातहरू
रूखका छायाहरू
सलबलाइरहेका दृश्यहरू
यति जीवन्त छन् कि
म टक्क रोकिएर
आफ्ना आँखा भरी-भरी
अटाउन चाहेँ
जसरी
म उसलाई चाहन्छु ।

समयको गतिसँगै
उदाएको बिहानी किरण
मन्द मुस्कान लिएर
स्वागतमै जुटेकै बेला
मैले उसलाई हेरे/ नियाले
नखोलिएका उसका ओठमा
यौवनका तप्त तरङ्गहरू
लहराइरहेका थिए ।

सम्पूर्ण बैँस बोकेर
उदाएको मेरो अस्तित्वले
उसैमा समर्पित हुन चाहन्छ-
विश्वासको प्रवाहमा
म, आफूलाई
उसकै सुन्दर मनसँग
रूपान्तरण गरी रहेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *