श्रद्धा र आस्थाको अँजुलीसँग
रमेश गौतम
नर्वे
म खुसी भएँ –
जीवन भोगाइको अनुभूति
हाम्रो परीक्षित समय
उसको जीवन
दारुणताको बिम्ब
एक्लो परिवेश
नितान्त एक्लो
स्याहारेर एक्ली देवता
ऊ बाँचेकी छे
एउटा जीवन
उच्चताको
हार्दिकताको !
उसले मलाई बोलाई
एक छाक खाना खान
श्रद्धा र आस्थाले ।
म गएँ खुसी भएर –
अभावग्रस्त जीवन
आफैँ पालिन कठिन परिवेशमा
उसको बोलावट
उसको चाहना
श्रद्धाको, आदर्शको;
नबिचारेर गलहत्त्याइहरू
आफ्नै जीवनका
उसको चाहना
मानव-सभ्यतासँगै टुसाएको मुना
“मान्छे” हुनुको परिचय !
मलाई
अत्यन्त मीठो लाग्यो
त्यो खाना
श्रद्धाले पकाएको
मेरो निम्ति
केवल मेरो निम्ति
साँच्चै
मलाई चौरासी व्यञ्जनभन्दा
अधिक मीठो लाग्यो
त्यो खाना
अभावले पिल्सिएको
तर
श्रद्धाले पकाइएको !
९ दिसम्बर २००१
हात्तीसार