सम्झनामा शरणार्थी शिविर

मधु घिमिरे
पेन्सिलभेनिया, अमेरिका

भरोसा अर्कैको प्रतिदिन थियो गर्नु जसरी
सधैं आशाका ती रवि किरण डुल्थे वरिपरी
पुगिन्थ्यो स्वप्नामा गजब गतिलो जन्म घरमा
थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।१।

उडायो ऑँधीले कति पटक ती सुन्दर धुरी
रुँदै बस्थ्यौं हामी प्रभु भजन जप्दै घरिघरी
बले हेर्दा हेर्दै कति कति कटेरा बगरमा
थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।२।

ससाना कोठामा कठिन सित बित्थ्यो समय त्यो
सुविस्ता वा रक्षा हरपल दिने वस्तु अधुरो
सधैं चिन्ता सास्ती अधिक डर अन्योल मनमा
थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।३।

महामारी बढ्थ्यो सब जन बिरामी पनि हुने
बढी खोला खोल्सा मनमगजमा त्रास थपिने
अभावैमा पर्दा थकित शिर हुन्थ्यो नजरमा
थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।४।

सधैं छोपी आफ्नो परिचय थियो हिँड्नु जगमा
उदाएनन् हाम्रा सुखसयलका सूर्य शिरमा
सधैं माटो खोज्थ्यो मनमगजले त्यो शिविरमा
थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।५।

छन्द-शिखरिणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *