सानीआमाको मन

नैनसिंह मगर
राेचेस्टर, अमेरिका

अल्लारेलाई मरोस् भनेर मसानघाटको बाटो पठायो
मरेन, बाचेर आयो ।
घाइते चितुवाको जङ्गलमा दाउरा खोज्न पठायो
मरेन, बाचेर आयो ।
सौताको छोरो भएकै कारण
उसलाई मार्नु थियो तर मरेन ।
अन्धाको गोलोलाई बिच्काएर
उसलाई त्यही बाटो जानु भन्यो
अल्लारे, नाइ नभनी त्यही बाटो गयो कोदो बोकेर
फेरि फर्केर आयो, घर
सानीआमा छक्क परिन् ।
बाटोमा सोला थापिराखेर
त्यही बाटो हुँदै घाँस काट्न पठायो
अल्लारे नाम्लो खुर्पा बोकेर घाँस बगानमा पुग्यो
सकेसम्म घाँस बोकेर गोठमा आइपुग्यो ।
अल्लारे गोठमा उभिएको देखेर
हंस हो कि अल्लारे हो ! अचम्म लाग्यो
सानीआमालाई छुट्ट्याउन गाह्रो भो ।
जिउँदै देखेर
फेरि साउने भेलमा बजार पठायो
बगायो कि, भनेर हेर्न जाँदा
आफैलाई बगायो
अल्लारे देख्यो
बजारतिर नगई सानीआमालाई बचायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *