साल्पा–सिलिचु पदयात्रा : पर्यटकीय गन्तव्य

तिलक राई
बेलडाँगी 

 

पूर्वी नेपालको खम्बुवान क्षेत्रमा पर्ने साल्पा–सिलिचु अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो स्थान प्राकृतिक सौन्दर्यताको अवलोकनको अलवा किरातहरुको इतिहास र मुन्दुमसँग प्रत्यक्ष सम्बन्ध जोडिएको छ । भोजपुरको चखेवादेखि पदयात्राको लागि ट्रेल निर्माण गरिएको छ । यस ट्रेल मुन्दुम ट्रेलको नामले प्रसिद्ध भएको छ । पदयात्रा गर्न रुचाउने पदयात्रीहरु चखेवासम्म गाडीमा आएर मुन्दुम ट्रेलको पदयात्रा सुरु गर्छन् । त्यही पदयात्राको अनुभाव गर्न हामी दुई (दाजु) म र भाइ (नरविर राई)ले  पनि भ्रमणको कार्यक्रम तय गर्यौं । हामीले २०८२ चैत्र २१ गते झापाको बेलडाँगीबाट मोटर साइकलमा यात्रा सुरु ग¥यौं । त्यस दिन भोजपुरको देउरालीमा पुगेर बस बस्यौं ।

भोलि पल्ट २०८२ चैत्र २२ गतेको बिहान ९ बजे चखेवाभन्दा लगभग दुई किलोमिटर वरै गोठेसिङ्ग होम स्टेमा पुगियो । त्यहाँ खाना खाए पछि हाम्रो मोटरसाइल थन्काएर पहिलो दिनको यात्रा सुरु गर्यौं । हामी चखेवा नपुगि नै गोठेसिङ्ग होम स्टेबाट डाँडै डाँडा उकालो लाग्यौ । निकै बेरको उकालो हिडाई पछि मात्र चखेवाबाट आएको मुन्दुम ट्रेल भेटियो । त्यो ट्रेल भेट्नको लागि हामी नाँगी डाँडाको यात्रा निकै उत्साहको साथ गर्यौं । हावा निकै वेगसँग चल्दो रहेछ । यदि वायु ऊर्जामा कुनै पनि सरकार स्थानीय वा प्रदेश वा संघीयले ध्यान दिने हो भने सर्वसुलभ वायु ऊर्जा उत्पादन गर्न सकिने रहेछ । यस्तो वायुबाट ऊर्जा/विजुली उत्पादन गर्न सक्ने क्षेत्र चखेवाबाट बलौटे भञ्ज्याङसम्म फैलिएको रहेछ । यस क्षेत्र वायु ऊर्जा उत्पादनको लागि उपयुक्त र सम्भावित क्षेत्र रहेछ ।

मुन्दुम ट्रेल भेटिए पछि हामीले हाम्रो यात्रालाई अघि बढायौं । नाङ्गो डाँडा, हावाको एकनासे वेग, न्यानो घामको प्रकाश र पारीपारी देखिने मनमोहक दृश्यसँगै ट्याम्केको अटल शिरको दर्शनले हामीलाई अघि बढ्ने ऊर्जा थपिरहेको थियो । प्रकृतिको अद्भूति कलाले पूर्ण भौगोलिक बनावट र मानव निर्मित ट्रेल झण्डै उस्ता उस्तै रहेछन् । त्यही कारण हुनु पर्छ यो मुन्दुम ट्रेलको पदयात्रामा निस्किए पछि त्यतिकै गन्तव्यसम्म पुग्ने हिम्मत बढेर आउँदो रहेछ । मैले यही कुराको राम्रो अनुभूति गरें । 

हामी एउटा सुन्दर स्थानमा पुग्यौं । यात्रीहरुलाई बस्न र आराम गर्नको निम्ति चौतारी र फँलैचा बनाएका रहेछन् । अति नै कलात्मक तरिकाबाट वाबुक (चिन्डो)को आकृति निर्माण गरिएको रहेछ । त्यहाँ रमणीय दुईवटा ताल पनि रहेछन् । जहाँ पानीको अभाव छ त्यहाँ सोच्नै नसकिने पानीको तलाउ छ । त्यो नाङ्गो डाँडामाथि रहेको तालले जो कोहीलाई एक पल्ट सोच्न बाध्य बनाउँछ । यसले प्रमाणित गर्छ कि प्रकृतिले चाह्यो भने असम्भव देखिने ठाउँमा पनि हरेक चिज पाउँन सम्भव हुन्छ । त्यो पोखरीलाई मलुवा पोखरी भनिन्दो रहेछ । यसको नाम किन र कसरी मलुवा बस्न गयो ? त्यसबारे खासै जानकारी हुन सकेन । जे होस् हावाको वेगले हानेर एकापटीबाट पानीको लहर उठाउँदै अर्कापटी पुराउँदाको दृश्य अति मनोरम र मनमोहक हुदो रहेछ । त्यो दृश्यले जो कोहीलाई पनि आकार्षित गरी घण्टौ घोत्लिन बाध्य बनाउँछ । त्यस वातावरणले मन शान्त बनाएर जीवनको चरम सुखानुभूति गराउँछ । पोखरीको किनारामा बसेर पूरा दिन व्यतित गर्ने इच्छा नजागेको होइन तर हामीलाई समयले त्यसो गर्न दिएन । तसर्थ त्यस दिनको गन्तव्यलाई भेट्न हामी अगाडी बढ्यौ । 

गुराँसका पोथ्राहरुले मीठो मुस्कान छोडेर ट्रेल वरीपरीबाट यात्रीहरुलाई स्वागत गरेको आभास भएको ट्रेल हिड्ने क्रममा थुप्रै पदयात्रीहरुसँग भेट भयो । संयोगवश हाम्रो दुई महत्वपूर्ण व्यक्तित्वहरुसँग भेट भयो । ट्याम्के–मैयुङ मुन्दुम ट्रेल निर्माण समिति अध्यक्ष श्री जिवन किराती र प्राविधिक श्री नुरबहादुर राईसँग भेट भयो । उहाँहरुसँग हाम्रो निकै लामो भलाकुसरी भयो । मुन्दुम ट्रेल सम्बन्धमा कुरा भयो । यस ट्रेलको महत्व, सुरुवात, ट्रेल विकासमा चुनौति, सूचना पाटी कायम गर्ने र पर्यटकीय गन्तव्यसम्म विकास सम्बन्धमा धेरै अन्तरक्रिया भयो । यसै क्रममा श्री जिवन किरातीज्यूले हामीलाई यस क्षेत्रमा पाइने रुख–विरुवा, जीव–जनावर, पर्यवरणीय अवस्था, पशु–पंक्षी, हिमश्रृङ्खला र विभिन्न जातीय समुदायको बसोबास बारे जानकारी गराउँनु भयो । उहाँले यस ट्रेलमा यात्रा गर्न अध्ययन, अनुसन्धान, प्राकृतिक मनोरञ्जन र व्यक्ति सन्तुष्टिको लागि अति महत्वपूर्ण भएको बताउँनु भयो । 

यो ट्रेलमा होम स्टेहरु पनि बन्दै गरेको पाईयो तर मैयुङभन्दा अरु ठाउँमा होम स्टे व्यवस्थित रुपमा सञ्चालन भएको पाईएन । त्यस्तो व्यवस्थित होम स्टे नभए पनि निश्चित ठाउँमा पदयात्रीहरुलाई बस्न र खानाको लागि भने गोठ स्टेहरुले राम्रो सेवा प्रदान गरेको पाईयो । यस क्षेत्रका मानिसहरु असाध्यै सहयोगी र मिलनसार भएको पाईयो । हामी धोद्रे नपुग्दै एक जना स्थानीय भाइ सायदसँग भेट भयो । भाइ मृदु भाषी, मिलनसार र सहयोगी हुनु हुदो रहेछ । उहाँले हामीलाई पहिलो दिनको पहिलो गन्तव्यसम्म मुन्दुम ट्रेलबारे धेरै कुराको जनाकारी गराउँनको साथै पद प्रदर्शक झैं भएर छिमालुङ गोठ बाससम्म पुर्याउँनु भयो । हामी धोद्रेबाट लगभग ५०० मिटर माथि डाँडा छिमालुङ गोठ बासमा पहिलो दिनको यात्रा बिश्राम गर्यौं ।

विभिन्न प्रजातिको गुराँस फुलेको छ । स्थानीयहरुको भनाई अनुसार यो साल गुराँस रमाएर फुल्न सकेन । साँचै गुराँस फुलेको साल सबै वन र डाँडा फूलै फूलले ढाकेको हुन्छ । यो साल बेमौसमी पानीको कारण गुराँस फुल्न नसकेको कुरा बुझ्नमा आयो । जे होस्, कमै बोटहरुले फुले पनि अद्भूत गुराँस देख्न पाईयो । एउटै गुराँसको बोटमा सेतो र गुलाबी दुई किसिमको फूल फुलेको पाईयो । यस्तो दृश्य त्यति सहजिलै अवलोकन गर्न जहाँतही पाईन्दैन । यो प्रकृतिको अपत्यारिलो र असम्भव दृश्य हेर्न यो मुन्दुम ट्रेलको यात्रा गर्न अतिवाश्यक छ । 

गुराँसै गुराँसको जङ्गल हुँदै गुज्रिएको ट्रेल कहिले घोडाहरु निर्धक्क रुपमा चरीरहेको फाँटमा पुग्दै अघि बढ्छ भने कहिले चौरी र याकहरु घाम तापिरहेको शिखरिलो थुकिमा पुग्छ । हामी थुक्कामाथि पुग्दा हिमश्रृङ्खला हेर्दै र बेशी झर्दा गुराँसको रुखहरुसँग लुकामारी गर्दै हाँस पोखरी पुग्यौं । गुराँसको घना जङ्गल बिचमा एकनाशले फैलिएको दलदले चउर छेउबाट ट्रेल रहेछ । कुनै समयमा ठूलो पोखरी थियो होला तर अहिले भने छिप्छिपे पानी मात्रै रहेछ । त्यहाँ पानी जामिएको नभए पनि पानी बग्दै खोला सुरु भएको स्पष्ट देख्न सकिन्छ । अलिकति पर पुगे पछि सफा पानी भएको निकै ठूलो पानीको मूल खोला झै भएर बगेको पाइन्छ । त्यही खोलै खोला हिडे पछि उकालो लागेसँगै मैयुङ सुरु हुन्छ । हामी दोस्रो दिनको बिहानको खाना खान मैयुङको मुन्दुम गोठ स्टेमा पुग्यौं । त्यहाँ खाना खाए पछि गोठ स्टेकी दिदीले बेलुका कहाँ बिश्राम गर्ने भन्ने कुरा निश्चित गरी दिनु भयो । हाम्रो मोबाइलमा नेटवार्क आउँनै छोड्यो । हामीले चाहेको बेला फोन गर्न असम्भव भयो । त्यो असम्भवलाई गोठ स्टेका सञ्चालकहरुले सम्भव बनाई दिए । हामी जहाँ पुग्थ्यौं । उही गोठ स्टेको सञ्चालकले अर्को गोठ स्टेको सञ्चालकलाई सम्पर्क गरी हाम्रो सबै व्यवस्थापन मिलाई दिनु भयो । उहाँहरुको यस्ता आतिथ्य परायण कार्यप्रति हामी कृतज्ञा छौं ।

हामीले दोस्रो दिनको हाम्रो यात्रालाई बलौटे भञ्ज्याङमा बिश्राम ग¥यौं । हामी त्यहाँ पुग्दा मौसम पुराई बदलिसकेको थियो । बादल लागेर गड्याङगुडुङ सहित पानी पर्ने संकेत दिइरहेको थियो । त्यहाँ दुई–तीनवटा गोठहरु रहेछन् । चौरी, गाई र बाख्रा गोठ रहेछन् । ट्रेल निर्माण गर्ने श्रमिकहरुका टेन्ट पनि रहेछन् । त्यहाँ उनीहरुले शौचालय र फोहोर फ्याल्ने संरचना निर्माण गर्दै हुनुहुदो रहेछन् । मुन्दुम ट्रेल निर्माण गर्ने र ट्रेलमा अन्य संरचना निर्माण गर्ने छुट्टछुट्टै समूह रहेका रहेछन् । यसको आर्थिक स्रोत पनि फरक रहेको बुझ्नमा आयो ।

बेलुका साँझदेखिको पानी रातभरी प¥यो । हामीलाई लागेको थियो, पानी मात्र पर्यो होला । तर होइन रहेछ । पानीसँग हिउँ पनि परेछ । त्यो कुरा बिहान मात्र थाहा भयो । बिहान मौसम खुलिएको थियो । उठेर हेर्दा माथि डाँडामा सेतो सेतो बस्तु थुप्रिएको देखियो । त्यो हिउँ हो भनेर सोध्दा असिना होला भन्ने उत्तर पाईयो । स्थानीयले भनिसके पछि हामीलाई पनि असिना नै होला भन्ने लाग्यो । जब हामी ह्याकुलेको उकालो लाग्यौ तब मात्र थाहा भयो कि त्यो असिना नभएर हिउँ नै रहेछ । मौसम गड्बड भएर हिउँ परे पनि मेरो लागि त्यो सुखद अवसर थियो । मेरो जीवनकै हिउँ खेल्ने पहिलो अवसर थियो । चिप्लो हिउँमाथि हिड्न सहजिलो थिएन तर मन आनन्द भएको थियो । बिहानीको न्यानो घामको किरणसँगै हिउँ खेल्दै यात्रा अघि बढायौ । 

निकै घना जङ्गल पार गर्दै हामी घोप्टेसम्म पुगियो । गोठका मानिसहरुको भनाई अनुसार जङ्गलमा विभिन्न वन्यजन्तु पाईनुका साथै बाघ–भालु समेत रहेको भन्ने सुनियो । त्यस दिनसम्मको यात्रामा हामीले कुनै किसिमको वन्यजन्तु वा ठूलो किसिमको पंक्षीसमेत भेटेनौं । वन्य पशु–पंक्षी नभेटिनुमा तिनीहरुको चरनको खेवा नपरेर वा चर्ने समय नभएर पनि हुनसक्छ । ट्रेलमा हामीले एउटा अनौठो विषयलाई अनुभव ग¥यौं । गुराँसको जङ्गलमा ठूल्ठूलो रुख भएको ठाउँमा स–सानो विरुवा त्यति भेटिएन । यदि स–सानो विरुवा नहुने हो भने त निश्ति समय पछि ती रुखहरु बुढो भएर मरे पछि त्यस ठाउँमा गुराँस मासिएर जान्छ त ? फेरि एकाध ठाउँमा गुराँसको स–सानो विरुवाहरु भेटिए तर ठूलो रुखहरु छैनन् । यो कसरी सम्भव भयो ? यस्ता प्रश्नहरु जवाफ विहिन भएर हाम्रो दिमागमा घुमिरहे ।

तेस्रो दिनको बिहानको खाना खान हामी घोप्टे गोठ स्टेमा पुग्यौं । त्यहाँ जङ्गली पंक्षीको मासुसँग खाना खाईयो । मुन्दुम ट्रेल त्यहाँसम्म मात्र निर्माण भएको रहेछ । त्यहाँबाट निकास भन्ने ठाउँसम्म ट्रेल निर्माण गर्न बाँकी रहेछ । ट्रेल निर्माणमा जुटेका श्रमिकहरुको धेरै क्याम्प रहेछन् । ठूलो संख्याको श्रमिकहरु ट्रेल निर्माणमा व्यस्त रहेछन् । हामी त्यहाँबाट अघि बढ्यौ । सबैभन्दा अप्ठ्यारो बाटो र उकालो लाहुरे भीर रहेछ । त्यही लाहुरे भीरको उकालो चढ्न थियो र चढ्न सुरु गर्यौं ।

साँचै स्थानीयहरुको कथन अनुसारै अप्ठ्यारो गोरेटो बाटो, ठाडो उकालो र खरुकी मात्रै भएको तारेभीर रहेछ त्यो लाहुरे भीर । यसको नाम कसले कसरी लाहुरे भीर राख्यो । त्यो यकिन थाहा हुन सकेन । जति उकालो चढ्यो उति अल्गिने चुचुरा, पाईला अघि बढाउँन जति गार्हो उति नै रमाईलो अप्ठ्यारो चुच्चे ढुङ्गामाथि बसेर थकाई मेट्दा । उदो हेर्दा च्वाट्टै काटिएको छाँगा, तल तल गुराँसको रहर लाग्दो वन अनि परपर क्षितिजसँग खेलिरहेका डाँडाहरुका आकार्षणले उकालो चढ्दाको दुःख भुलाई दिने रहेछन् । फेदबाट हेर्दा एउटा मात्रै देखिएको चुचुरा चढ्दै जाँदा त्यस्तो थुकाहरुको पत्र धेरै काट्नु पर्दो रहेछ । यस्ता थुकाहरुको पत्र काट्दै उकालो चढ्ने क्रममा मैले सोचेँ —यो भीरको नाम लाहुरे नभएर पत्रे भीर भएको भए उचित नाम हुने थियो कि ? यो मेरो नितान्त व्यक्तिगत विचार मात्र हो । यो भीरको चुप्पोमा एक्कासि एउटा जनावर देखा पर्यो । त्यो कुन जनावर थियो राम्रो ठम्याउन त सकिन तर यसले के सावित ग¥यो भने यस क्षेत्रमा वन्यजन्तु निस्फिक्री पाईन्छ । यस क्षेत्र कुन जनावरको वासस्थान हो निश्चित गरी संरक्षण गर्न आवश्यक रहेको महसुश भयो ।

लाहुरे भीर पार गर्न ५० मिनेट लाग्ने स्थानीयहरुको भनाई भए पनि हामीलाई पार गर्न लगभग ३ घण्टा लाग्यो । तीन घण्टाको निरन्तरको यात्रा पछि रावा धाप पुगियो । रावा धाप पुग्दा समय निकै घर्की सकेको थियो । मौसम बदलिएर कालो बादलले आकाश छोपि सकेको थियो । त्यहाँ खाली गोठहरु मात्रै रहेछन् । अजै पनि गोठ सञ्चालकहरुले त्यहाँ गोठ ल्याएका रहेन्छन् । निकास नपुगेसम्म हामीले बिश्राम गर्ने सुरक्षित स्थान नपाउने निश्चित थियो । त्यहाँबाट निकास पुग्न धेरै छ तर पानी पर्न सुरु भयो । हामी अघि बढिरह्यौ । संयोगवश एउटा खाली गोठमा पुगियो पनि पानीसँग छिर्के हिउँले भेटायो । हामी त्यही ओत लागेर केही बेर बस्यौ । हिउँमा चिप्लिदै हामी निकास पुग्यौ । त्यहाँ गोठ स्टे भर्खर बन्दै रहेछ । त्यही हाम्रो बेलुकाको बास भयो ।

त्यस क्षेत्रमा शेर्पा जातिको बसोबास भएको क्षेत्र रहेछ । बाटोमा बौद्ध सँस्कृति झल्किने सानोदेखि ठूलो छोर्तेन निर्माण गरेको पाईयो । निकासमा पनि चौतरी र छोर्तेन बौद्ध सँस्कृति अनुसार निर्माण भएको रहेछ । त्यति मात्र होइन, किरात राईको संस्कार र सँस्कृति झल्काउने विभिन्न आकृतिहरु निर्माण भएका रहेछन् । वाबुक (चिन्डो), धनु–वाण, तीन चुला आदि आकृतिहरु अति कलात्मक ढंगबाट निर्माण गरिएको रहेछ । एकै ठाउँमा दुई अलक सँस्कृतिक सहिष्णुताको स्तम्भ लिएर उभिएको निकास आफैमा सुन्दर र मनमोहक रहेछ । त्यहाँ नयाँ होम स्टे निर्माण हुँदै रहेछ तर सञ्चालनमा आएको रहेन्छ ।

हामी बास बस्ने गोठ स्टेका दाजुको तीनवटा बच्चाहरु रहेछन् । अति नै मायालु र रमाईला बच्चाहरु रहेछन् । आठ वर्षिय खाङ्डु ठूलो छोरी बाठी र कामकारी रहिछिन् । सोनाम चन्चले छोरा रहेछ । यी दुई दिदी–भाइ हामी गोठमा पुगेदेखि नै हामीसँग झुमिएर पहिलैको चिनजान भए झै गरी एकैछिनमा आत्मिय र नजिकको साथी बने । उनीहरुले आगो ताप्दै हामीसँग रमाईला गफ गरे । अहिले पनि ती अबोध बच्चाहरुको आवाज ताजा बनेर कानमा गुञ्जिरहेको छ ।

रातभरी हिउँ र पानी पर्यो । बिहान पख मात्र पानी पर्न छोड्यो । पानी नपरे पनि दिन खुलिएन । मौसम सफा नभए पनि हामीले हाम्रो गन्तव्यसम्म पुग्नु नै थियो । हामीले चौथो दिनको यात्रा बिहानै सुरु गर्यौ । हिउँले छप्प ढाकेको ट्रेल पार गर्दै कुलुपंखो पुग्यौ । चिसो निकै बढेको थियो । त्यहाँ होम स्टे निर्माण हुँदै रहेछ । हामीले एउटा होम स्टेमा तातो चियासँग भुटेको मकै खायौं । हामीले फिक्का चिया खायौ । मकै त हामीले नै बोकेका थियौं । त्यहाँका दिदीले फिक्का चियाको पैसा कसरी लिनु भन्दै पैसा लिन आनकानी गर्नु भयो । मैले चिया रङ्ग त खर्च भयो नि त, अरु चिया सरह पैसा लिनु भने पछि पैसा लिनु भयो । यस जमनामा पनि त्यो क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा मानवता, मानवीय संस्कार र इमान्दारी भरपुर रहेको पाईयो । यी गुणहरु नै यस क्षेत्रका सुन्दर र अक्षुण्ण गहना हुन् । 

कुलुपंखोदेखि साल्पा जाने दुईवटा बाटो रहेछन् । एउटा सिद्धै साल्पा पोखरी पुग्दो रहेछ । त्यसलाई माथिल्लो बाटो भन्दो रहेछ । अर्को माबु बजार हुँदै साल्पा पोखरी पुग्दो रहेछ । त्यसलाई तल्लो बाटो भन्दो रहेछ । माथिल्लो बाटा जाँदा साल्पा पोखरी १.३ किलो मिटर टाढा रहेछ । हामी त्यही माथिल्लो बाटो साल्पातिर हानियौ । अन्ततः हामी साल्पा पोखरी पुग्यौ । यो पोखरी किरातीहरुको आस्थाको केन्द्र भएको कारण मानिसहरु शक्ति, बल, बरदान आदि माग्न आउने गरेको पाईन्छ । भौतिक दृष्टिकोणबाट हेर्दा यो पोखरी अद्भूत रुपमा निर्माण भएको पाईन्छ । एउटा डाँडामाथि यति ठूलो पानीको स्रोत हुनु आफूमा चमत्कार बराबर हो । यस्तो पोखरीको दर्शन गरियो । पोखरी वरीपरी ढुङ्गाको गारो लगाएर पोखरीको पानीलाई संरक्षण गरिएको रहेछ । दर्शन गर्नका लागि निश्चित ठाउँ निर्धाण गरिएको रहेछ । यति हुँदा हुँदै पनि दर्शनार्थीहरुले अनवाश्यक रुपमा पोखरीभित्रै पैसा चढाएको पाईयो । त्यो पैसालाई पानीमा नचढाएर सहयोग पेटिकामा जम्मा गर्नु भने त्यसको सही सदुपयोग हुने थियो । यति मात्रै होइन, पोखरीको पानी दुषित हुनबाट जोगिने थियो ।

साल्पा दर्शन पछि हामी माबु बजार आएर बस बस्यौं । हिउँ परेर हामी उही मुन्दुम ट्रेल भएर फर्कन सक्ने अवस्था भएन । त्यस पछि हामी पाँचौ दिन बिलबाटे, धाप हुदै तुम्लिङटार भएर फर्कने निदो गर्यौं । हामीलाई माबु बजारबाट बिलबाटे झर्ने बाटो थाहा थिएन । झनै हिउँले बाटो नै छोपे पछि हामीले बाटो पत्तो लगाउने कुरै भएन । स्थानीय डेन्डी शेर्पा दाजुले पद प्रदर्शकको रुपमा सहयोग गर्ने हुनु भयो । म हिउँमा चिप्लिएर हिड्नै सकिन । डेन्डी दाजुले मेरो झोला बोकेर ठूलो गुण लगाउनु भयो । उहाँ मेरो सम्झनामा सधै आदरनीय भएर बसिरहनु हुनेछ । हामी बिलबाटे हुँदै धापमा पुगेर रिजर्व गरेको गाडीमा चढेर गोठेसिङ होम स्टेसम्म पुग्यौं ।

मुन्दुम, रुख–विरुवा, प्रकृति, वन्यजन्तु र विभिन्न पंक्षीबारे अध्ययन अनुसन्धान गर्न यस मुन्दुम ट्रेलको पद यात्रा अनिवार्य छ । यस क्षेत्रको सामाजिक र आर्थिक अध्ययनको त एउटा ठूलो विश्वविद्यालय हो ट्रेल यात्रा । किरातीहरुको मुन्दुम र उत्पतिको इतिहासलाई बुझ्न यो ट्रेल यात्रा पूरा नगरी अधुरो अध्ययन मात्र हुनेछ । यति लामो एउटै हिमश्रृङ्खलाको यात्रा गर्दै विभिन्न अग्ला हिमश्रृङ्खला हेर्दै घामसँगै उठेर घामसँगै सुत्ने अवसर प्राप्त गर्न मुन्दुम ट्रेलको यात्रा जीवनमा छुटाउनै मिल्दैन । तसर्थ तपाईंहरुले पनि एक पल्ट मुन्दुम ट्रेलको पदयात्रा गरी प्रकृतिको काखमा मज्जा लिदै फरक अनुभव लिन नछुटाउँनु होला ।

स्थानीय, क्षेत्रीय र केद्रिय तहबाट यस क्षेत्रलाई संरक्षण, प्रबर्धन, सम्बर्धन र विकास गर्न सके पूर्वको मात्रै होइन नेपाल अधिराज्यकै पर्यटकीय गन्तव्य मध्ये पर्यटकहरुको रोजाईको गन्तव्य बन्न सक्ने सम्भावना यस मुन्दुम ट्रेलले बोको छ । यसको लागि अनुभावि र सक्षम पद प्रदर्शक र उचित व्यवस्थाको व्यवस्थापन गर्न जरुरी छ ।

यसरी हामी छौटौ दिन २०८२ चैत्र २६ मा मनभरी सम्झनाको पोको बेकी फर्किएर बेलडाँगीको छाप्रोमा लुसुक्क आईपुग्यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *