हाम्रो देश

दुर्गा गुरागाईं
भिक्टोरिया अष्ट्रेलिया

 

यो भूधाम छ दक्षिणी सतहमा गोलार्ध यो चित्रको
यी हाम्री अचला समुद्र विचमा शोभा भरी भित्रको।
उद्योगी भइ सिर्जना युगसँगै अज्झै कला यहीँ भरूँ
गौरी शंकर छन् हिमालय यहीँ ढोगौँ नमस्कार गरौँ।।५।

डाँडा पर्वत छन् हिमाल शिर हुन् अग्ला चुली पर्वत
झर्ना कल् कल छन् पवित्र जल यो गंगा सरी सर्वत ।
हाम्रा यी गिरि कन्दरा शिखर छन् यी तीर्थ हुन् तालहरू
पूजा दर्शन प्रात: साँझ इनकै ढोगौं नमस्कार गरौँ।।६।

गङ्गा सागर छन् पवित्र बसुधा कृष्णा यहीँ नर्वदा
पार्छन् निर्मल यो धरा दिन सधैं बग्छन् सदा सर्वदा।
ब्रह्माणी तपसा सरी छ सरयू केदार गङ्गा यहीँ
काबेरी कमला विशुद्ध सबरी पाताल गङ्गा यहीँ।।७।

पाइन्नन् सुख शान्ति यो भुवनमा खोजेर कैल्यै कहीँ
त्यागौं सुस्तिपना भगीरथ बनूँ भागीरथी छन् यहीँ।
हाम्रै सर्वत छन् पवित्र जलका मन्दाकिनी झैँ मरूत्
मानौँ यी मठ तीर्थ छन धरतीमा ढोगौँ नमस्कार गरौँ ।।८

थोपा शीत छरी बहन्छ शिरमा आकाश गङ्गा झरी
नीला कञ्चन पोखरी शिर महाँ बग्छन् तलाउ भरी।
द्यौराली मठ तीर्थछन् थल भरी देवादि रूप् मा तरु।
देवी छन् जिरिजा यही नगरिमा ढोगौं नमस्कार गरौं।।९।

सल्लो चन्दन कन्दमूल लहरा फुल्छन् सदा गाछमा
हाम्रै यो अति सुन्दरी छ नगरी खेल्छौं सधैँ काखमा ।
यो भू चक्कर गर्दछिन् जलधिले काङ्गारु छन् जीवहरू
ढोगौँ यी धरती झुकेर शिरले प्रणम्य छन् धाम स्वरूप ।।१०।

वास्नादार पलाश चाँप अमला अश्वत्थ छन् काफल।
डुम्री शीमल छन् कदम्ब रसिला रम्भा र अम्बा फल।।।
जम्बूवृक्ष र केतकी सुरसिला छर्दैछन् वास्ना अरू
गौरीछन् जननी श्री विष्णु शिव यहीँ ढोगौँ नमस्कार गरौँ।।११।

फुप्पाछन् लटरम्म आँप बदरी बास्ना सरी कल्कली
फक्रेका रसिला पराग सरिका कादम्बरी झैँ खुली ।
डुल्छन् ती विचरा चरा र पुतली घुम्छन् वनैका धनी
रम्छन् यी भमरा वनस्पति चुसी मौरी जतै भन् भनी।।१२।

नीला चम्पक चाँदनी सुनखरी मन्दार पारस् सरू
चम्पा कामलता छ राग-रजनी गन्धा फुली गोखरू।
माला द्रौपद कुन्द फुल्छ जलपा फुल्छन् कतै मल्लिका
सेवन्ती मधुमालती मखमली सोभा सरी चन्द्रिका।।१३।

सीतारा नभमा सरोज जलमा फुल्छन् वनै वल्लरी
प्रात:श्री अपराजिता कमलिनी बास्ना बगैंचा भरी ।
फक्रिँदै शतपत्रका कुमुदिनी फुल्छन् सदाबाहर हरू
कल्याणी नव चण्डिका शत यहीँ ढोगौँ नमस्कार गरौँ ।।१४।

छन्द – शार्दूलविक्रीडित

Don't have a Facebook account? Please, use the form below with other options!