हाम्रो पीडाहरू
अबिलाल राई
दमक तिन, बेलडाँगी
कसलाई सुनाऊ खै ?
मातृभूमि विहीन हुँदाको पिडा
मुटुमा छुरा रोपे झैँ लाग्छ
भोटाङे भनी हेपेर बोल्दा ।
रुखको फेदमा बोरा ओल्छ्याइ पढेको
हावाले तिर्पाल उडाउँछ भनेर घरको धुरी चढेको
रतुवा बगरमा गिटी कुटेको
गाउँमा दिनभरि मल र माटो बोकेको
कसलाई सुनाऊ खै ?
कहिले आगोले झुपडीहरू डढाउँछ
कहिले हावाले छाना उडाउँछ ।
कहिले हात्तीले झुपडी भत्काउँछ
कहिले राहत आयो भनेको सुनिन्छ
तर खै कसले थाहा नपाइ चप्काउँछ
यहाँ अझै चोरहरूको छ मस्ती
यहाँ अझै जनताहरूलाई छ सास्ती
यथार्थ यी पीडाहरू कसलाई सुनाऊ खै ?
यसरी
हामीलाई तीन दशक देखि निरन्तर
समय र परिस्थितिले भकुन्डो खेलिरहेको छ
एउटै परिवारको सदस्य समुन्द्र पारीको देशहरूमा
कसले बुझिदिने
एकल पुरुष, एकल महिला भई बस्नुको पीडाहरू
कसले बुझिदिने वृद्धा आमा बा अनि अपाङ्गहरूको वेदनाहरू
खै कसलाई सुनाऊ ?
कोही भोकले कोही रोगले तड्पिरहेका छन्
कोही शरणार्थी बिल्ला बोक्दा बोक्दा थाकिसकेका छन्
खै के भनौँ कसलाई सुनाऊ
जाऊ गन्तव्य पुग्ने बाटो छैन
बसौँ आफ्नो माटो छैन ।