अक्षरहरूको ध्रुवीकरण
तुम्बेहाङ्ग लिम्बू
जुन दिन देखि सत्ताले
कलमको नीबमा भोटे ताल्चा झुण्ड्यायो
हो त्यही दिन देखि अक्षरहरूले जुलुस निकाल्न थालेका हुन्
कविता बनेर, कथा बनेर, नारा बनेर, ऐन बनेर ।
चुलामा आगो पनि त्यसै दिन देखि भर्भराउन थालेको हो
गाउँ बस्तीमा झिल्को पनि त्यही बेला देखि उड्न थालेको हो
टाँसीछोजोङको भित्तामा कोरेको सलाईको आगो
थिम्फूको बहुलट्ठी हावाले देशैभरि फैलाए पछि
गरिबीको झुप्रो जल्न सुरु भएको हो
अक्षर र आगो ध्रुवीकरण हुन सुरु भएको हो ।
टाँसीछोजोङबाट पाताङको धार अर्जापेर निस्कने अक्षरहरू
सत्ताको दूधमा नुहाएर सेतो देखिने भए
प्रतिकारमा जुट्ने विद्रोही अक्षरका हुलहरू
निरंकूशताको गोलीले रगताम्मे भएर रातो देखिने भए
थिम्फू खोला बहुलाएर युद्धको शंखनाद गरेपछि
आगो पनि त्यसरी नै दुई ध्रुवमा विभाजित हुन पुगे
घरेलु आगो र जङ्गली आगो ।
आज म देखिरहेछु साला
सेता अक्षरहरू गाउँ-गाउँ र झुप्रा-झुप्रामा पसेर
भाइचारा र सद्भावको घाँटी रेटिरहेछन्
राता अक्षरका निधारमा आतङ्ककारीको बिल्ला टाँसेर
हैकमवादको कारागारमा चक्की पिसाइरहेछन्
उत्ताना परेका घाइते र निर्बल शब्दहरूलाई कुटी-कुटी
शक्तिपूजाको आरती उतार्न बाध्य पार्दै
उछिल्टिएर सिमाना काटेका हरफहरू विरुद्ध
क्यामेरा अघि बोल्न विवश पारिरहेछन् ।
सुनको शिरपेचमा नै जब कालो काग बसेपछि
दिमाग त कालो कागकै चल्ने भयो
मोतिथाङ पहाडको टाकिनले जतिनै स्वतन्त्रताको नाच देखाए पनि
त्यसको स्वतन्त्रता त्यही सानो सल्लाघारी भरि मात्र हो
त्यस बाहिर त त्यो कहाँ स्वाधीन छ र !
बंगालको खाडी र हिन्द महासागरबाट आउने मनसुनमा भाग्य निहित छ
प्रशान्त महासागर पारिबाट आउने हावामा भविष्य अडेको छ
त्यसको दादागिरी त सर्पले निल्दै गरेको भ्यागुताले
मुख सोझी भेटेको आहारा निले जति मात्र हो
क्षेत्र-क्षेत्रमा, सहर-सहरमा, टोल-टोलमा
ह्वेल जत्रो, साँढे जत्रो, भुसुना जत्रो दादागिरी ।
खबरदार ! ए घाइते युग !
यहाँ अक्षरहरू ध्रुवीकरण भइसकेकाछन् ।।