अदृश्य स्वरूप
नेत्रप्रसाद आचार्य
टेक्सास, अमेरिका
अनेकौँ भावनामा
डुबुल्की मार्दै
मर्मस्पर्शी चराको तान सुनेर
म आफ्नै कथा बुन्छु
घोडेकोका यात्रीहरु
कथामा व्यथा भेटेपछि
घोडाका कान थुन्छन्
गुराँस खुमचिएलान् कि भन्ने त्रासमा
आफैँ लचिलो हुन्छु
पूर्व माछापुच्छ्रे र पश्चिम धवलागिरी
रोएछन् क्यार,
म डुबेछु बेस्सरी
सागर मसंग वार्ता गर्न
र, सगर मध्यस्थता…………………….
सुनेथेँ, “बुबा दर्सन, छोरो घर्सन”
म के?
न त बुबा, न छोरो
ओहो, चोइटिन्छु?
अंह हुँदै हैन
गाँसिन्छु, सुपरग्लुले जडान गरेझैँ
हा हा हा हा हा
कहिल्यै नटुट्ने गरी
हृदयका असंख्य अतृप्ति
चिरबिर आवाज, लामपुच्छ्रे घोडेटो
चाँपको चापले कुरिरहेछन्
अदृश्य गाउने लार्क
देख्दै नदेखिने सूक्ष्म जस्तो
रातको अन्धकार हाँसिरहेको
दिन रोइरहेको
रथका सारथीहरू चकमन्न
न हाँसो, न रोदन
न छ कुनै विजयी आवाज
अचम्म !!!!!!
गम पाए
अदृश्य भावमा
अदृश्य भएछ जुन
अदृश्य सासन जमाइरहेछ ऊ
अदृश्य स्वरूप लिएर