अब शरणार्थी नबनाऊ
बलि भट्टराई (माया), केन्टुकी-अमेरिका
शरणार्थी भन्ने अब कहिले सम्मलाई हो यो उपनाम,
मागी खानु पऱ्या छ सधैँ, गरौँ भने छैन केहि काम
घरबार छैन,देश छैन-छैन खाने बस्ने ठेगान,
पत्थर जस्तै बन्यौ नि आमा अब कहिले पग्लन्छ तिम्रो मन ।
आमा तिमी कस्ती भइसक्यौ सधैं याद आइरहन्छ ,
सपनामा पनि सधैँभरि झलझली देखिरहिन्छ ।
अब त धेरै भइसकेछ आमा तिम्रो स्पर्श नपाएको,
तिम्रो काख छोडेदेखि कहिलै छैन राम्ररी खाना खाएको ।
आमा तिमी जति कठोर बनेपनि हामीलाई तिम्रै माया लागिरहन्छ,
अब त छिट्टै बोलाउँछौ भन्ने आश लागिरहन्छ ।
जान-अन्जानमै कुनै गल्ती भए आफ्नै सन्तानलाई गरिदेऊ क्षमा,
आफ्नो देशमा बोलाउ न, हामीलाई अब शरणार्थी नबनाऊ आमा ।