अभाव: एक टुक्रा समय

रमेश गौतम
नर्वे

सायद
कुनै समय
मसँग ‘विशेष समय’ थियो
आफ्नो सबै खुसी थियो
र व्यथित भए पनि
बाल्यकालका अनुभूतिहरु थिए
एउटा लाञ्छित समयको
दारुण उपहार !

आज
सर्वत्र निर्णयहीनता छ
समाप्त भइसकेको जीवनको
किञ्चित सपना बाँकी छ।
निरन्तर जलिरहेको आस्था
भग्नावशेष आकांक्षाहरु
निर्णयहीनताका उपजहरु
गन्तव्यहीनताका सहाराहरु
हाय!
टल्किरहेछन् जीवनभरि सधैँ।

आहत बनेर अनुभूतिशून्यतामा
जलमग्न बिहानीहरु
भित्रने गर्छन्
उच्छ्वास पोख्दै
नीरस सुसेली सुसेल्दै!
हाय!
आज समय
दारुणताका गीत गाइरहेछ………
पल-प्रतिपल
बलात्कृत बनेर नयनहरु
विवश छन् दृश्यावलोकन गर्न
आफ्नै दाहसंस्कारको नमीठो दृश्य।

आज मन
थकित फर्किएको छ
आफ्नै शवयात्रामा सामेल भएर
र अद्यापि बाँकी छ
एउटा भयाक्रान्त समय तालिका-
तेर्हौ दिनको पुण्य तिथिमा
सामेल हुनै पर्ने बाध्यता
अनि
केही शोक सभाहरु
वक्तव्य दिनु पर्ने विवश क्षणहरु!
आँसु चुहाउनै पर्ने आहत पलहरु!

हाय!
कति जर्जर छ समय!
कति व्यथित छन् यात्रानुभूतिहरु!!

09/09/2004
Itahari

Leave a Reply

Your email address will not be published. Required fields are marked *