अमूर्त रङ्गहरु
रमेश गौतम
नर्वे
विश्वविद्यालयको पुस्तकालयमा बसेर
एकोहोरो हेरिरहेछु
प…..र आकाशमा उडिरहेका चराहरु
बाहिर बाटिकामा
रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु
अनि
सूर्यको मधूर कान्तिसँगै
प्रेम आलिंगनमा मस्त केही जोडीहरु !
नजिकैको अध्ययन कक्षमा
कुरा गरिरहेछन्
एक हुल एसियन इन्जिनियरहरु-
भियतनाम युद्ध र यसको प्रभाव
झाँगिदै गरेको चिनिया अर्थ-बजार
भारतमा बढ्दै गइरहेको वातावरणीय समस्या
श्रीलंकाली समुद्री तटमा
प्रयोग गर्न सकिने नयाँ प्रविधि
र यस्तै यस्तै अरु कुराहरु !
फेसबुकमा यति नै बेला
कसैले स्ट्याटस अपडेट गर्यो-
“चुस उसलाई मज्जाले
ऊ नसकिउन्जेल”
मोबाइलको स्क्रीनमा आँखा ओछ्याएर
एक टक हेरिरहेछु
पन्ध्र वर्षे केटाको स्ट्याटस म्यासेज !
हेरिरहेछु लाइक गर्ने
र कमेन्ट लेख्नेहरुको लहर !
कति पपुलर हुँदैछ यो स्ट्याटस
एउटी चौध वर्षे केटीले
प्रतिक्रियामा लेखिन्-
“के तिमीले उसलाई …..भनेको हो ?”
(मलाई लेख्न मन लागेन यो खाली ठाउँको शब्द )
भर्खरै नर्वेली आतंकमा धेरै मारिए
बेलायती द्वन्द्वले राम्रैसँग बजार पायो
समाचार माध्यमहरुमा
तुफान आतंकबाट भयभीत छन्
लाखौं अमेरिकीहरू
कसरी सम्भव होला स्क्र्याचबाट गरिनु पर्ने
लिवियाको पुनर्निर्माण ?
सोचिरहेछु एकोहोरो-एक्लै !
कालो कफिको चुस्कीसँगै
टोकिरहेछु हामबर्गर
अनि
रङ्ग्याइरहेछु हाइलाइटरले
अगाडिको टेबुलमा भएको कापी
कति रङ्गिन भइसकेछन् कैयन् पानाहरु !
प…..र आकाशमा उडिरहेका चराहरु
स्वच्छन्द
रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु
मनमोहक
प्रेम आलिंगनमा मस्त जोडीहरु
निस्फिक्री
आजको यो फेसबुक पुस्ता
बेपर्वाह
नजिकैको टेबुलको मेरो कापी
रङ्गीन !!
जीवन र यी सबै अमूर्त रङ्गहरुको
कस्तो सम्बन्ध हुँदो हो
सोचिरहेछु |
३१ अगष्ट २०११
स्टाभाङ्गर, नर्वे
राम्रो राम्रो कुरा मात्र सोच्नु नि…… छिट्टै ठुलो मान्छे हुनु.