अम्बर सुब्बासँग यतिराज अजनबी

डायस्पोरिक भूटानी समुदायका एक संगीत साधकको नाम हो अम्बर सुब्बा | उनको शब्द तथा संगीतमा रहेको एल्बमका केही गीतहरू नेपालको विभिन्न एफएमहरु र टेलेभिजनहरु बाट बज्ने चर्चित गीतहरूमा पर्दछन् बज्ने चर्चित गीतहरूमा पर्दछन् | प्रस्तुत छ यतिराज अजनबीसंगको वहाँको भलाकुसारी |

कहिले देखि प्रारम्भ गर्नु भो संगीत सृजना ?

संगीत सृजना गर्न यति नै बेला बाट सुरु गरे भन्ने त छैन तर गीत गाउँदै जाने क्रममा बिस्तारै गर्न सुरु | सुरुमा त गाउने रहरले नै तान्यो यो क्षेत्रमा तर पछि गएर थाहा भयो कि संगीत सृजना र लेख्न पनि सकिने रै’छ भनेर | सुरुमा धेरै संगीत सृजना गरे ता पनि मेरो पहिलो रेकर्ड गरिएको सिर्जना चाहिँ मेरो परम मित्र छवि न्यौपानेको स्वरमा रहेको “तिमी आउने गोरेटोमा” नै हो | मेरो शब्द संगीतमा रहेको यो गीत हामीले २००६ तिर रेकर्ड गरेको थियौ जुन गीतले मलाई धेर थोर दर्शक श्रोता माझ चिनायो |

अम्बर सुब्बा
अम्बर सुब्बा

पहिलो संगीत सुन्दाको परिवेश ? त्यसको झल्को कतिखेर आउँछ आजकाल ?

मैले पहिलो चोटि संगीत कैले सुने भन्ने त याद भएन तर एउटा सम्झिरहने क्षण भने छ | म ८- ९ वर्षको थिएँ होला बेलुकाको समय जहिले मेरो बुबा भूटान रेडियोबाट प्रसारण हुने नेपाली कार्यक्रम सुन्नुहुन्थ्यो र हामी पनि बुबा सँगै सुन्ने गर्थ्यौ | एउटा “बन्धनको चिनो” भन्ने गीत बज्यो जो मलाई धेरै नै मन पर्‍यो | यो गीत प्रताप सुब्बाद्वार गाइएको भन्दै वहाँको घर, परिवार तथा वहाँहरूसंगको हाम्रो सम्बन्धको बारेमा पनि बताउनु भयो | हामी जस्तो सामान्य मान्छेले पनि गीत गाउन सक्दोरहेछ भन्ने थाह पाउँदा मलाई अचम्मै लागेको थियो त्यो समय | त्यति बेला मैले बुबालाई “म पनि पछि गएर गीत गाउछु” भनेको र बुबाले प्रत्युत्तरमा “गाउँछस् के?” भनेको मनमा ताजै छ | त्यस पछि त मलाई गीत गाउने ठुलो रहर जागेर आयो | त्यसैले म आदरणीय प्रताप सुब्बा सरलाई ठुलो प्रेरणाको श्रोत ठान्छु | अहिले कतै “ बन्धनको चिनो ” सुनें भने त्यो क्षण र परिवेशको सम्झना हुन्छ |

कुन कुन वाद्ययन्त्र बजाउनु हुन्छ ? कुनमा कुशल हुनुहुन्छ ? सब भन्दा मनपर्ने बाजा ? किन ?

अङ्ग्रेजीमा एउटा भनाइ छ नि “Jack of all and master of none” म वाद्यवादनमा त्यस्तै छु | हामीले अहिले बढी चलाउने वाद्ययन्त्रमा गितार, हार्मोनियम, दुक्की तबला र ड्रम नै पर्दछन् | यी मध्ये मलाई गितार र हार्मोनियम अलि अलि आउछ | मलाई हार्मोनियमको धुनमा डुबेर गाउँदा जति आनान्द आउछ अरू वाद्ययन्त्रमा त्यति आउँदैन | हुन त गितार पनि उतिनै मन पर्छ किन कि यसले बजाउँदा स्केल र रिदम दुवै दिन्छ र यसले गायकलाई टाइमिङ्ग र सुरमा गाउन मद्दत गर्छ |

किन सृजना गर्नु हुन्छ संगीत ?

छोटोमा भन्नु पर्दा आत्मसन्तुष्टिको लागि | सुरुमा त संगीत सृजना गर्छु भन्ने सोचाइ नै थिएन | गाउँदै जाने क्रममा संगीत पनि गरौँ न भनी साथीहरूले लेखेको गीतहरुमा प्रयास गर्न सुरु गरियो I साथीहरूले राम्रो छ भने पछि हौसला बढ्दै गयो र ऐले आएर त नासा नै लाग्यो संगीत सृजना प्रति |

संगीतमा तपाईँको औपचारिक शिक्षा ?

त्यस्तो औपचारिक शिक्षा त छैन तर सानैदेखि संगीत गुरुहरूसंग सा रे ग म सिक्न सुरु गरेँ | उर्लाबारी मा एउटा सानो संगीत विद्यालय थियो जसबाट मैले एक वर्ष जति क्लास लिएँ | पछि उच्च शिक्षाको लागि काठमान्डौ आए र त्यहाँ मैले प्रकाश गुरुङ सर र गुरु देव कामत सरसँग २ वर्ष जति क्लास लिएँ |

के संगीत कुनै जातिको चिनारी हो ? कसरी ?

गीत संगीत कुनै पनि जातिको चिनारी हुन सक्छ | उदहारणको लागि तामांग सेलोले तामांग जातिलाई चिनाउछ त्यसै गरी पूर्वको हक्पारेले लिम्बु जातिलाई चिनाउँछ भने राई जातिहरुको चण्डी गीत छ, त्यसै गरी पश्चिमको देउडा गीतले देउडा जातिलाई चिनाउँछ | यो एउटा सानो उदाहरण मात्र हो | जुनै क्षेत्र वा देशहरूमा पनि यसरी विभिन्न जातिहरुको आ-आफ्नै गीत संगीत हुन्छन् जसले उनीहरूको आ-आफ्नै परम्परा रितिरिवाज बोकेको हुन्छ | जस्तै अहिले पूर्वी संगीतमा धेरै नै प्रचलित सुफी संगीत सुफी जाति बाट आएको हो त्यसै गरी ब्ल्युज संगीत एफ्रिकन अमेरिकनहरु बाट सुरु गरिएको हो | तर वर्तामानमा संगीत पनि विश्विकरण हुँदै गैरहेको छ जसले गर्दा हाम्रा चिनारीहरु लोप हुने पो हुन् कि भन्ने डर छ | हाम्रा गीतहरुमा भोलि गएर डम्फु, मादल, सारंगी, बिनायो जस्ता जातिलाई प्रतिनिधित्व गर्ने बाजाहरु नबज्ने हुन् कि भन्ने पनि पिर लाग्छ यदाकदा | हामीले संगीत गर्दा धेरै जस्तो हिन्दी गीतहरू र सुफी गीतहरुबाट प्रभावित भई सृजना गरिरहेका हुन्छौ भने अहिलेको नयाँ पिँढीका युवाले त झन् पुरै पश्चिमेली सङ्गीतको अनुसरण गर्छन् | यसो गर्नु नराम्रो भन्न त मिल्दैमिल्दैन किनकि हामीले समय अनुसार चल्नै पर्छ तर यसो गर्दा गर्दै हाम्रो जाति चिनाउने बाजा र सङ्गीतलाई चटक्कै भुल्नु हुन्न भन्ने हो |

तपाईँले सृजना गर्ने सङ्गीतको विधा ? यही विधा किन ?

यस्तै विधा भन्दा पनि म बडी जस्तो सुगम संगीत नै सृजना गर्छु | मलाई सेमी क्लासिकल गीतहरू बढी मन पर्छ र मेरो संगीतमा पनि त्यस्को गन्ध आउछ | त्यसपछि मैले पप र लोक विधामा पनि काम गरेको छु |

कुन कुन संगीतकारहरूको प्रसंशक हुनुहुन्छ तपाईँ ? कारण नि ?

मलाई पुरानो पुस्ताका संगीतकारहरुमा रन्जीत गजमेर, नाति काजि, गोपाल योञ्जन आदि मन पर्छ भने अहिलेकाहरूमा सत्य-स्वरूप, हरि लम्साल, कल्याण सिंह, काली प्रसाद बास्कोटा आदि मन पर्छ | हिन्दीमा भन्नु पर्दा हरिहरणको संगीत अति मन पर्छ | हाम्रो भूटानी नेपाली समाजमा पनि धेरै राम्रा राम्रा संगीतकारहरुको जन्म भैरहेको छ |

संगीत कत्तिको सुन्नुहुन्छ ? कसको गीत संगीत प्राय सुन्नुहुन्छ ?

फुर्सद हुँदा गीत संगीत सुनिरहेकै हुन्छु तर जहिले तहिले इयर फोन कान मै झुण्डाएर चैँ हिंडदिन | प्राय जस्तो चैँ ड्राइभ गर्दा सुन्छु | संगीतकारहरुले गीत संगीतहरु सुन्नु र अप्टु डेट हुन अति आवश्यक ठान्छु म त | हिन्दीमा सफ्कत अमानत अलि अनि आर्जित सिंहको गीतहरू सुन्छु र नेपालीमा त यसकै सुन्छु भन्ने छैन | मन छुने गीत छ भने जसको पनि सुन्छु |

डायस्पोरिक भूटानी सङ्गीतको अहिलेको अवस्था कस्तो छ ?

डायस्पोरिक भूटानी सङ्गीतको अहिलेको अवस्था धेरै नै राम्रो देख्छु म त | आर्थिक अवस्था राम्रो भएको कारण सबै संगीतमा लागेकाहरुले एल्बम निकाल्न थालेका छन् | यसबाट अर्थले संगीत क्षेत्रमा कतिको प्रभाव पार्दो रै’छ भन्ने प्रस्ट हुन्छा | बिस्तारै भूटानी नेपालीद्वारा सृजित गीत संगीतहरु पनि नेपाली संगीत आकाशमा बरोबर मान्यता पाउने छन् | यसले नेपाली गीत संगीत र साहित्य क्षेत्रमा एउटा ईटा मात्र होइन एक पटिको दिवाल नै थप्ने छ | यसमा दुई मत नै छैन |

विक्रमसम्वत् २०७० डायस्पोरिक भूटानीहरूको सांगीतिक सृजनाका आधारमा अहिले सम्मकै उर्वर वर्ष हो भन्ने कुरामा यहाँको सहमति/ विमति ? किन ?

म यस कुरामा एकदम सहमत छु किनकि यो वर्ष नै हुन पर्छ सब भन्दा धेरै डायस्पोरिक भूटानीहरूबाट निस्किएको एल्बमहरु |

आफ्नै शब्द तथा सङ्गीतको तपाईँको पहिलो एल्बम “अम्बर” प्रति श्रोताको प्रतिक्रिया कस्तो रह्यो ? लगानी उठ्यो ?

दर्शक स्रोताहरुको प्रतिक्रिया त सोचे भन्दा धेरै राम्रो पाएँ र पाइरहेको छु | यो एल्बम धेरै लामो परिश्रम पछि निकालिएको हो र यसमा मैले विभिन्न किसिमको गीतहरू समावेश गर्न कोसिस गरेको छु| मेरो संगीत धेरैले मन पराइदिनु भयो झन् भनौ “जलेर मुटु” त अत्याधिक मन पराइदिनु भएको छ | यूट्युबमा यसको भिउज १०५,००० माथि पुगिसकेको छ | जति पनि गीतहरुको भिडियो रिलिज भयो सबै गीतहरू विभिन्न टि. भी. च्यानलहरु र एफ. एम रेडियोहरुको काउण्ट्डाउण्टमा धेरै माथि सम्म बज्न सफल भएक छन् | यो एल्बम मार्फत मैले गीत लेखनमा पनि उतिनै राम्रो प्रतिक्रिया पाए | एल्बम अम्बर बाट म धेरैनै सन्तुष्ट छु | मैले एल्बम “अम्बर” सानै देखिको सपना पुरा गर्न मात्र गरेको हो | नेपाली संगीत क्षेत्रमा ऐले चलेका कलाकारहरूले पनि एल्बम बेचेर पैसा कमाउन एल्बम निकाल्दैनन् , हाम्रो त कुरै छोडिदिउँ | लगभग लगानी चैँ उठ्यो भनौं | आत्मसन्तुष्टिको र दर्शक श्रोता कमाउनु भन्दा अरू ठुलो फाइदा के होला?

“अम्बर” को लागि कुनै योग्य भूटानी गायक/गायिका भेट्नु भएन ?

त्यस्तो त होइन | हामीसँग पनि आएर धेरै राम्रा राम्रा गायक-गायिकाहरू जन्मिसकेका छन् | सम्भवत पुनर्बास पछि सांगीतिक एल्बम निकाल्ने म नै पहिलो हुँ | यदि गल्ती भयो भने माफ गरी सच्याई दिनु होला | त्यति बेलाको माहोल हालको जस्तो पनि थिएन र को कहाँ को कहाँ थाह पनि थिएन | म सन्तोष लामाजी को ठुलो प्रसंशक हुँ र वहाँसंग काम गर्ने मेरो ठुलो धोको पनि थियो | संयोगवस वहाँले मेरो अनुरोधलाई सहर्ष स्विकारिदिनु भयो | त्यसै गरी वहाँले मेरो सृजनाहरू पनि मन पराइदिनु भयो | वहाँलेनेपालमा सबै काम गरिदिनु भयो | मैले भूटानी गायक गायिकाहरु सँग पहिला देखिनै काम गरिरहेको छु र भविष्यमा पनि काम गर्नेछु |

कत्तिको संगीत अभ्यास गर्नुहुन्छ ? एकावृत्तिको अवधि ?

भ्याउँदा हल्का त गरिरहेको हुन्छु तर रुटिन नै बनाएर चै गर्ने गरेको छैन | आजकाल त झन् छोराको कारणले कम भएको छ अभ्यास | तर गर्दा खेरि १ घण्टा सम्म गर्छु |

संगीत अभ्यास, सृजना, परिवार, इष्टमित्र अनि आफ्नो जागीर बीच सन्तुलन कसरी गर्नुहुन्छ ?

सजिलो त छैन तर म्यानेज गर्न सकिन्छ | मैले ऐले परिवार र जागिरलाई बढी प्राथमिकता दिइरहेको छु | संगीत सृजना भनेको आत्मसन्तुष्टिको लागि मात्र गर्छु | जब मुड चल्छ हार्मोनियम र गितार लिएर बसिहाल्छु | संगीत सिर्जना भनेको त हिंड्दा हिंड्दै, ड्राइभ गर्दा गर्दै अथवा अरुनै काम गर्दा गर्दै पनि आउन सक्छ |

संगीतसंग सम्बन्धित कुनै अविस्मरणीय क्षण?

अविस्मरनिय क्षण त धेरै छन् तर माध्यामिक विद्यालय पढ्दा प्रत्येक वर्ष धेरै विधाहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार दिने गरिन्थ्यो | मैले र छवि न्यौपाने साथीले संगीत विधा बाट उत्कृष्ट पुरस्कार पाएका थियौँ | मेरो पहिलो गीत रेकर्ड हुँदाको क्षण पनि उतिनै अविस्मरनिय छ |

कति खेर रुनु हुन्छ?

मन रुने अवस्था त धेरै नै हुन्छन् तर बाहिर देखिने गरी चैँ त्यति रोएको छैन | यसो भन्दै गर्दा बेला बेला आँसु थाम्न नसकिएको अवस्था पनि नभएको चैँ होइन | धेरै विश्वास र धेरै नै नजिक ठानिएको मान्छेबाट कुरा काट्ने र धोका पाउने काम हुँदा धेरै नै मन रुन्छ |

जीवन र संगीतमा कुनै सम्बन्ध भए के कस्तो होला जस्तो लाग्छ यहाँलाई ?

खै के भन्ने ! मलाई त लाग्छ जीवन र संगीत एक अर्काका परिपूरक हुन् । गीत-संगीत भनेको भावना व्यक्त गर्ने एउटा माध्यम हो जस्ले ठुलो भूमिका खेलेको हुन्छ प्रत्यक मानिसको जीवनमा ।

पुनर्स्थापित हुने क्रममा रहेका हामी माझ आत्महत्याले एउटा भयङ्कर समस्याको रूप लिएको छ | यसलाई रोकथाम या निरुत्साहित गर्न र जीवनको सौन्दर्यको अनुभूति हाम्रो समुदायका सदस्यहरूलाई एक चोटि फेरी दिलाउन हाम्रा गीत-सङ्गीतका साधकहरूले कुनै महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भए के के हुन सक्दछन् ती ?

यो धेरै नै सेन्सिटिभ र हाम्रो समाजमा धेरै नै विकराल बन्दै गैरहेको विषय हो | यसलाई रोकथाम नै त नभनौ न्यूनीकरण गर्ने धेरै उपायहरू छन् | ती मध्ये गीत सङ्गीतले पनि एउटा राम्रो भूमिका खेल्न सक्छ | हामीले जागरण अथवा सन्देश मूलक गीतहरुको श्रीजना गर्न सकिन्छ | यस विषयमा गायक किशोर सिवाकोटी भाइ र मेरो कुरा पनि भएको थियो एउटा सन्देशमूलक गीत श्रीजना गर्ने विषयमा | सायद चाँडै नै यसकालागि काम गर्न सुरु गर्छौ होला | प्रत्येक सिटिमा मेन्टल हेल्थ काउन्सिलिङ्ग ग्रुप खोल्न सकिन्छ र त्यसलाई सञ्चालन गर्न कलाकारहरूले च्यारिटी सो गरेर रकम जुटाउन सक्छन् |

एउटा संगीतकारले सफलतालाई कसरी परिभाषित गर्छ ?

मन मनमा अटाउन सक्नु, दर्शक स्रोताहरु बाट माया पाउनु र आफ्नो सृजनालाई सबैले मन पराउनुलाई नै सफलता मानिन्छ जस्तो लाग्छ मलाई | यसो भए नाम इतिहासमा पनि अंकित रहन्छ | आफूले सिर्जना गरेको गीत सङ्गीतले समाजमा सकारात्मक परिवर्तन ल्याउनु वा सकारात्मक छाप छोड्नुलाई पनि सफलता मान्न सकिन्छा |

तपाईँलाई पछ्याउनेहरूलाई के भन्नु हुन्छ?

मलाई पछ्याउने पनि छन् र अजनबी जी ? यदि छन् भने पनि म के भन्न चाहन्छु भने- यो संगीत क्षेत्र भनेको धेरै आनन्ददायक क्षेत्र हो जसमा परिश्रमको पनि उतिनै आवश्यकता पर्छ | माथिबाट लिएर आएको पनि हुन पर्छ जस्तो लग्छ र बाँकी आफ्नो अभ्यास र ज्ञान हाँसिलबाट हुनेहो | यो क्षेत्रमा अनुशासित हुन र अग्रजलाई सम्मान र नयाँ पिँढीलाई माया र प्रेरणा दिन सक्नु पर्छ | यो पनि बुझ्नु पर्छ कि आफूलाई मन परेको गीत अरूलाई मन नपर्न सक्छ र आफूलाई मन नपरेको गीत अरूलाई मन पर्न सक्छ; | दर्शक श्रोता आफ्नो आफ्नै हुन्छ | त्यसैले सबै संगीत र स्रष्टालाई सम्मान गर्नु पर्छ | यो यस्तो र त्यो उस्तो गर्नु हुन्न |

भविष्यको योजना ?

मेरो श्रीजनाहरु फट्टाफुट्ट कलेक्सन एल्बमहरुमा रेकर्ड हुने काम भैरहेको छ | ती मध्ये पनि अब चाँडै निक्लिन लागेको गीतकार शिव चम्लागाई र वहाकी धर्मपत्नी गायिका सरु पराजुलीको एल्बम “नमन ” को नाम लिनै पर्छ जसमा ४ वटा गीतहरुमा मेरो संगीत रहने छन् | त्यसका अलावा मेरै दोस्रो एल्बमको लागि रेकर्ड गर्ने काम सुरु गरेको छु जसमा केही मेरो शब्दहरू हुनेछन् भने केही अरूकै तर यो एल्बम निस्कन ३-४ वर्ष लाग्छ | सालमा १ देखि २ वटा गीतहरू रेकर्ड गराउँछु जसमा नेपाली र भूटानी दुवै गायक-गायिकाहरुलाई प्रयोग गर्छु | सङ्ख्यालाई भन्दा पनि गुणात्मकतालाई ध्यान दिनु छ | जब ७ देखि ८ वटा गीतहरू पुग्छ अनि एल्बममा परिणत गर्छु | अब चैँ गीत रेकर्डको साथ साथै त्यस गीतको प्रोमोशन पनि लगत्तै गर्ने योजनामा छु | यो दोस्रो एल्बमको लागि एउटा गीत सत्य-स्वरूप को आवाजमा रेकर्ड भैसकेको छ | जसको हामी भिडियो चाँडै तयार गर्दैछौं | अनि एल्बम “अम्बर” बाट “रातै भरि हुरी छलेछ” बोल गीतको पनि भिडियो रिदम क्रिएसन मार्फत यो समरमा बनाउँदैछौं |

तपाईँलाई भन्न मनलागेको तर मैले छुटाएको कुनै कुरा?

सबै भूटानीहरुमा मेरो विनम्र अनुरोध छ कि आफ्नो कला-साहित्य जहाँ रहेपनि संरक्षण गर्न मद्दत पुर्‍याउनु होला। हामी कलाकारहरुलाई माया गरिदिनु होला जसले गर्दा हामीलाई नयाँ श्रीजना गर्न सहयोग मिलिरहन्छ | मेरो “अम्बर” एल्बमका गीतहरू जसरी मन पराइदिरहनु भएको छ त्यसरी नै पछि आउने गीतहरू पनि मन पराउनु हुनेछ भन्ने आशा गरेकोछु | सकारात्मक सोच राखौं, एक दिन हाम्रो भूटानी नेपाली द्वारा श्रीजित गीत संगीतहरुले समग्र नेपाली संगीत क्षेत्रलाई माथि उठाउन ठुलो मद्दत पुर्याउने छ । अनि अर्को कुरा हामी कलाकारहरुलाई एउटा सङ्गठनको आवश्यकता मैले महसुस गरेकोछु | जब सम्म सङ्गठित भएर गईंदैन तब सम्म हामीलाई अगि बढ्न धेरै गाह्रो हुन्छ | हामी सबै एउटै उदेश्यले काम गर्छौ भने किन एक ढिक्का भएर अगि नबड़ने ?

अन्त्यमा यतिराज अजनबीजीलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु म जस्तो बाँमे सर्दै गरेको कलाकारलाई सम्झिदिनु भएकोमा अनि साथ साथमा Bhutaneseliterature.com टिमलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु | मिडिया र कलाकारहरू भनेको एक रथको दुई पांग्रा नै हुन्, यति नै काफी | हजुरहरुले नै हो हामी र कला-साहित्य क्षेत्रलाई माथि उठाउने र हाम्रो कला कृतिको इतिहास लेख्ने | हजुरहरू बिनाको कलाकार र कला क्षेत्र जहिले अपुरो हुन्छ | Bhutaneseliterature.com धेरै धेरै अगि बढोस् भन्ने कामना गर्न चाहन्छु |

Leave a Reply

Your email address will not be published. Required fields are marked *