आऊ सानु होली खेलौँ !
रमेश गौतम
नर्वे
मेरी सानु !
आज होली हो
प्रेमको पर्व !
रङ्गहरूको पर्व !!
म चाहन्छु कि
तिम्रो अनुहारबाट फैलँदै गरेका
ती सुकोमल आभाहरू
अनन्त दूरी पार गर्दै
मसम्म आइपुगुन्
र देदीप्यमान बनाउन्
लामो समयदेखि
वसन्तको पर्खाइमा बसेको
मेरो उजाड हृदयलाई
जसरी राधाको तिलस्मी स्पर्शले
देदीप्यमान बन्थ्यो
कृष्णको चञ्चल हृदय !
आऊ सानु !
तिमी र म होली खेलौँ
ममा समाहित भएर तिमी
तिमीमा समाहित भएर म
एउटा महल बनाऊँ रङ्गहरूको
जहाँ परावर्तित हुँदै
सूर्यका कलिला किरणहरू
हामीलाई स्पर्श गर्छन्
त्यति नै बेला
हामीलाई छोएर बहन्छ
कोमल वसन्ती पवन
अनि
एकनास प्रसारित हुँदै गरेको समुद्री छालले
बोकेर ल्याउँछ एउटा दिव्य सङ्गीत !
रङ्गहरूको झङ्कार बोकेर
फैलिएको यो मनमोहक इन्द्रेणीले
हेर त
कसरी जोडिरहेछ तिम्रो र मेरो क्षितिज !!
आऊ सानु !
तिमी र म होली खेलौँ
ममा समाहित भएर तिमी
तिमीमा समाहित भएर म
उडिदिऊँ अनन्त आकाशमा
रङ्गहरूका टुक्रासँगै !!
आऊ सानु !
तिमी र म होली खेलौँ !