आक्रोश र परितापको डढेलो सल्केको शिविरमा
डा. गोविन्दराज भट्टराई
भर्खरै शिविरमा एउटा डढेलो लागेको थियो । त्यो निभाएपछि हामी पुग्यौँ । तर त्यहाँ कहिल्यै ननिभ्ने अर्को डढेलो सल्किरहेको देख्यौँ । बेल्डाँगी शिविरमा पुग्दा चुलाचुली पर्वत श्रृङ्खलामाथि घाम उक्लिसकेका थिए । सम्पूर्ण जगत् छ्याङ्ग थियो । मध्य वैशाखको त्यो विहान शिविरबाट छुटेको लर्काे तीन किलोमिटर लामो सडक ढाकेर दमकबजारसम्म पुगेको थियो । लर्काे भनौँ कि ताँती, क्याराभान अर्कै शब्द हो क्यारे । साइकलमा खिरिरि बाटै ढाकेर सबैसबै दमकबजार हेलिएका । अझै टाढाटाढा केर्खा, गौरादह, उर्लाबारी पुग्नेगरी त्यो एक हुल सलह अथवा दक्षिण लागेको एकहूल क-याङकुरुङ । दसहजार मानिस साइकलमा एकैचोटि बाटो ढाकेर निस्कँदा एउटा विचित्र दृश्य देखिन्छ । नौ बज्दा यी श्रमिकहरू टुङ्गा टुङ्गामा हाजिर भईसक्नेछन् । ससानो पोको क्यारिअरमा, पछाडी खुट्टा फारेर बस्नेको काँधकाँधमा ससानो झोला, डबल सिङ्गल खिरिरि भाङबारी काटेर दक्षिणतिर ।
सेक्टर वानको मुखैमा पुगेर बिसायौँ । त्यो विशाल चौरी, त्यसको भित्तामा एउटा बूढो सिमल थियो, त्यहाँदेखि उता कालो जङ्गलले भरिएको । त्यसको आडैमा हाम्रो सरस्वती निमावि थियो । तीन दशक नाघे । त्यहाँ म शिक्षक हुँदाको कुनै नामनिसाना छैन । ती भवन उहिल्यै भत्किए । सिमल लड्यो, पीपल ढल्यो, त्यो सालघारी निमिट्यान्न भइकन त्यहाँ शिविर बस्यो । आज त्यो ठाउँ बेलडाँगी शिविरको प्राङ्गण भएको छ । बीस वर्षदेखि त्यो बेलडाँगी एउटा सहर भएको छ । अनेकौँ झुप्राको, चित्राको, बाँसका टाटी र माटाको । होचो एकतले यी हजारौँ शेक्सपियरका कटेजहरू, एकझाङ केरा, दुई बोट खोर्सानी, अलिकति आँगन, एउटा ट्वाइलेट, पानी र सौर्यअगेनोको छाता, हारैहार हारैहार, उस्तैउत्रै, एक प्रकारका कारखानाले उत्पादन गरेजस्ता झुप्रा, तिनैले बनेको हजारौँ शरणार्थीको शरणभूमि बेल्डाँगी ।
हामी पुग्दा त्यो विशाल मैदानमा मानिस भरिएका थिए । अझै आउनेहरू थिए— फुत्तफुत्त आआफ्ना कटेजबाट निस्कँदै धुलेबाटामा निस्किएर चौरीमा थपिँदै । धेरै समय लाग्छ कि प्रकाश ? मैले सोधेँ । लाग्दैन गुरु, आइओएमको बस छिर्दैेछ, दशै मिनेटमा हिँडाइहाल्छ ।
नभन्दै अन्तर्राष्ट्रिय बसाँईसराई व्यवस्थापनका दुइवटा ठूलाठूला बस हान्निदै त्यो टुडिखेलमा पसे । धुलो उडेर कुइरीमण्डल भयो । त्यसपछि मानिसहरू नीलारङका ठूलाठूला हवाइजहाजमा उड्ने लगेजब्याग उचाल्दै ती बसका छेउमा आए । एकै रङका आकारका ती ब्यागमा नाम नम्बर छ, चेनमा चाबी लागेर तयार छन् । उताबाट अरू झोला बोकेर आए र थपिए । सबैका निधारमा टीका छन् आँखामा आँशु र गलामा माला । सिटभरी पछ्यौराले रुमालले हम्किँदै, टोपीले आँखा ढाक्तै ती भक्कानिएकाहरू बसेका थिए । बस वरिपरि आफन्त छिमेकी गाउँले, सयौँसयौँ ती छोडी जानेलाई विदाइका हात हल्लाउन आएकाहरू छन् । न भित्र बस्ने बोल्न सक्छन् न बाहिरका वरिपरि घुम्नेहरू ।
अत्यन्तै ठूलो हृदयविदारक दृश्य थियो । हामी चौरीमा छौँ । मानिसले सारा ढाकियो । आकाश उज्यालो थियो तर धर्ती कालो बादलले ढाकेको घाम कहिल्यै नलाग्ने जस्तो । फोटो खिच्ने खिचिनेहरू हात मिलाउनेहरू अँगालो हाल्नेहरू । उता आइओएमका ठूलाठूला सेतानीला बस भ्यारभ्यार गर्न थाले । छानाका नीला व्यागको हारले भर्खरै पाउलिन थालेको पीपलका हाँगालाई छोए । आफन्तहरू झन आत्तिएर बसको परिक्रमा गर्न थाले । हामी भक्तलाई विदा गर्न पुगेका थियौँ । भक्त घिमिरे एक उज्ज्वल साहित्यकार, पत्रकार र सचेत भूटानी–नेपाली । स्वदेश फिर्तीको पक्षमा लड्दालड्दा आज उनी शरणार्थी शिविर छोडेर अस्ट्रेलिया पुनर्वासमा उड्न तयार भए ।
तिनै साहित्यकारको विदाइमा हामी उभियौँ— उपेन्द्र, चन्द्रवीर, याम चुलुङ, अर्जुन, जीतेन्द्र, रोहित, वैदिक, वीरुस्वामी ढाकाटोपीको फूलमाला र अबीर अन्तिम सम्झना हातमा बोकेर । भक्तले अति भावुक हुँदै मलाई सम्वोधन गरे— तपाईंले भारत, बेलायत, अमेरिका, हङकङ, विश्वको नेपाली भाषासाहित्यबारे लेख्ता हाम्रो प्रयत्नलाई नबिर्सिदिनु होला; भूटानका, बर्माका शासकले नेपाली भाषाको अन्त्य गराउँदैछन् । हामी लड्दैछौँ, लडिरहनेछौँ; तीबारे पनि लेखिबोलिदिनु होला । हामी भूटानबाट निर्वासित भएर खेदिँयौँ; सर्वश्व गुमायौँ । तर नेपालको भूमीमा विस्थापित भएर धेरै सिक्यौँ । शरणार्थीको जीवन कष्टमा, निर्धनतामा बिताउनु परे तापनि नेपालीसाहित्य संस्कृति, राजनीति र सामाजिक जीवनको निकटतामा लामो समय बितायौँ । हामीमा नयाँ चेतना पस्यो र नेपाली भाषासाहित्यको अस्तित्वमा नै नेपाली जातिको परिचय गाँसिएको छ भन्ने विश्वास हामीमा भरियो… उनी अरू बोल्ने थिए, तर गाडीले मर्नेगरी धुवाँ फुक्यो र अन्तिम हात हल्लाउँदै उनी भित्र पसे । सबै बसिसकेका थिए, बस छुट्यो । यो उनीहरूको महाअन्धकारतिरको विलयन यात्रा थियो ।
यसैगरी स्थानभ्रंशको पीडा बोक्ने एकलाख शरणार्थीहरू नेपाली भूमिमा छन् । फेरि पनि विस्थापनको अनिश्चिती र भय बोकेर कोही उड्दैछन् । अस्ट्रेलिया, क्यानाडा, अमेरिका र अन्य भूमि । ती मैदानभरी उभिएका आफन्त र भद्रपुर ताकेर छुटेका नीला बस, रुँदारुँदै भक्कानिएकातिर हेर्दै दाजु मणिकमलले बोले— हेर्नाेस भाइ, त्यो इग्जोडसमा पनि यस्तै दृश्य छ नि । अझ मलाई ता सेकेन्ड वल्र्डवारले अनेक युद्धमैभूमीमा तहसनहस पारेपछि सैन्यको फिर्ति अनेक जातिको वापसी, भागाभाग र त्यसले उत्पन्न गरेको दुःखद स्थिति झैँ लाग्दैछ । हो, हामीलाई त्यो दृश्य हेर्दा आज त्यस्तै लाग्यो ।
तीन हजार वर्षअघि एउटा शत्रुत्वपूर्ण वातावरणबाट बच्न इजरायलीहरू देश छोडेर भागेका थिए । मोजेसको नेतृत्वमा आफ्नै भूमिमा ती प्रताडित, निस्काशितहरू मानव निर्वासनका आद्यस्वरूप हुन् । आफ्नै भूमि परित्याग गर्दा हुने पीडाको गीत त्यसदेखि यता कति गाइए हुन् । बाइबलका पालादेखि आजसम्म यो निरन्तर क्रम— नेपाली, तिब्बती, तामिल, खालिस्थानी, टिमोरी, अफगानी आज त बसाईं सार्ने सर्ने, निकाला गर्ने, ओसार्ने विश्व बसाईंसराई व्यवस्थापक विशाल संस्था छन्; यतिखेर २१ करोड ४० लाख मानिस यसरी अस्थिर चलायमान, बेटुङगाका, देशबेगरका छन् । युद्धले विस्थापित भियतनामी, फिलिपिनो, निरङकुशताले पिसिएका चिनियाँ, ध्वस्त भएका जापानी, परदेशिएका अफ्रिकी, नेपाली यो विश्व एग्जोडसको कथा हो । त्यो कथा सधैँ दोहोरिएको छ ।
कुनै पुनर्वासले हृदयको आगो निभाउँदैन । पुनर्वासमा अमेरिका पुगेका सिवोकोटी पुरानाघरेले एउटा कवितामा बोलेका छन्—
म शरणार्थी
कुन ?
मलाई थाहा छैन
कुनै रङ†गले मलाई चिनाउँदैन
म बरु आफ्नै चिहानमा पड्किने
अणुबम भए हुन्थ्यो
अब निरङ्कुशताको रगत पिउन पाऊँ
वाणीहीन दृष्टिहीन
म एक शरणार्थी ।
यस्तो परिताप र वेदना यो आक्रोश र सन्त्रास प्रकट हुन थालेको कथा धेरै शरणार्थीले लेखे । टेकनाथ रिजालको निर्वासन भूटानी इग्जोडसको महाकाव्य हो, अरू गङ्गा लामिटारेहरूले भुटानी कोपिलाद्वारा, प्रताप सुब्बाहरूले सङ्गीतद्वारा कति सन्ताप र आक्रोश प्रकट गरे । साहित्य परिषद भूटान खोले अनेक सांस्कृतिक राजनीतिक समूह बनाए, मौन युद्ध गरिरहे, पशुपति तिमसिना, डिल्लीराम अर्याल, रमेश गौतम, खेम साण्डिल्य— अनेक श्रष्टाले स्वदेश सम्झनाका स्वदेश फिर्तिका अनेक आर्तनाद गाए । तर पुनर्वासले ती सारा योजना विफल गराउन थाल्यो । आज बेस्ट अफ भूटान जति सात समुद्रपारी कहाँकहाँ छन् । यहाँ अनिर्णयमा बस्नेहरू दोमनमा पिङ खेलिरहेका छन् । उनीहरुले स्वदेश फिर्तिको लागि अत्यन्तै लामो सङ्घर्ष लडे, अझै त्यो टुङ्गिएको छैन, टुङ्गिने छैन, तर त्यलाई निस्तेज पार्न समय सफल भयो । त्यसैकारण यसपल्टको सार्क सम्मेलन थिम्पूको लागि एक विजयोत्सब थियो । नेपालले शरणार्थीको कुनै कुरा झिकेन, भारतले केही थाहा नपाएझैँ ग¥यो र भूटान भित्रभित्रै आनन्दले खितखितायो । त्यसपछि भूटानी राजाले उदारवादी वक्तव्य पनि निकालेका छन्, तर अब शरणार्थीको स्वदेश फिर्ति हुनेछैन भन्ने पक्का भएपछि, देशमा रोपिएको नाटकीय प्रजातन्त्रका काँडा हुर्कन थाले भन्ने सुनिश्चित भएपछि, अब निरङकुशता सुदृढ भयो भन्ने भएपछि उनले त्यसो गरेका हुन् । यसपालि थिम्पुमा सबै मिलेर शरणार्थी सिद्धिएको अभिनय गरे, तर के ती सिद्धिएलान् ? त्यो कदापि सम्भव छैन । एकदिन विश्व डायास्पोरामा छरिएका सारा शरणार्थी उठ्ने छन्, भूटानमा पनि निरङ्कुशताविरुद्ध जनता उठ्ने छन्, प्रजातन्त्रको स्थापना हुनेछ । सबै शरणार्थी फर्किनेछन् । हामी नेपालीले दशकौँ लागोस्, यो लडाइँलाई जसरी पनि सघाइरहनु पर्दछ । नेपाली भूमिबाट शरणार्थीलाई अन्यत्र पठाउनुको तात्पर्य भूटानी राज्यसत्ताले उनीहरूमाथि गरेका सारा दमन र अत्याचारमाथि हाम्रो स्वीकृति जनाउनु हो ।
हेर्दाहेर्दा घाम धेरै माथि चढे । त्यो अवशादको घरीमा वाणी रोकिएकाहरू आआफ्ना कटेजतिर लागे । नीला–सेता गाडी धुलो उडाउँदै अज्ञात–प्रदेशतिर लागे । मैले सम्झे मेरो ठूले र सुतार एकदिन यसैगरी ट्रकमा चढेर सिलिगुडी छिचोल्दै अज्ञात र अन्धकार मुगलान पसेका थिए । जीवनकोे प्रत्येक यात्रा मुगलानतिर छ, अन्धकारतिर छ, तमशोमा ज्योतिर्गमय केवल शास्त्रमा लेखिएको छ, जीवनमा छैन ।
yo soory dhary man chuna khalko 6 hi saby didasi na haru ko lagi ,tito satya ,,,,,,,dhanyad hajur ,,,,
गोविन्दराज सर…हाम्रो भक्त दाइ अष्ट्रेलिया होइन, अमेरिका जानुभएको हो। न्यूयोर्कमा हुनुहुन्छ…यहाँहरू उहाँलाई विदा गर्न आउँदा म पनि थिएँ असाध्यै रुनेहरूमा मध्यै एक । अब त हामीहरू पनि अरुलाई रुआएर, आफू पनि रुँदै रुँदै नेपाल छोड़्ने अवस्थामा छौं । के गर्ने जीवन बाँच्नलाई हरेक उतार-चढाउहरूको सामना गर्नुपर्दो नै रहेछ । भूटान छोड्दा हामी सानै थियौं, कस्तो थियो भन्ने वर्णन गर्न त आउँदैन तर हाम्रो मनभरि, मुटुभरि भूटान छ, प्रतिशोध र इखको भारी बोकेर हामी निस्सासिएका छौं । अब भाषा-साहित्यको सेवा गर्दै विश्वपरिवेशलाई हेरेर त्यस अनुकूल कदम चाल्ने काम अग्रजहरुले गर्लान भन्ने आशा छ । हामीसित भूटानभूमिको आत्मा छ, नेपाली स्पन्दन छ र धड़कन सारा नेपाली छ सर…जो लेख्नु भो ठीक लेख्नु भो ।