आतङ्क
शिवलाल दाहाल
केन्टकी, अमेरिका
ब्रह्माण्डको कुनै भागमा
सदियौँदेखि
कालो भ्वाङ
भाग्दै गरेका ताराहरू टिपेर खान्छ
छिचिमिरा जस्तै ताराहरू त्यहाँ पुग्छन्
र सदाका लागि हराउँछन्
त्यही ब्रह्माण्डबाट एउटा तारापुञ्ज खस्छ
कुनै समय
र पृथ्वीमा ठक्कर दिन्छ
अनि डाइनोसरहरुको अस्तित्व समाप्त हुन्छ
धेरै भएको छैन
हिट्लरको
घृणाको भ्वाङले लाखौँ लाख मानिसहरू निलेको
आज फेरि एउटा भ्वाङ परेको छ
धर्तीमा
र मानिसहरू चिच्याइरहेका छन्
खै ! कस्तो आतङ्क हो यो
समयको !
मैले बुझ्नै सकेको छैन
त्रसित त्रसित छु म आज
कुनै दिन
समय आफैँ कालो भ्वाङमा हराउने त होइन !