आफैँलाई नियाल्दा विमूढ नयनहरूले
रमेश गौतम
नर्वे
म पलभर
आफ्नै वर्तमानसँग
टोहोलाउँछु।
गतिहीन समय
मेरो मस्तिष्कभरि राज गर्छ;
म संवेदनाहीन बाँचेको छु
आफ्नो सबै गुमाएको म
जीवनसँग
क्षणभर चिन्तनशील छैन
विचारका समुद्रहरूमा
किञ्चित छैनन् विचारहरू
मेरा पक्षमा !
यो वर्तमान
हाम्रो सबै लुट्छ
र हाम्रो यथार्थलाई कैद गर्छ
जीवनका कैदी गृहहरूमा
जहाँ
आस्थाहरू पोलिन्छन्
वेदनाका चरमोत्कर्ष पलहरू
सञ्जीवनी पिएर
राज गर्छन्
हाम्रो यथार्थको राज्यमा,
हाम्रो निर्दोष हृदयमा !
समय
परीक्षा खडा छ जहिल्यै।
हामी
आफैँलाई ढाँटेर
आफैँलाई धोका दिएर
परिचयहीन बाँचेका छौँ।
आफ्नो सबै भुल्न बाध्य
म र महरूलाई
आफ्नो यथार्थ गुमाउन बाध्य
म र महरूलाई
फेरि एक पटक
म
विमूढ नयनहरूले नियाल्छु।
१२ फेब्रुअरी २००२
हात्तीसार