हामी आफैँलाई बिर्सनेहरू
रमेश गौतम
हामी सबै आफैँलाई भुलेका
ज्यूँदा लास हौँ
जीवन भुलेर, कर्तव्य भुलेर
अस्तित्व भुलेर अनि आफैँलाई भुलेर
हाँसी-हाँसी भिखारी बनेका
जीवनहारा !
अस्तित्वहारा !
कर्तव्यहारा !
आफैँलाई अपरिचित हामी
खोलाको बालुवा हौँ
कसैले भोलि उठाएर लान्छ
अनि बालुवाका आधारमा
कैयन् महलहरू ठडिन्छन्
खस्रो मसिनो केही रहन्न
सबैबाट फाइदा मिल्छ।
हामी नर्क जाँदा-जाँदै
भुलेर यहाँ आएका
यहाँ अर्को नर्क बनाउन।
हामी बगरको ढुङ्गा हौँ
जसको आधार लिएर यदाकदा
मानिसहरूले खोला तरेका हुन्छन्
अनि
फाइदा लुटेपछि
खोलामै छोडिदिन्छन्।
भोलि ठुलो बाढी आएर
बगाउन सक्छ
अनि त्यस्तै बगरमा बेपत्ता पारिदिन्छ।
आफैँलाई अपरिचित हामी
दिन्छ कि भन्ने आशामा
अरूले खाएको देख्दा
राल चुहाएर बसेका।
त्यसैले त
हाम्रो नर्क चिडियाखाना हो
अनि हामी तिनै जनावर
यदाकदा मान्छे बन्नेहरू
हेर्न आउँछन्
एउटा पानो बिस्कुट देखाएर, दिएर
रमणीयता प्राप्त गरी फर्किएर जान्छन्
त्यही नर्कमा हामीलाई छोडेर।
हामी मान्छेदेखि डराउन बाध्य
शब्दको मान्छे हौँ
अर्थमा हामी गल्लीको कुकुर
लट्ठी उठाउँदा भाग्न बाध्य
अनि
बोलायो भने त्रसित-त्रसित बन्दै
टाङमुनि पुच्छर हालेर
आउन बाध्य।
मान्छेसँग बोल्न पनि डराउने
हामी फोस्रो मान्छे
फोस्रो लिखा जस्तै
बोलिहेरौँ त
भोलि लिखाले जस्तै
दुई नङको बिचमा रहेर
क्याच्च किचिन पर्छ हामीले।
हामी के होइनौँ र ?
प्रकाश दिन नसक्ने बत्ती हामी !
पग्लन नसकेको घिउ हामी !
बल्न नसकेको आगो हामी !
हामी सबैलाई बिर्सनेहरू !
हामी आफैँलाई बिर्सनेहरू !!
२१ जनवरी २०००