आमाको सम्झनामा

कवि
कवि

यतिराज अजनबी
एड्लेड अस्ट्रलिया

छेवैको जंगलमा बेलौतिकालागि
एक आपसमा लडिरहेका बाँदरहरू
चर्को चिच्याहट रोकेर
शान्त हुन्थे
ताते गराउँदै कौसीमा
तिम्रो हत्केलाको आँगनमा
जब नचाउँथ्यौ मलाई

व्योमको विस्तार भन्दा चौडा
तिम्रो छातीको भित्तामा टाँसेर
जब लुटपुट्याउथ्यौ मलाई तिमी
शून्य भएर बिलाउथे
घुँक्क घुँक्क गरी
निस्कने मेरा रोदनका हिक्काहरू

शिशिरका सन्ध्याहरूमा
मेरो आङबाट फुकाएर जाडो
च्यातभुत पारी पोलिदिन्थ्यौ
घँसेटाहरूको धुनीमा

हुन्थें म पुलकित
पाएर त्यो वात्सल्य

दिनभर
कुटोकोदालो गर्दाको थकान
एउटै खुइय्यमा सुइँक्याएर
काखको कोक्रोमा हल्लाउँदै मलाई
जब लोरी गुन्गुनाउँथ्यौ तिमी
त्यहीं भुसुक्कै निदाउथें म
पल्टेर पलकमै

खनिरह्यै
हिरिक्क हुँदै
मरणोपरान्त खनिरह्यै
खनिरह्यै
त्यो रुखो जमीन
आजीवन नभरिने
मेरो पेटको खाल्टो भर्न
तर पनि मैले जस्तो तिम्ले
दिक्दार मानेर जीवनको दोपहरमा
कैल्यै माँगिनौ व्यतीत वालापन

माटोमा जीवन फुलाएर
धर्तीको सौन्दर्य बढाउनु पर्छ
भन्ने तिम्रो उपदेश
भूमिहीन भएको दिनदेखि
पालना गर्न नसकेपछि
जीवनै रोपिदिएकोकोछु
समयको गमलामा

तिन पत्त्रे
क्लीनेक्स फेसियल टिस्यु
वा
सफेद अनि मुलायम
मायालुको रुमालले
त्यति आँसु कहाँ सक्छर पुस्न
जति
कोमल स्पर्श दिने तिम्रो खस्रो हात
अथवा
मैलो मजेत्रोको सप्कोले पुछेको छ

वर्षौं अघिदेखि अल्झिरहेथ्यो
अन्योलको चोकेमा मन
अहिले थाह भो
हिउँदमा सूर्य किन ढिलो उदाउँछ ?
प्रत्येक दिन झुल्कनु अघि
टुपलुक्क
आइपुग्दोरै’छ घाम तिमीकहाँ
न्यानो सापटी माग्न

मनको लहड पोख्न पोख्त
सधैं कलेटी पर्ने तिम्रा ओठहरूले
सुसेल्ने धुनहरूमा
विरक्तिको रन्को मैले कैल्यै सुनिनँ
तीनै गुनगुनाहटलाई लेघ्रो तानेर
स्वर हाल्ने प्रयत्न गर्दा
जब जब तिर्खाउने गर्छु म आजकल
घण्टौं लगाएर तिमीले
देवीथानबाट ल्याएको
जरुवाको जल भरी भर्सेलीमा राखेको
करुवाको प्रतिबिम्ब
चल्मलाउन थाल्छ यहीं कतै
सुदूर सम्झनाको सरोवरमा

One Reply to “आमाको सम्झनामा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *