आमा

टी पी मिश्र
नर्थ क्यारोलिना, अमेरिका

अन्तरी बुहारीले नझर्की
एक बटे –
मन तातो पानी दिएको
माइलो छोरोले
अदुवा-प्याज नराखी
नगलाई पकाएको-
खाँदा कर्याक-कर्याक रायो साग
फोनमा–
“सन्चै छौ आमा”? भन्दै
काहिँलोले सोधिरहेको
समयमै सुगर र प्रेसरको औषधी
अन्तरेले हातैमा थमाएको
हेर्ने हो मेरो अन्तिम इच्छा ।

पैसाको निहुँमा
पानी बाराबार भएका
साइँलो र जेठो छोरा बिचको
फेरि उदाएको सम्बन्ध
माइली बुहारी र कान्छी छोरीबिच
पुरै पखालिएको धोइमैलो
सात समुन्द्रपारिकी
एक मात्र बहिनीसँग
छोरा होस् वा बुहारीले
हप्तेनी भए नि फोनमा –
बात गराइदिने आदत
हेर्ने हो मेरो अन्तिम इच्छा ।

बर्सेनि मुख हेर्ने दिन मात्र
कुममा क्यामरा भिरेर
खुब स्वाङ पार्दै
सुगरले चाख्न पनि नहुने
एक बट्टा रसगुल्ला
गोडाकोसेक कोला
झोलामा बोकेर आउने
कान्छो छोरा र बुहारीका
अज्जोडी पाइलाहरू
अरू दिन पनि परिरहेको
तिनै जना नातिनीले
आफ्नै भाषा फरर बोलेको
हेर्ने हो मेरो अन्तिम इच्छा ।

साइँली बुहारीले
मलाई हेर्दा
मनै कुंडलिने –
टेढे र गिद्धे नजर
उनका शरीरबाटै
पुरै हटेको
अनि बिना कारण
ठुस्की रहने छोरो
सानोमा झैँ
काखै छेउ बसेको
बुहारीलाई मैले छोरी झैँ
आफ्नै आमाले गरे जस्तै सम्मान
उनको हृदय भरि
बेस्सरी भरिएको
हेर्ने हो मेरो अन्तिम इच्छा ।

उठेदेखि कुकुरको
मुत धोकेर
बुहारीले छोडेको बारे
मलाई दोष लगाउँदै
पल्लो गाउँमा बस्ने
छोरो जन्तरे
सानो हुँदाको साधु जस्तै
राम्रो र स्वास्थ्यकर
बानी भएको
अनि उसकी –
देवतामयी स्वास्नीले
विगतलाई बिर्सँदै
मेरै मुख हेरेर –
एक पटक उसैसँग
फेरि झ्यानाकुटीझ्याइ
अनि समाजले जे भने पनि
उनीहरूको पुनरबिहा’ मा
सेतो होइन-
रातो साडी
रातो पोते
रातो चुरा
अनि रातै सिउँदोमा
आफ्नै शिथिल शरीर
छमछम नाचेको
र, आफू जिउँदै हुँदा
सन्तान हाँसेर बाचेको
हेर्ने हो मेरो अन्तिम इच्छा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *