आर्ट ग्यालरीको ठेक्का

राजु उपाध्याय

सेतो हिमाल,
सुन्दर प्रकृति,
झरनाको कलकल,
हिमनदीको नागबेली,
हरियाली जंगल,
काखमा छ एउटा आर्ट ग्यालरी,

बिशाल सेता भित्ताहरु,
प्रशस्त प्रकाश,
शितल पवनको बहाब,
पर्खिरहेछ आर्ट ग्यालरी,
प्राकृतिक रंगहरुको संयोजन,
सृजनशील कलाकारको कुची,

पार्टीका ग्यांग फाइट जितेर,
अलकत्राको बाल्टी लिएर,
एउटा भुसतिघ्रे छायाँ,
मध्यरातमा ग्यालरी प्रवेश गर्दछ,
आफूलाई ग्यालरीको ठेकेदार भन्दै,

अनि
ग्यालरीको सुन्दर क्यान्भासहरुमा,
औंशीको कलोरात खनायो,
मेरो पेंटिंगमा देश छ भन्यो,
मेरो पेंटिंगमा राजा छ भन्यो,
कला पारखीको आँखामापट्टि बाँध्यो,
भद्दा कालो पेंटिंग बेचिरह्यो,
१०४ वर्ष सम्म |

त्यसपछि पहेंलो र निलो रंगको,
छिमेकीको दियो खाली बट्टा,
दुई जनाको पार्टनरसीपलाई,
मिलाइदियो ग्यालरीको ठेक्का |

निलो बट्टावालाले पहेंलोलाई लडाइदियो,
मेरो बट्टाभित्र दुईवटा रंग छ भनिरह्यो,
कुचो र पिचकारी अनि गाईको पुच्छर प्रयोग गर्यो,
सबै क्यानभासमा निलो रंग पोतिरह्यो,
आर्ट ग्यालरीका सबै दर्शक,
निलै हुनुपर्छ भन्यो |
निलो चस्मा सबैलाई फ्रीमा बाँड्यो,
बिकाश निलो हुन्छ भन्यो,
माटो र देशलाई पनि निलै बनाइदियो,

त्यसै गरी
आफ्नो निलो भद्दा पेंटिंग,
सप्तरंगी छ भन्दै,
तीन दशकसम्म बेचिरह्यो,

तर
निलो रंगले
छिमेकीको आँखा खायो,
निलो रंग निर्यात गर्न नाकाबन्दी लगाइदियो,
यसपाली त,
पहेंलो रंगको ठुलै बट्टा दिएर,
मुर्कट्टाहरुको जुलुसलाई,
ग्यालरीको ठेक्का दिलाइदियो |

मुर्कट्टाहरुको टाउको खोज्दा ,
पहेंलो रंगको बट्टानै हरायो,
रंगको खोजी गर्दागर्दै,
ग्यालरीको स्टोरमा
पुराना रंगहरुको बट्टा भेटियो,
तर
निलो रंग निरङ्कुश,
कालो रंग पोत्ने कुरै भएन |

बिडम्बना !
एउटा गुटको नाइकेले,
रातो रंग पत्ता लगायो,
मान्छेका रगत झिकेर,
क्यानभासमा पोत्न लाग्यो,
अनि,
रंग खोज्दा थाकेका बाँकी जुलुसमध्ये,
कोही रुखमुनी थकाई मार्न थाले,
रुखको छहारी नरुच्नेहरु,
कलशको पानी खान थाले |
अनि
कोही घाम तापेर जिउको जुम्रा मार्न थाले,
घामले जिउ डढेकाहरु,
रातको ताराहरु गन्न थाले,

यत्तिकैमा
ठूलो आँधीहुरी आयो,
ग्यलारीको छानो उडायो,
रातभरिको झरीले,
निलो क्यानभास,
झनै उघ्रिएर आयो,

लामो समयदेखि
ग्यालरीका बोलपत्रवालाहरु,
रनभुल्लमा छन्,
प्रतिगमन – अग्रमन,
मार्गचित्र – मार्गप्रशस्त,
निश्चित रुपमा वर्तमान परिप्रेक्ष्यमा,
समावेशी – राष्ट्रिय सहमति,
यस्तै यस्तै शब्द जालमा,
अल्झिरहेछ आर्ट ग्यालरी,

अहिले ग्यालरीका कलाकारहरु,
कोही तेल दोकानको पाली मिलाउँदै छन्,
कोही डलर र युरोको खेती गर्न बीउ खोज्दै छन्,
अनि कोही,
मुन्नी बदनाम भएकोमा चिन्ता ब्यक्त गर्दैछन्,
फेसबुकको स्टाटस अपडेट गर्नमा ब्यस्त छन् |||

[अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एडिलेड र दक्षिण अष्ट्रेलियाको भूटानी संगठन (बासा) द्वारा एडिलेडमा आयोजित भानु जयन्ति समारोहमा वाचित कविता- सं.]

One Reply to “आर्ट ग्यालरीको ठेक्का”

Leave a Reply

Your email address will not be published. Required fields are marked *