इतिहासको गर्भ
रमेश गौतम
नर्वे
आज म
बेसुर आवाजमा
इतिहास गीत सुनिरहेछु।
सङ्गीत नमिलेको गीत
मेरो इतिहास
एउटा पीडा बोल्छ
दीर्घ पीडा –
असह्य !
अथाह !!
म सुनिरहेछु
कोही रोइरहेको
धिमा आवाज
र आफैँ पीडा बोध गरिरहेछु
चोटहरू !
तड्पनहरू !!
मेरो इतिहास
आस्थाहरूले पोतिएर
रङ्गिन हुन नसक्नुको पीडा
आफैँ रोइरहेछ;
आफ्नो छातीभरि
नागरिक-पीडा लेखेर
आफ्ना आँखाभरि
नागरिक-दर्द हेरेर
इतिहास
आफैँलाई अभिसप्त महसुस गर्छ।
मेरो इतिहासभरि
त्यस्ता कैयन
अस्पष्ट कालखण्डहरू कैद छन्
उद्गार नगरिएका ।
कोखभरि बोकेर
“बसाइँ सरुवाहरू”
गर्भभरि छिपाएर
दमन र शोषणहरू
इतिहास
एउटा अर्थ बोल्न खोज्छ
वर्तमानमा !
तर सक्दैन ।
२६ फेब्रुअरी २००२
हात्तीसार