इन्द्रेणी रङ र जीवन

टेकेन्द्र अधिकारी
ज्यामिरे–८, खोटाङ

उमेरको भूमध्यरेखाबाट
नियाल्दा आङ्खनै जीवनको गति
अतीतको सुमेरू पर्वत उचालेर
वर्तमानमा ड्याङ्ग पछार्दा
समथर भविष्यको कामना हुन्छ ।

जीवनका अक्षांश र देशान्तरमा
सरल रेखाहरू कम हुँदा
आफन्तजनको खोजी
तीतो भोगाइले लखतरान
पूर्व–पश्चिम, उत्तर–दक्षिण
सँगालिन्छ जीवन अनुभूति ।

गोलिएका पृथ्वी–आकांक्षा च्यापेर
इतिहासदेखि वर्तमानसम्म
गोब्रेकिराको नियती भोग्दा
क्रमभङ्गविहीन निरन्तरता छ
नियमितताको आश छैन ।

बक्ररेखाको जीवन–यात्रा खण्डित हुँदा
खण्ड–खण्डमा दण्डित हुन्छ जीवन
अस्तित्व रक्षाको गुञ्जायस छैन
टा…ढा कतै आशाको दियो धिपधिपाउँदा
अस्ति–हिजोजस्तै आज पनि उस्तै छन्
जीवनका इन्द्रेणी रङ र सपनाहरू ।

उमेरको बाढी जगमगाउँदै, लहराउँदै
कालसँग जुध्ने खतराको घण्टी बजाउँछ
जीवनको बामे सर्दैछ अक्करे भीर
पा…रि सफलताको किनारबाट
असफलताको संकेत गर्छ समय
जीवन महाकुम्भमा होमिएको यो बेला
समय बदल्ने आँट र हिम्मत साक्षी छन् ।

कस्तो अचम्म-कस्तो रहस्य
यति हुँदासम्म पनि मरेको छैन
अनकण्टार मरूभूमिको तिर्खाझैँ
जीवन बाँच्ने उत्कट इच्छा र चाहना ।

मरेको जीवनभन्दा बाँचेको जाति
बाँचेको जीवनभन्दा हाँसेको माथि
मर्दा मर्दै बाँचिने, बाँच्दा बाँच्दै मरिने
मष्तिष्कमा मृत्युको घण्टीफूल सिउरिँदै
सधैँ बाँच्नु र मर्नुको दोभानमा उभिएर
बाँच्ने कि हाँस्नेको असमञ्जसमा
धार–मझधार हुँदै किनारा लाग्दैछ जीवन ।

परिभाषामा जीवन खोज्नुको अर्थ छैन
उकाली–ओराली, भञ्ज्याङ–चौतारीहरूमा
निविर्कल्पको विकल्प खोज्दै-चित्त बुझाउँदै
गन्तव्यमा पोको पारेर आङ्खनै मृत्यु
निरन्तर बग्दो छ जीवन इन्द्रेणी –रङहरूमा ।

tekendraadhikari@gmail.com

हालः विराटनगर, मोरङ, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *