उत्तर पूर्वाञ्चलीय नेपाली साहित्यका सामन्तहरु

रोहित गौतम
असम, भारतRohit Guatam

भारतको उत्तर-पूर्वाञ्चलमा नेपाली साहित्यले ११वर्षे लामो कालखण्ड पार गरेको छ । यो ११वर्षको अवधिमा रचिएका कृतिहरू नियाल्दा १८ वटा स्तरीय मानक कृति फेला पार्न हम्मेहम्मे पर्ने अवस्था छ । आखिर किन भयो त    यस्तो ?  के कति कारणले यस्तो अवस्थाको सिर्जना भयो?

सन् १९६०को दशकका हरिभक्त कटुवालले यो जिन्दगी खै के जिन्दगी भन्नेकवितामा हाम्रो जाति र व्यक्तिले भोग्दै आएका निस्सारका परिस्थितिबारे प्रतिकी अर्थमा बडो मार्मिक अभिव्यक्ति दिएका छन् । त्यही अभिव्यक्तिस्वरूपको कवितालाई श्लेष मिसाएर फेरबदल गरेर हाम्रो यहाँको साहित्य खोई के साहित्य भन्दा आजको परिस्थितिमा ठ्याकै मिल्न जान्छ । उक्त हरफलाई सूत्रमा बोले पनि, कूटमा बोले पनि, बक्र, व्यङ्ग्य, आदर, अनादर जसरी बोले पनि सत्यताको प्रतिफलन सबैतिरबाट एउटै अर्थमा आउँछ ।

तर, साधारणतयः कविताका बारेमा यो पनि भइदिन्छ कि पढ्ने, पढाउनेहरूले यस्तो अर्थ निकालिदिन्छन् जसको विरोध कविले कवितामा गरेका थिए । हरिभक्त कटुवालको यो कविता हाम्रो यस भेगको साहित्यमा यसरी पढियो जहाँ हरिभक्तले नयाँ चेतनाको विगुल फुकेर हाम्रो जीवन तथा साहित्यमा रहेका विसंगतीका मठ र पर्खाल फोर्दै  जानुछ भन्ने चाहना राखेका थिए । तर, ती मठ र पर्खाल टुटेनन् बरू; ती मठका नेपथ्यमा रहेका मठाधिसहरूले पर्खालमा सिमेन्ट र महङ्गा पेन्टका पत्रहरू थपे । जसको सामुन्नेमा ती महङ्गा गाडीहरू खडा छन् । जहाँ बसाइँको धने धेरै पहिले किचिएको थियो । झुमाको नैसर्गिक रूप लावण्य र भर्भराउँदो जवानीप्रति मुग्ध भई उसको चोखो कौमार्य लुटेर विश्वासघात गर्ने यौनतृष्णाले उत्ताउलिएको रिकुटेझैँ यस भेगका साहित्यलाई यौवनपुष्ट हुन नदिन थुप्रै रिकुटेहरू आफ्ना चेला-चामुण्डाहरूसित आफ्ना राग अलाप्ने गर्छन् । जो यस भेगको साहित्यमा चम्कन चाहन्छ, प्रतिभा नभए पनि उनीहरूको सामुन्नेमा हाजिरी लगाउनु पर्छ, चाकडी गर्नुपर्छ । कथङ्काल कसैले यसो गर्न सक्षम भएनन् भने झुमाको अवस्थामा पुग्छन् नवोदितहरू ।

यसरी यस क्षेत्रमा नेपाली साहित्यको दुनियाँ रचनाकारहरूको नभएर गुट, गिरोहको दुनियाँमा परिवर्तित भयो । जहाँ कहीँ कसैले टाउको निहुँराउने गर्छन् भने कहीँ कसैले गालीमात्र बक्छन् । मानौँ लेखक आफ्नो सृष्टि र रचनादेखि बाहिर तिनै लडाईँमा उभिएका देखिन्छन् जसको अन्त कतै-कसैको सत्ता उखेल्नु र आफ्नो सत्ता जमाउनु छ । नेपाली साहित्यको यस क्षेत्रको महाभारतमा शकुनी धेरै छन् । तर, कृष्ण एउटै पनि छैनन् । यदाकदा कृष्ण झुक्किएर भेटिए पनि उनको प्रवेश सही ठाउँमा हुन दिँदैनन् । नेपथ्यबाट बडो सूक्ष्म तरिकाले कतिपय सामन्तले यस्तो व्यवस्था, अवस्था सिर्जिएका छन् जहाँ नेपाली साहित्यमा नयाँ सन्तान, सन्ततिहरू जन्मिने अवकाश नरहोस् । यसरी यिनीहरूले यस क्षेत्रको नेपाली साहित्यलाई गर्नुसम्म क्षति गरिरहेकै छन् ।

आज यस क्षेत्रको नेपाली साहित्य पाठकको अभावमा ‘जडा’ग्रस्त छ भने लेखकहरूको संख्या पनि १०० वा १५० मा ठिङ्गुरिएको छ । स्थापित मानिने लेखकहरू पनि फोन, पत्र आदिद्वारा देशको नेपाली साहित्यको मुख्यधारामा रहने प्रयास गर्छन्। यिनीहरूमध्ये १० वा १२ को मात्रै चर्चा धेरै हुन्छ र जसले स्वयं अथवा एक आपसमा कोलजयी घोषित गर्ने गर्छन् । साथै यिनीहरूमध्ये दुई वा तीनजनाको ‘स्टार भेल्यू’ छ । तर यिनीहरूको ‘स्टार भेल्यू’ सृजनधर्मिताको आधारमा पाठक वा सर्वसाधारणको दृष्टिकाणसित मतलब छैन । ‘जुगाडतन्त्र’को आधारमा पाएका पुरस्कारको आधारमै यिनीहरूको ‘स्टार भेल्यू’ तोकिने गर्छ ।

प्रश्न उठ्छ समाजको सबभन्दा नजिकको मानिने साहित्यमा केही व्यक्तिहरूको हातमा सत्ता पुग्ने प्रवृत्ति कसरी विकसित भयो ? वास्तवमा सिङ्गो नेपाली साहित्यमा जति पनि आन्दोलन भए ती व्यक्तिकेन्द्रित अधिक भए । तेस्रो आयाम, लीलालेखन, वुट पालिस, झर्रोवादी, राल्फा समूह आदि आन्दोलनहरू सिङ्गो नेपाली साहित्यमा व्यक्तिलाई अथवा दुईचार समूहलाई केन्द्रित पारेर भएका थिए । अवश्य असम या उत्तर-पूर्वाञ्चलमा त्यस्ता खास्सै आन्दोलन केही भएनन् । पहिले अविनाश श्रेष्ठको ‘कोलाज’ र पछि भाषा आन्दोलनको माध्यमबाट केही व्यक्तिहरूले आफ्ना सामन्ती मठ निर्माण गर्ने मौका पाए । नयाँ-नयाँ लेखकहरू पनि आफ्नो मान्यताको लागि  उनीहरूको वरिपरि जम्मा हुन थाले । जसबाट लगातार परिवेश बिग्रिँदै गयो रचनाको ठाउँमा व्यक्ति महत्वपूर्ण हुँदै गए । नभए भाषा आन्दोलनमा ‘असम’ नामक पुस्तकमा एकपक्षीय दैनन्दिनी लेख्ने शिशिरकुमार गुरूङलाई उचाल्दै नव सापकोटाले प्रशंसामय भूमिकासरह केही लेखिदिए । त्यसको विरोध गर्दै झिनो स्वरमा जयनारायण लुइँटेल लेख्छन्-“नव सापकोटाले उक्त पुस्तक आद्योपान्त पढेका भए यसरी लेख्ने थिएनन् ।” किन उनले  नव सापकोटाले गलत लेखे भन्न सकेनन् । उनी पनि त्यही मण्डलीका सदस्य भएर कसरी भन्न सक्छन् त ? जब सहीलाई सही र गलतलाई गलत भन्ने शक्ति लेखकमा रहँदैन तब उसको लेखाइ चाकडीमा परिवर्तित हुन्छ । यिनै कारणले गर्दा आज हाम्रा लेखक पाठकदेखि टाढा छन् । पाठकविहीनताको स्थितिमा जोसित सम्पर्क, जुगाड आदिको नेटवर्क हुन्छ तिनै शक्तिशाली हुने गर्छन्, महत्वपूर्ण हुने गर्छन् । आज यस क्षेत्रको नेपाली साहित्यका लेखकहरूको पाठकसित सोझो सम्पर्क अन्त भएको हुँदा एउटा सानो समूहले साहित्यको सत्ता निरूपण गर्ने स्थितिमा छ । यो सत्ताका सामन्तहरूले रचनात्मक रूपमा केही नयाँ दिइराखेका छैनन् । यिनीहरूका आफ्ना रचनाका कारणले भन्दा पनि लबी, गुटबन्दी र जुगाडले गर्दा साहित्यमा टिकेका जस्ता देखिन्छन् । विगत केही वर्षयता नव सापकोटा, लीलबहादुर क्षेत्री, जयनारायण लुइँटेल, पुष्पधर शर्मा, तारापति उपाध्याय, शान्ति थापा आदि अनेकौंले के नयाँ दिए ? यस्तो अवस्थामा जसले साँच्चै नै नयाँ सृजनात्मक कार्य गरेका छन् तिनीहरू उपेक्षित हुने गर्छन् । जस्तै- भविलाल लामिछाने, खेमराज नेपाल, लोकनाथ, खडगराज, मोहन, डम्बर, जेमदग्नि, ज्ञानबहादुर, गोविन्द, धर्मेन्द्र आदि अनेक नाम छन् ।

अब आफ्नो समूहको नभएकै कारण वीपी कोइराला फाउन्डेशनको सौजन्यमा भएको दुई-देशीय कविगोष्ठीमा डा. लक्ष्मी पराजुली बोलाइएनन् । तर कालीदास शर्मा (थपलिया) बोलाइए । कालिदास शर्मा कहिले कवि बने, के कृति निकाले उत्तर पाउन गारो छैन । भाषा आन्दोलनको सम्पर्कले साहित्य अकादेमीसित हिमचिम बढेपछि त झन कसले पाओस् । डा. पराजुली पनि आफैंलाई साहित्यको शक्ति केन्द्रका रूपमा उभ्याउने प्रयासमा अझै छन् । अनेसासमा नवीनको प्रवेश र आफ्नो खस्कँदो साङ्गठनिक आधार चाल पाएर अन्तर्राष्ट्रिय जगतमा रचनाको योगदानले पनि चिनिन सकन्छन् प्रतिभा, बुता भए । सिङ्गो नेपाली साहित्यमा रचनाको आधारले हामीले योगदान दिन किन सक्दैनौँ ? केवल सम्पर्कको माध्यमले चिनिनु स्थायी ठहर्दैन । अनेसासले नै गर्नुपर्ने धेरै काम छँदैछन्, तिनलाई नै व्यवस्थित पार्नुको सट्टा अन्तर्राष्ट्रिय च्याप्टर थप खोल्न आफैँलाई शक्ति केन्द्रका रूपमा उभ्याउने प्रयास त हो ।

साहित्यको काम समाजको अन्तर्विरोध र विसङ्गति हटाउनु हो । तर यस क्षेत्रको नेपाली साहित्यमा यो क्षमता क्रमशः घट्दै गयो । उल्टै तिनै विसङ्गति साहित्यमा प्रवेश भए । आफ्नो हित, आफ्नो रिभ्यू, आफ्नो प्रकाशन आदि यसरी सबै सरोकारहरू र चिन्तनहरू आफूमा मात्र खुम्चिएर रहन बाध्य छन् । आज यदि कुनै  लेखकले चारवटा समीक्षा लेख्छन् भने चारैमा एक मूल्य नभएर आफ्नो हित र आवश्यकताअनुरूप अलग-अलग मूल्य प्रकट हुने गर्छन् । वास्तवमा अभिव्यक्तिको स्वतन्त्रतालाई सरोकारले भन्दा हाम्रो व्यक्तिगत स्वार्थले रोक्ने गर्छ । यस्तो परिवेशमा विकलाङ्ग चिन्तवृत्तिहरू विकसित भए र गुटीय सत्ता केन्द्र स्थापित हुँदै गए । यिनै गुटीय सत्ता केन्द्रको काम एउटै छ प्रतिभा र साहसलाई रोक्नु । यसको हालैको उदाहरण यस वर्षको साहित्य अकादेमी पुरस्कारलाई लिन सकिन्छ । गोपीनारायण प्रधानले साहित्य अकादेमी पाउनु पनि यिनै सत्ताकेन्द्रको मिलिभगत नै भन्नुपर्छ । भविलाल लामिछाने, लोकनाथ चापागाइँ, मोहन सुवेदी त परै जाओस् नयाँ पुस्ताका गोविन्द शान्डिल्य, धर्मेन्द्र उपाध्याय, उमानाथ ज्ञवालीका  कविता गोपीनारायणका भन्दा स्तरीय, अब्बल छन् । तर, कुरो उल्टो भइदिन्छ । भविलालले पाउनु पर्ने समयमा उनलाई अकादेमीको सदस्य बनाइयो । खडगराज गिरीका कथाहरूले पाउनु पर्ने ! डा. जेमदग्नीले पनि पुरस्कार पाउने कार्य गरेका छन् । डा. खेमराज नेपालले स्थानीय माटोको सुवाससहितको महाकाव्य लेखे, भिन्नै खालको, चर्चा समेत भएन । नयाँ रण काफ्लेको कथा सङ्ग्रह, राहुल राईको कथा सङ्ग्रहको शायदै चर्चा होला, न त चर्चा होला गोविन्द शाण्डिल्यको हाइकुहरूको । यिनै परिवेशबाट वाक्क भएका कार्बी आङलाङका एकजना कविले लेख्नै छाडे ।

नव सापकोटा साहित्य अकादेमीको सदस्य छँदा रातारात दुर्गा खतिवडाले अनुवादमा साहित्य अकादेमी पुरस्कार पाइहाले । समीरको ‘पुसी’ जस्ता नख-दन्तविहीन कथा लेख्ने खतिवडाको त्यसपछि कुनै कृति प्रकाशित भए ? बरू उनी साहित्य परिषदको मूलसचिव भएर अनुवाद अकादेमी पुरस्कार पाएको ऋण तिरे सायद ।  के. बी. नेपालीले पहिल्यै पाउनु पर्ने, पुष्पधर शर्मा, शान्ति थापाले पहिलो पालो पाए । हिरेन भट्टाचार्यका कविताको जेजस्तो नेपाली अनुवाद भएको छ के भन्ने ? शान्ति थापाले अनुवाद गरेको नामधरीयामा भूलैभूलको भुर्कुट छ । बरू अस्तारागमा  पाउँथिन् भने चित्त बुझ्दो हुन्थ्यो । गीता उपाध्यायले पाउनु पर्थ्यो तर, त्यसो कहिल्यै भएन । धमाधम यसरी पुरस्कार ‘आवन्टन’ गरिनुमा शक्ति केन्द्रमा  जमघट बढाउनु र आफ्नो प्रभावको प्रतिफलन अरू सामू प्रस्तुत गर्नु पनि थियो र यस्तो माहोल बनाइयो कि उनीहरूको गुटीय सत्ता केन्द्रमा संलग्न नभए लेखकीय मुक्ति सम्भव छैन । वास्तवमा यस क्षेत्रमा नेपाली लेखक आफ्नो रचनात्मक संसारमा असुरक्षित छन् । अधिकांश लेखक जो गुटीय सत्ता केन्द्रसित संलग्न छन्, उनीहरू स्थापित हुन्छन् सीमित परिसरमा भए पनि । यिनीहरू रचनात्मक रूपमा उत्कृष्ट नभएर प्रमोटिभ लेखक हुन् । इमानदार, मेहनती, अन्वेषी लेखकहरूको घोर उपेक्षा भइरह्यो, किनभने उनीहरू गुटीय सत्ताकेन्द्रमा विश्वास राख्दैनन् । केवल साहित्यका ठेली-कृति लेख्ने मात्र पुरस्कृत, सम्मानित हुनुपर्छ भन्ने छैन । अकादेमीले त्यसो नगरे पनि अन्य सम्मान पुरस्कार त दिन सकिन्थ्यो । भाषा विषयमा डा. खगेन शर्माले जति काम गरेका छन्, गराएका छन् तर स्वीकृति शून्य, अविकेशर शर्मा पनि उपेक्षित नै भए । संघ-संस्थाहरूको सोच पनि पारदर्शी हुन सकेन ।

दार्जिलिङ, सिक्किमतिर पनि इन्द्रबहादुर राईको पालामा या पारसमणि प्रधानको पालामा जस्तो निरपेक्ष सत्ता केन्द्र वर्तमानमा छैन । दार्जिलिङ, सिक्किमका गुटीय सत्ताकेन्द्रसित गुटीय नेटवर्क मिलाएर यहाँ गुटीय सत्ताकेन्द्र स्थापना गरिएको छ । नेपालमा पनि एटा लाइन छ तर, नेपालको स्तरीयतामा यिनीहरू कहीं पनि टिक्दैनन् । त्यसैले यो डोरी त्यत्ति शक्तिशाली बन्न सकेको छैन ।

यस क्षेत्रको नेपाली साहित्यका पाठक घट्दै गए । कारण र निवारण खोजिएन । संस्था, संगठनहरूले पनि यस सन्दर्भमा चासो दिएनन् । बस एउटै राग, नेपाली साहित्य, पत्र-पत्रिकाका पाठक छैनन् भनेर मन्तव्य दिँदैमा दायित्व खत्तम । हाम्रो जातीय समाजमा के घटिरहेको छ त्यसबारे यिनीहरूलाई वास्ता छैन । समाजबिना साहित्य कसरी सम्भव छ ? कविता, कथा लेख्यो दायित्व खत्तम । रचनाको भाव र विचारको स्तरमा व्यापक रूपमा जनता जोडिने गर्दैनन् । यस क्षेत्रको स्वाभाविक जनगणको दुःख, व्यथा र तिनै सरोकारका विषयमा कति खबर लिएको छ । समाज आफ्नो समस्या, जीजिविषाको समाधान खोज्दै साहित्यको नजिक जान्छ । तर ती रचना खोई ? वास्तवमा आम रचनाहरूको कुरा त परै छाडौं- पुरस्कृत रचनाहरूमा पनि यो सामर्थ्य छैन जसले व्यापक रूपमा सर्वसाधारणको मनोभावलाई स्पर्श गर्न सकोस् !

भीमाजुली काण्ड भयो, लाम्पी काण्ड भयो, अन्य धेरै विभत्सतम् त्रासदी भोग्न बाध्य भए सर्वसाधारण । तर यस्तो त्रासदीमा पनि कवि मन, लेखकीय सत्ता मौन रहे । पुष्पधर शर्माका कवितामा आउने पात्र मेजर वर्मा अल्मलिए । लीलबहादुर क्षत्रीको भाव पनि फुटेन । बरू नवीन सिकारूहरूले कविता कोरे, लेख लेखे, तर प्रतिष्ठित मानिसहरूको मन द्रवित भएन । वास्तवमा यिनै गुटीय शक्तिकेन्द्रका सामन्तहरूले नेपाली साहित्यको यस क्षेत्रीय गतिमा भाँजो हालेर भौँतारिन बाध्य पारेका छन् । नयाँ लेखक, पाठकबाट साहित्यलाई टाढा पुर्‍याएर सबभन्दा ठूलो अहित गरे । यिनीहरूले साहित्यमा एटा ट्रेन्ड सेट गरे, रचनात्मक प्रतिभाको ठाउँमा जुगाडतन्त्र र सेटिङले मात्र साहित्यमा प्रभावी र महत्वपूर्ण बन्न सकिन्छ भन्ने|

शिलाङकै कुरा गरौँ । विगत २५ वर्षदेखि गोपीनारायण प्रधान र नरबहादुर राई नेपाली साहित्य परिषदका सभापति, मूलसचिव छन् । नयाँ पुस्ता, साहित्य लेखन शून्य छ । नरबहादुर राईको स्वयंको कृति नै छैन । तर उनै ज्ञानपीठ समितिमा सदस्य बन्छन्, नेशनल बुक ट्रस्टमा पुग्छन् । यत्रा दिनसम्म के सभापति मूलसचिव हुने व्यक्ति अर्को फेला परेन होला र ? चुरो कुरो यो हो कि परिषदको पदबाट नै सानो शक्तिकेन्द्र स्थापन गरेर अरू गुटीय शक्तिकेन्द्रसँग समन्वय कायम गर्ने र साहित्यसेवी, सर्जक कहलाउने अभिप्सा छर्लङ्गै देखिन्छ । शेली र कीट्सको उद्धरण दोहोर्‍याउने गोपीनारायणले मार्केज, कुन्देरा, मोरीसनको अथवा सुसुन काफका तसलिमाको प्रसङ्ग भने कदापी निकाल्दैनन् । आफ्नो भावी पुस्ताका साहित्यिक, लेखक निर्माण हुने माहोलसम्म बनाउन नसक्नेले आफू साहित्यको इतिहासमा सम्झिरहने नाम बन्ने प्रयासमा नै जुगाडतन्त्रको गोडमेल गर्ने प्रयास गर्छन् । कृष्णप्रसाद ज्ञवाली, दिलबहादुर नेवारहरूले झैं नयाँ पुस्ता जन्माउने प्रयास यिनीहरूले किन गरून् । विक्रमवीर थापाको रचनात्मक शक्तिको आरिस गर्दै उनलाई वेवास्ता गरिरहन्छन् ।

आज स्थिति यस्तो छ कसैसित सरकारी, गैरसरकारी तागत छ भने सजिलै लेखकमा दरिन्छ । यी गुटीय सामन्तहरूले यस्तो दुर्भावना विकसित गरेका छन् कि पहिले शक्तिशाली बन तब साहित्यकार स्वयं भइहाल्छौ । यो शक्ति हुने सरकारी, गैरसरकारी संस्थानमा राम्रो नोकरी, विश्वविद्यालयमा प्रोफेसर, कुनै संस्थाको अध्यक्ष, ब्युरोक्रेट, पत्रकार या कुनै गुटीय शक्तिकेन्द्रको मठाधीशको चम्चागिरी केही पनि हुन सक्छ । यसको कारण हो रचनाको उत्कृष्टता न कुनै पाठक समूहले गर्ने गर्छ या अन्य कुनै व्यापक समूहले । यो त साहित्यको गुटीय सानो सत्ताकेन्द्रले निर्णय गर्नेगर्छ । त्यसैको ताकत त्यही अनुपातमा हुन्छ जसले जसरी सत्ता केन्द्रलाई मेनेज गर्ने गर्छन् ।

साहित्यिक पत्रकारितामा यी कुराहरू उहिल्यै उत्थापन हुनुपर्ने हो; तर हुँदैन । यहाँको साहित्यिक पत्रिका र पत्रकारिता पनि नातावाद, स्तुति, भजनमा टुङ्गिएको छ । विश्वसाहित्यको गति-प्रवृत्ति, सिङ्गो नेपाली साहित्यको आरोह-अवरोह आदि पनि समावेश हुँदैनन् पत्र-पत्रिकामा । पुरानै परिपाटिका कथा, लेख-निबन्ध, बस काम पूर्ण । बिन्दु, हाम्रो ध्वनिलाई दिगो त भनिन्छ तर, संयुक्तांक पारेर निकालिन्छ, निरन्तरता छैन । इतिहास त वर तानिन्छ ४० वर्षे ५०वर्षे तर, सिर्जनशीलतामा उसको योगदान, कति नयाँ कृतिकार जन्मायो भन्ने प्रश्नमा मौन देखिछन् ! हाम्रो ध्वनिको संयुक्त सम्पादक शान्ति थापाले आफ्नै पत्रिकामा आफ्नो पत्रिकाको ‘युग हाम्रो ध्वनि युग’ भनेर लेख छपाइन् । अरूले लेखेका भए ठीकै थियो तर, स्वयं सम्पादकले त्यसो गर्नुको अभिप्राय बुझ्न सहज छ । बिन्दु युगलाई कता राख्ने त ? किन बिन्दु युग नभन्ने । फेरि सपरिवारलाई व्यावसायिक पत्रिका भनेर तोक लगाउने । पत्रिका साहित्यिक हुन्छ, नारी विषयक, खबर पत्रिका, विविध विषयक, खेल विषयक त हुन्छन् । व्यावसायिक पत्रिका भनेर संसारमा कतै परिभाषा लेखिएको छैन । उही फुलाम गामोसालाई फूलबुट्टे गम्छा लेखे जस्तै। आगत शब्द उसको प्रकृत रूप ध्वन्यात्मक लयमा नै लेखिने गर्छ भन्ने अनुमान लगाउन नसक्नेले कोशकार बन्न खोज्ने प्रवृत्ति पनि गुटीय शक्तिकेन्द्रको आड भरोसाको सहारामा विकसित भएको हो भन्नु पर्छ। यस्ता गुटीय शक्तिकेन्द्र विभिन्न स्थानमा व्यक्ति विशेषलाई केन्द्र गरेर बनिने गर्छन्। डिगबोईमा भविलाल र युद्धवीर राणाको निरपेक्षता देखिएला तर त्यसपछि ? उदालगुडी, तेजपुर आदिमा पनि विकसित हुने सेमी शक्ति केन्द्रहरूले पनि भविष्यमा सरदर तिनै कार्य दोहोऱ्याउने छन् जसबाट यस क्षेत्रको नेपाली साहित्यमा रचनाधर्मिताको सट्टा जुगाड र चाप्लुसी संस्कृतिको महत्व बढाउने छन् भन्न सकिन्छ। वर्तमानमा नेसाप र अनेसास नामक असमका दुई साहित्यिक संस्था एकीकृत भएर कार्य गर्न नसक्नुका पछाडि दुवै संगठनका सामन्ती सोच भएका केही व्यक्तिहरूको गुटीय शक्ति कम हुन्छ कि भन्ने मानसिकताले क्रिया गरिरहेकै छ। नारी लेखनको प्रसङ्ग आउँदा पनि स्थिति ठीटलाग्दो छ। पुरानी गरेका शर्मा र मैना थापा निराश हुँदै भन्छन्- आफ्नी श्रीमती,साली,नाता-गोतालाई साहित्यिक भ्रमण पुरस्कार दिइने परिवेशले दिक्क पारो। नारी सर्जकलाई टेवा दिने परिपाटीको सट्टा श्रीमतीलाई अघि सार्ने प्रचलन छ।

यति लेखेपछि भन्लान देश र दशको बिगार नगरेका जीवनको अन्तिम समयसँग साहित्यकै लागि चिन्तन गर्नेहरूको विरुद्ध लेख्नु गलत हो । प्रतिभाषीलाई वञ्चित गरेर जुगाड र चाकडीको भरमा अरू कसैलाई सम्मान, पुरस्कार दिनु, दिलाउने कार्य गर्नु देश, समाजको लागि अन्याय हो कि होइन ? के यी कुराहरूको विरोध हुनुपर्दैन ? न राजशाहीका, सामन्तशाहीजस्तै जदौ गरेर मौनव्रत राख्नु पर्छ ? आखिर लेखक, साहित्यकारले समाजमा भएका विसङ्गति, अवरोधहरू हटाउन आफ्नो कलम चलाएन भने त्यो के लेखक ?

आज उदालगुडीमा तारापति उपाध्याय, पुष्पधर शर्माजस्ता साहित्यिक, समाज संगठक, नेता भएका ठाउँमा तिनैले स्थापना गरेका संस्थाहरूमा कुनै विश्वकर्माले सामाजिक खुकुलोपनको माग गर्दा वेवास्ता गरिनु के न्यायसंगत हो ? आफ्नो रचनात्मक शक्तिबाट स्थापित कुनै लेखकले यो वेवास्ता गर्ने थिएनन् पक्कै । भविलाल लामिछानेले लेखेअनुसार हरिभक्त कटुवालको गीत/कविता लीलबहादुर क्षेत्रीले आफ्नी श्रीमती धनमाया छेत्रीको नाममा कुनै पाठ्यपुस्तकमा लिपिवद्ध गरेको के अन्याय होइन ? के लीलबहादुर क्षेत्रीको साहित्यिक उचाईको हेक्का राख्दै त्यो अन्यायबारे मौन रहिरहने ? वास्तवमा सामन्तहरूको संस्कारगत मान्यता हो यो, त्यसैले तैं चुप मै चुप !

यस प्रसङ्गमा एउटा तथ्य यहाँ उद्धृत गर्न चाहेँ । रविन्द्रनाथ र प्रेमचन्दपछि भारतीय साहित्यमा चर्चित नाम हो अज्ञेय । उनीमाथि रचनाको आधारले होइन जीवनदर्शनका आधारमा विवादमाथि विवाद थोपरिएको छ । उनीमाथि यस्तो आरोप पनि लगाइयो-उनैका कारणले भगतसिंह पक्राउ परेका थिए । उनी सी.आइ.ए. पोषित कल्चरल फ्रीडमका सदस्य थिए । चन्द्रशेखर आजाद इल्लाहावादमा भएको सूचना अङ्ग्रेजलाई प्रसिद्ध लेखक यशपालले दिएका थिए भन्ने विवाद, चर्चाहरू प्रकाशित छन् । बौद्धिक विवाद हुन्छ । हामी सहावस्थान गरेको असमीया साहित्यमा पनि यस्तै बौद्धिक विवाद चलिरहन्छन्, खारिन्छन् । तर हाम्रो साहित्यिक समाजमा यो वर्जित छ । यसखाले चर्चा अमार्जित भनिन्छ । यसैले प्रमाणित गर्छ हामी कति गणतान्त्रिक, उदार छौँ, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौँ, साहित्यिक, बौद्धिक चर्चा-परिचर्चामा कुन परिपाटीमा छौँ, अझै पनि मध्ययुगीन सामन्ती परिपाटीमा छौँ ! त्यसैले त ईश्वर बरालले यहाँको साहित्यलाई प्राथमिक स्तरको भनेर गिल्ला गरेका थिए । लेखक, साहित्यिकहरू विरुद्ध लेख, बौद्धिक युद्ध अन्य साहित्यमा छ्यापछ्यापति छन् । लेखक साहित्यिक पनि समाजकै प्राणी हुन् । राजनीतिक, साङ्गठनिक नेताहरू विरुद्ध लेख्दा पिठ्यूँमा धाप मार्नेहरूले लेखक विरुद्ध लेख्दा किन दश र देशको अन्याय नगरेको राग अलाप्छन्- त्यो पनि प्रतिभाशाली युवाले, कुरो बुझ्न कठिन छ । हाम्रै पुर्खा मनु आफ्नो समयका अब्ब्ल जुवाडे र अपराधी थिए । बाल्मीकि डाकु, रचना र जीवनको विरोधाभाषी सम्बन्धको सबभन्दा ठूलो उदाहरण फ्रान्सेली ज्या जेने हुन् । जेने आवारा, गुण्डा, नशाखोर थिए तर, आधुनिक नाट्य जगतमा जेने अविष्मरणीय नाम हो ।

आज रचनाको आधारमा, जीवन व्यवहार र कार्यको आधारमा सबै लेखकहरूको मूल्याङ्कन हुन जरूरी छ । तर रचनात्मक शून्य हुँदाहुँदै पनि गुटीय शक्तितन्त्र र जुगाडको बलबुतामा लेखक बनेर हिँड्नेहरूले यस क्षेत्रको नेपाली साहित्यको भविष्यसँग धेरै खेलवाड नगरून् भन्ने विरोध त हुनैपर्छ । अवश्य पनि यो विरोधका नाममा भने हुनुहुँदैन । कसैलाई खसाल्न विरोध हुनु हुँदैन । त्यो विरोध यस भेगका नेपाली साहित्यको गतिवेग तीब्र पार्ने भविष्य पिढीको लागि प्रेरणादायक बनाउने उद्देश्यमा हुनुपर्छ । रिकुटेरूपी साहित्यका यी सामन्तको जबसम्म यस क्षेत्रमा रगरगी रहिरहन्छ तबसम्म नयाँ लेखकले आफ्नो सृजनशीलताको स्वीकृति नपाएर ओइलाएर जीनक्रम रोकिने छैन । अनि कसरी धनेजस्तो पात्र सिर्जित होलान् त ? र, यो जिन्दगी खोई के जिन्दगीजस्ता कविता लेखिएला ?  इति- सुझाउ, प्रतिक्रिया काम्य छ !

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *