ऊ मलाई बौलाहा भन्छे

कवि
कवि

ईश्वर प्रवासी
अमेरिका

ऊ मलाई बौलाहा भन्छे
आफू चैँ धर्तीमा बसेर आकाशका तारा गन्छे
किनकि , म ऊ भन्दा फरक सोच्छु
केलाएर भूत , वर्तमानको अस्तित्व खोज्छु ।
म झुप्रोको यो सानो शैय्या मै ठुलो आनन्द भेट्छु
लेटेर यसैमा दिनभरको थकान मेट्छु ।
तर….! ऊ सुखसयलको आलिसन महलमा ज्यूनेँ चाहानाले मर्छे
धिक्कार्दै भाग्यलाई , मेरी पत्नी हुनुको पश्चताप गर्छे ।
सक्दिन म त्यो धनको झोली भरेर, स्वार्थी जीवन बाँच्न
शोषेर अरूलाई रुवाउँदै , कहाँ सक्छु आफू हाँस्न ।
त्यसैले ऊ मेरा भावनाको खिल्ली उडाउँदै आफू नामी बन्छे ।
म पनि उही नामी पत्नीकै पति न हुँ , तर मलाई चैँ बौलाहा भन्छे ।

म दिन रात मजबूरी गर्छु पसिना बगाई
महल बनाउँछु , बाटो बनाउँछु हिम्मत जगाई ।
मेरै पौरख र श्रमको आडले बाँचेको छ दुनियाँ
म भित्रको दरिलो हाडले बाँचेको छ दुनियाँ
मजदुर दुर्बल हुन्न कहिल्यै , चट्टान पनि फोर्न सक्छ
आफ्नो हर्कत र क्षमताले इतिहास कोर्न सक्छ ।
म यही तथ्य उसलाई बुझाउने मूलमन्त्र कप्दैछु
सद्बुद्धी दिउन ईशले उसलाई , यही प्रार्थना जप्दैछु ।
उसको नजरमा म एकैपल टिक्न सकिन ।
लिएर झुटो ज्ञान दुष्टको पैसामा बिक्न सकिन ।
त्यसैले गर्छे किचकिच मसँग रातोदिन , ऊ मेरो खोइरो खन्छे
देखाउँछे तमासा लोकलाई लाजशर्म लुकाई ,
तर ….! उल्टै मलाई पो बौलाहा भन्छे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *