एक अँगालो लालुपाते फूल
शिवलाल दाहाल
केन्टकी, अमेरिका
आकाशले
अनुहार धोएको छ आज
सुन्छु
एका बिहानै चराहरू गन्गनाएको
सायद आजको चिसोले
खुब ठुँगेको छ
उनीहरूलाई
बाटाका किनारहरूमा
कताकता …………
पानी छ
पक्षघातले थलिएर बसेको
चिसाले कठ्याङ्ग्रिएकी घाम
गाडीको सिसाबाट
भित्र पसी दिन्छे
र
मेरो अनुहारमा चुमी दिन्छे
म उसलाई अङ्गालोमा बाँधी दिन्छु
आज प्रयणदिवसको दिन
कसरी ऊ आई
यत्रो बाटो आकाशबाट धर्तीसम्मको
हाम फालेर क्षितिजको चुलीभिरबाट
र
गाडीको सिसाभित्र पसी
यौवनको उद्वेग थाम्न नसकी ………….
आज प्रणय दिवसको दिन
जाडोले कठ्याङ्ग्रिएकी उसलाई
एउटा न्यानो कम्बल उपहार
दिएर पटाइदिऊँ
पार्किङ लटमा गाडी बिसाएर
उपहार किन्न के निस्कूँ भन्छु
ढोका खोल्न सात
ऊ निस्किएर भागी दिन्छे
माथि माथि आकाशतिर
सायद अर्को वर्ष फेरि ऊ आउँदी हो
फूलको कौमार्य लिएर
नौलखा सन्तान जन्माउने
रहर बोकी
हाम फाल्दै चुलीभिरबाट
म बसुँला दोबाटोमा
एक अँगालो लालुपाते फूल उपहार लिएर ।