एक दिनको दैनिकी
शिवलाल दाहाल
केन्टकी, अमेरिका
आकाश खासै उघ्रिएको छैन
बादलको घुम्टोबाट निस्किएको जून सिधैँ थाप्ला माथि देखिन्छ
गाडी बिसाएर, एकछिन खुल्ला आकाशतिर नजर लगाउँछु
रातीको बाह्र बजे भएको छ
सन्नाटा छ, कतै कुनै ठुलो आवाज सुनिँदैन
उही सिक्रे रुखहरु छन् ठिङ्ग उभिएका
बिहान सात बजे उठेको अझै सुत्ने समय आइपुगेको छैन
यो एक किसिमको यो नियमित दैनिकी हो
अमेरिकी जिन्दगीको……………
अँ आज खुब हावा चलेको थियो
बिहानदेखि………..
बाह्रबजे दिउँसो कक्षाबाट बाहिर निस्कनै खोज्दा
निकैसँगले दहिलो ढेकाल्नु प¥यो हावाको झोक्काले गर्दा
यसो बाहिर निस्किएर हरेँ
लाग्यो उतातिरको चैत–वैशाखको हुरी जस्तै हो यो
इन्द्र बहादुरको रातभरि हुरी चल्योजस्तै
कताबाट मसिना रुखका हाँगाहरु बडारेर ल्याएको छ हावाले
उतातिर भएको भए धुलोको कुहिरो नै चल्ने थियो
तर त्यसतो बेसम्हार माटो नै यहाँ कहाँ छ र जस्तो भन्न मन लाग्यो
एक दुईवटा कता–कता देखिन्छ
हिउँले निलेका रुखहरुमा पात नै कहाँ होस् र
धेरै दिन अघिदेखि पातहरू
हुरीको झोक्काले उड्दै, बग्दै आइरहेका हुँदा हुन्
आँकलन गर्छु, म जस्तै ठाउँ सर्दै
झरेको पात आखिर जता हावाले चाहन्छ उतै बग्ने नहो
हावाको वेगमा उडिदिन्छु म,
आकाश उघ्रिएको छैन
जून अलिक पर सरिसकेछ
अर्को दिनको यात्रा आरम्भ गर्दै
सुत्न अझै बाँकी नै छ अघिल्लो दिनको बन्दकी……………