ए नानु !

कवि
कवि

डिपि दुलाल
टेक्सास, अमेरिका

तिम्रो आँखाको शून्यता
अनुहारको मैनता
आवाजको लचकता
लाग्छ,
मैँले तिमीलाई
मन पराउनुको विशेषता हो ।

तारा चुनेर यो भूमिमा
रोश्नी बनेर मेरो जीवनमा
यतिका वर्ष पछाडि
तिमी आयौ र ममा
म हुनुको रौनकता छायो
तिम्रो दिव्यता महसुस गरेर
आज आफैँलाई
पूर्ण हुनुको आभास भयो ।

लाग्छ,
घरको सुनसान र शून्य कोठामा
तिमी पनि
छट्पटाएकी छौ
म जस्तै
डिप्रेश भएर
एउटा आजीवन साथ खोज्दै ।

लाग्छ,
यतिका वर्ष पछाडि
मेरा यी दुई नयनमा
तिमीले जीवन भेटाएकी छौ
र त तिमी तर्किन्छौँ
मेरो घेराबाट
अनि डराउँछौ
लजाउँछौ
मेरा
नजरमा, नजर जुधाउन
आवाजमा आवाज मिलाउँन ।

सम्झी हेर त
गोधूलि साँझमा
तिम्रो घरको अगाडि
हाम्रो जम्का भेट भएथ्यो
तिमी पनि बोलेनौँ
म पनि बोलिन
केवल बोलिरहेँ
हाम्रा प्रमील मनहरू
अनि मोडिए हाम्रा
शिथिल पाइलाहरू
फरक गोरेटोतिर
हो नानु….
त्यसताका,
तिम्रो अनुहार
मैँले तिमीलाई माया गर्नुको
अर्थ भेटाएको थिएँ ।

तर आज
यस्तो लाग्छ
यो कृत्रिम समाज र
वर्ण व्यवस्था रहुन्जेल
म तिम्रो
सिउँदोको सिँन्दुर
अनि
गलाको पोते बन्न सक्दिन होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *