कलम

जय हुँमागाई
क्यानाडा 

हेर्दामा राम्रो कलम मेरो, प्यारो छ मलाई।
लर्तरो छैन यो होचो होइन, घुमाउँछ मलाई।।
छातीमा बस्छ सटको टाँक मास्तिर सजाउँछु।
गोजीमा बोकी छातीमा टाँसेँ उत्तिकै रमाउँछु।।

सानु छ आकार हल्का छ बोक्न किन यो नबोक्ने !
बोकेर हिँड्दा साथमा जहिले क्यै भारी नपर्ने।।
ठाउँमा परे ईज्जोत बढ्छ, धन धेरै नचाइने।
सुन्दर राम्रो शोभा नै दिन्छ, मन त्यसै रमाउने।।

सानुमा सानु कलम मेरो हातले चलायो,
औँलाले च्याप्छ कागज माथि अक्षर बनायो।
हातमा कलम चलेको देख्दा मन मेरो रमायो।
यी तिनै अक्षर जोडेर मनले कविता बनायो!

राखेर हात छातीमा आज यो बोली बोल्दछ
गोलीले भन्दा भरपर्दो काम कलमले चल्दछ।
मुस्किलले थमाई जोडेको सन्धि गोलीले तोड्दछ
कलमले गरे त्यै कामलाई सम्बन्ध जोड्दछ ।।

बलको भन्दा कलमको तागत तेजिलो देखिन्छ
मनको कुरा कागजमा ल्याई भन्न नि सकिन्छ।
पहिलेको जस्तो शासन होइन स्वतन्त्र चाहिन्छ
शान्तिको लागि बन्दुक होइन कलम नै चाहिन्छ।।

सामाजिक विकाश देशको माया कलमले जोड्दछ।
गरिबी घेरा सामाजिक भेदभाव यसैले तोड्दछ।।
कलम बोकी विद्यालय जान त्यो बाटो देखाउँछ
शिक्षाको ज्योति प्रकाश पारी सुन्दर नाम लेखाऊँ छ।।

खान र लाउन झुपडी बास यतिले पुग्दैन
सुन्दर जीवन यापन गर्न कलम लुक्दैन।
यो कलम वीर शिक्षा हो शिर अन्धकार हटाउने
जगाउँछ सारा जगतलाई विश्वलाई चिनाउने।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *