कलामा नारीदेहका नग्न चित्रमात्र किन

भक्त घिमिरे
अमेरिका

चित्रकला कलाक्षेत्रको महत्त्वपूर्ण तथा एउटा विराट शाखा हो । चित्रकलामा प्रदर्शित शिल्पले मानिसलाई जगत र मानवीय समवेदनाको अन्तरंग परिदर्शन गराउँदछ, अनुभूति र आभास दिलाउँदछ । यद्यपि, कहिलेकाहीँ यही शिल्प विश्वव्यापी रूपमा साम्प्रदायिक कलहको बिऊ पनि हुने गर्दछ । चित्रकलाभित्रकै बेलाबखत चर्चामा आउने विषय न्यूड पेन्टिङ, अर्थात मानवदेहका नग्न वा अर्ध-नग्न चित्र बनाउने कामले यस्ता सामप्रदायिक वितण्डाहरू जन्माउने गरेको छ ।

खास्सै कुरा के भने, केही दशकअघि, एकजना प्रशिद्ध भारतीय चित्रकार एमएफ (मकबुल फिदा) हुसेनले हिन्दूहरूकी विद्याकी देवी सरस्वतीलाई रेखाचित्रको माध्यमबाट निर्वस्त्र चित्रमा उतारेपछि हिन्दूहरूको भीड़ले आफ्नो धर्म र संस्कृतिमाथि एक मुसलमानले खिल्ली उड़ाएको ठान्दै आक्रोशको ज्वाला फुकेको थियो । एउटा ख्याल गर्नुपर्ने कुरा के छ भने यदि सरस्वतीले नै ब्रह्माण्डमा विद्याको सरोवर प्रदान गरेकी हुन् भने कलाकार हुसेनलाई त्यो चित्र बनाउने क्षमता पनि तिनै सरस्वतीको देन हो । कथित हिन्दूहरूले त्यो कुराप्रति रत्तिभर सरोकार नराखी हिंसाको ज्वाला दन्काइदिए । साम्प्रदायिक हिंसाको त्यो ज्वालामुखी शान्त गराउन विश्वभरिका कलाकारहरूलाई हम्मे हम्मे नै भयो र अन्ततः कलाकार हुसेनले ज्यानरक्षाका निम्ति देश त्याग्नु नै पर्‍यो । धेरै दिन बितेकै छैन, परदेशीकै रूपमा बेलायतमा उनको निधन भएको । उनले सुरक्षाका लागि भारत छोड़ेपछि मध्यपूर्वको कतारले उनलाई सम्मानस्वरूप नागरिकता प्रदान गरेको थियो । यद्यपि उनी बेलायतको लण्डनमा नियमित बस्दै आएका थिए ! जीवनको अन्त्यकालसम्म आफ्नो देश, भारत फिरेर मर्ने अन्तिम मनसुवा रहेको उनले विभिन्न माध्मयबाट सार्वजनिक गरिरहेकै थिए । दिल्लीको सरकारले पनि देशका कलाकारहरूको आग्रहलाई स्वीकारेर हुसेनलाई देश फर्काउने प्रयत्न नगरेको होइन । तर, अन्ध-धार्मिक परम्पराका मूड-अनुयायीहरूले उनको जीवनमाथि खतरा उत्पन्न गराइदिएपछि सरकारले मात्र केही गर्न सकेन ।

होइन, मानिसका मस्तिष्कमा अर्को संस्कृति वा धर्म-सम्प्रदायको मानिस भन्नेबित्तिकै केको विष घोलिन्छ हँ ! त्यही चित्र हुसेनले नबनाएर एउटा हिन्दू पुत्रले बनाएको भए सहजै स्वीकार्य हुन्थ्यो शायद, सबै लागेर सकारात्मक व्याख्या गर्ने थिए !

हामी कुरा गर्दैछौं मानवदेहका नग्न चित्रहरूबारे । त्यसो त विश्वमा चित्रकलाको इतिहास र वर्तमानलाई बुझ्दा नारी देहका नग्न चित्रहरू प्रशस्तै देखिने गरेका छन् । पश्चिमी देशका पिकासो, एडगर, पियरे, अगष्टीजस्ता विश्वविख्यात चित्रकारहरूले क्यानभास र कागजमा नारीलाई वस्त्रविहीन रूपमा सजाएर चर्चा तथा लोकप्रियताको शिखरमात्र टेकेनन्, मूल्यको हिसाबले पनि ती चित्र बहुमूल्य नै साबित भए ।

अब अझ केन्द्रित भई नेपाली कला वा चित्रकारिताको कुरातिर लागौं । नेपाली चित्रकला क्षेत्रमा पनि नारी सौन्दर्यका अन्तरनिहित भावनाहरूलाई अभिव्यक्त गर्दै प्रकृतिप्रदत्त मानव शरीरलाई निर्वस्त्र वा प्रतिकात्मक रूपमा क्यानभासमा सजाउन पछि परेका छैनन् नेपाली कलाकारहरू । नेपाललगायत केही एशियाली तथा मध्यपूर्वका इस्लामिक कट्टरपन्थी देशहरूबाहेक चित्रकला विषयमा अध्ययन-अध्यापन गराइने विश्वविद्यालयहरूमा न्यूड पेन्टिङलाई अत्यन्त महत्त्वका साथ प्रशिक्षण गराइन्छ । तर नेपालीहरूको सिर्जनाको मूल नेपालमा भने न्यूड पेन्टिङ वर्जित छ । भनिन्छ, न्यूड पेन्टिङको अध्यापन गराइने मुलुकहरूमा वास्तविक मोडललाई नै निर्वस्त्र अगाड़ि राखेर नग्न चित्रहरू बनाउन सिकाइन्छ । तर, नेपालमा चित्रकलाको एउटैमात्र अध्यापन केन्द्र, काठमाडौंको ललितकला क्याम्पसमा समेत न्यूड पेन्टिङको अनुमति छैन । यद्यपि, प्राचीन मूर्तिकला र देव-देवीका प्रतिमाहरूमा यौनांग प्रदर्शन गर्ने र नारी-पुरुषका कामोत्तेजक तस्वीरहरू काठमाडौंमा गनेर नसकिने भेटिन्छन् । काठमाडौंमा प्रत्येक दिन देव-देवीका स्थानहरूमा नग्न चित्रको परिदर्शन गरिरहन्छन् दर्शनाभिलाषीहरूले ।

कलाकारहरूको भनाइ-अनुसार चित्रकलामा न्यूड पेन्टिङलाई अत्यन्तै महत्त्व दिइन्छ तर, नेपालमा त्यसको अध्यापन गराउन कानुनी अड़्चन तथा प्रशासनिक कठिनाइले क्याम्पसको पाठ्यक्रममा समावेश गर्न नसकिएको एकताका संयोगवश भएको भेटघाटमा ललितकला क्याम्पस प्रमुख कृष्ण मानन्धरले यस पंक्तिकारलाई बताएका थिए ।

यो त भयो देखिएको र सुन्नमा आएको कुरा ! यथार्थमा भने, कसैले बाधा नगर्ने र अड़्चन नढाल्ने परिस्थिति हेरेर काम गर्ने नेपाली कलाकारका शिल्पी हातहरूलाई कानून र प्रशासनले छेक्न सकेका छैनन् नेपालमा पनि ।

आफ्नो जीवनकालको सम्पूर्ण हिस्सा नै कलाकारितामा बिताउन लागेका नेपाली कलाकार कृष्णगोपाल रञ्जितको भनाइमा एउटा कलाकारले मानिसको शरीरलाई कहिल्यै कपड़ाले ढाकेको देख्दैन । किनकि कलाकारले पहिरन वा आवरणलाई नभई वास्तविक प्राकृतिक सौन्दर्यलाई बढ़ी महत्त्व दिन्छ । कलाकारिताको सिद्धान्तमा मानिस जन्मदा नांगै थियो, ऊ कपड़ाभित्र पनि नांगै छ र मृत्युमा पनि ऊ नांगो भएरै जान्छ भने अब कलाकारको लागि मानिसको चित्रमा कपड़ा ओड़ाइरहनु जरुरी नै छैन । ‘‘सफल कलाकार तब भइन्छ जब मानिसका अन्तरनिहित भावहरूलाई वास्तविक तथा निर्वाध कलामार्फत प्रतिविम्बित गर्न सकिन्छ’’,एक नेपाली कलाकारको भनाइ हो यो । मानवीय अन्तरभावहरूलाई चित्रमा सशक्त बनाउन निर्वस्त्र चित्रले सहजता प्रदान गर्दछ । त्यसैले चित्रकारिताको क्षेत्रमा न्यूड पेन्टिङ महत्त्वपूर्ण पक्ष हो-उनको भनाइमा । ती कलाकार उमेरले निकै पाको भए पनि कहिलेकाहीँ मनभित्रैदेखि हर्ष उर्लेर आउँदा न्यूड पेन्टिङ गर्ने गरेको बताउँछन् ।

नेपालका अधिकांश कलाकारहरू न्यूड पेन्टिङ गरे पनि कतिपय सामाजिक कारणहरूले आफ्नो सृजना लुकाउनुपर्ने बाध्यता रहेको बताउँछन् । कतिपयले घर-परिवारदेखि लुकेर अनि जोगिएर न्यूड पेन्टिङ गर्ने गरेका छन् । नेपाली न्यूड पेन्टिङका शिल्पीहरू अश्विना, रञ्जिता, रागिनी उपाध्याय, यादवचन्द्र भुर्तेल, कृष्णगोपाल, श्यामलाल, शशीकलालगायत नामले चिनिन्छन् । हालचाल कतिजना सकृय छन्, यस पंक्तिकारलाई यकिन संख्या थाहा छैन । यद्यपि, वर्जित तथा सामाजिक रूपमा आलोचित भएकाले उनीहरूको कलाकारिताको आकर्षण केवल सौखमा सीमित हुँदै गएको छ । नेपाली समाज र त्यही समाजको प्रतिनिधित्व गर्ने तत्कालीन नेपाल सरकारको भनाइमा न्यूड पेन्टिङले कमोत्तेजक प्रदर्शन गरेर समाजलाई विकृत बनाउँछ । युवा-पिढ़ीमा यौनपिपासु प्रकृति बढ़ेर जान्छ । तथापि, न्यूड पेन्टिङमा कलाकारहरूलाई बन्देज लगाएर पनि त्यस्ता घटनाहरूमा कमी आएको त बुझिँदैन ! पाकिस्तान, अफ्गानिस्तान, साउदी अरब, इरानजस्ता- नारीलाई कालो कपड़ाभित्रै लपेटेर राख्ने कट्टरपन्थी देशहरूमा पनि यौनजन्य अपराधको निर्मूलन हुन सकेको छैन । अझ अधिकतम अपराधका कथाहरू तिनै देशबाट आउने गरेका छन् । त्यसो भए के त…कलाकारिताप्रति अब नयाँ विचार गर्नेबेला भएन त ?
वास्तवमा थुनिएर अनि छेकिएर रहेका मानिसका अन्तरनिहित भावनाहरू आकस्मिक रूपमा बाहिर आउँदा समाजमा अझ ठूलो विस्फोट हुनसक्छ । यसर्थ यौन तथा यौनजन्य विषयहरूलाई नेपाली समाजसामु जगजाहेर गरी नयाँ पुस्तालाई नयाँ दिशा दिनू जरुरी भएको छ । यौनसम्बन्धी शिक्षाको अभावमा नेपाली नारीहरू विभिन्न दृष्टिकोणबाट पीड़ित हुँदै आएका छन् । भौगोलिक ढाँचा र जनसंख्याको अनुपातले अन्य धेरै देशको तुलनामा नेपालबाटै सर्वाधिक नारीहरू वेश्यालयहरूमा बेचिएका छन् । यस बर्बरताको सबै दोष न्यूड पेन्टिङमाथिको बन्देजलाई दिन नसकिए पनि यौन विज्ञानतर्फको जानकारीको कमीले नेपाली समाजलाई पिरोलेको छ, जसलाई न्यूड पेन्टिङले केही हदसम्म भए पनि सहज बनाउने थियो ।

हुन त यौनांग र कामक्रीड़ासमेत दर्शाइएका पौराणिक ग्रन्थहरूलाई नेपाली समाजले सहजतापूर्वक नै लिएको छ । नुहाइरहेका गोपीनीहरूको वस्त्र कृष्णले लुकाइदिएको कुरा यो समाजमा अपच छैन । सूर्यले कुन्ती र परासर ऋषिले सत्यदेवीको कुमारित्त्व लुटेको घटना, विष्णुले छल गरी वृन्दामाथि बलात्कारको प्रयास गरेको काण्ड अनि शिवले उत्तेजक लिंगप्रदर्शन गरी ऋषिपत्नीहरूलाई लोभ्याएको कुरा सबै यो समाजमा पाच्य छन् । त्यतिमात्र होइन, शिवजीको लिंग र पार्वतीको योनीको दैनिक पूजा-आराधना पनि यही समाजभित्र हुनेगरेको छ । एउटी द्रौपदीलाई पाँच पाण्डवले भोगेको कुरालाई यो समाजको प्रौढ़ जमातले पनि सजिलै रूपमा लिएको छ । त्यही समाजभित्र कलाकारिताको शिल्प विकासमा रंग थप्ने न्यूड पेन्टिङ वर्जित किन ?

यद्यपि, न्यूड पेन्टिङले पनि सबै भलो गरेको भने छैन । निश्चितरूपमा एउटा दृष्टिकोणमा यसले पनि बाटो बिराएको छ । न्यूड पेन्टिङको नामबाट कलाकारहरू नारीलाई मात्र नंग्याएरहेका छन् । पुरुष कलाकार नारीकै नग्न चित्र बनाउँछन्, अनि नारी कलाकार पनि ! पिकासो, एडगर, हुसेन, रञ्जितकार तथा मानन्धरहरूले पनि यसै गरे । के, कलाकारिता (चित्रकारिता) क्षेत्रबाट उत्पादित शिल्प र सिर्जनामा रमाउने अनि भावनात्मक उपभोग गर्ने पुरुषलाई मात्र छूट छ त ? अन्ततः मानवीय समवेदनाको समूल अभिव्यक्ति र अन्तरनिहित भावावेगहरूको खुल्ला प्रदर्शनको माध्यम-न्यूड पेन्टिङले पनि नारी-पुरुषबीच विभेदलाई नै टेवा दिन पुगेको छ । कलाको नाममा न्यूड पेन्टिङले लैंगिक-सामाजिक विभेदको पराकाष्ठालाई नै टेवा दिने काम नगरोस्, दुवैको स्पन्दन एउटै हो । दुवैका चाहना र आवश्यकता बराबरी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *