कहाँ बाँच्छ मेरो कविता ?
के.सी. सान्दाइ
अष्ट्रेलिया
जब म स्वच्छ हृदयले कविता लेख्न थाल्छु
अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु,
फेरि शब्दको खोजीमा लामो स्वास तान्छु,
त्येतिखेरै ……….!
त्येतिखेरै मेरो कलम अचानक
बममा परिणत भै पड़्कन पुग्छ !
पोखिएको मसीमा ह्वास्स बारुद गनाउँछ,
प्रत्येक शब्दमा फुटेको चोइटा गाडिन्छ
अनि मेरो कविता लंगडो बन्न पुग्छ,
अनि कहाँ बाँच्छ मेरो कविता ?
जसो तसो मलमपट्टि गरेर
मेरो कविता जिउँताउन खोज्छु,
पड्किएका कलमका टुक्रा जम्मा गरेर,
एउटा सिंगो कलम बनाउन खोज्छु,
त्येसैबेला ……ठीक उसैबेला………..!
एउटा आकाशवाणी सुन्छु-
धन्सिरी र जलढकामा रगत बग्दैछ !
हिमाल र तराइमा
निर्दोष मृत्यु ढलेका छन् !
तिम्रा चेलीहरु बलात्कृत छन् !
तिम्री आमाको सिउँदो पुछिएको छ !
अनि कहाँ बाँच्छ मेरो कविता ?
जुरुक्क उठेर सजल नेत्रले यताउति हेर्छु
अनि शिर झुकाई –‘बन्दे मातरम’ भन्छु ,
मानस खोलाको एक अन्जुली पानि चढ़ाई
फेरि आफ्नु विषयतिर प्रवेश गर्छु,
ती हराएका, छरिएका र पोखिएका
शब्द, भाव, शैली र विषयवस्तु खोज्न थाल्छु,
तत्काल ………….!
तत्काल भयावह प्रतिविम्बको
झलक सामु आउँछ,
तिनै वीर शहीदहरुको अमर गाथा,
अस्तित्व लुटिएकी चेलीको
कारुणिक आवाज,
सिउँदो पुछिएकी आमाको
वेदनात्मक चिच्याहट,
अनि कहाँ बाँच्छ मेरो कविता ?
पुनः पीडाले रुँदै कराउँदै मुर्छा पर्छु,
अनि आमाका चरणमा प्रणाम गर्छु,
दिलका अनेक फूल गुच्छा चढ़ाई,
मम्तामयी आमासँग प्रार्थना गर्छु –
‘आमा तिम्रा वीर सपुतहरुलाई
बैरी सामु लड्ने अमर शक्ति देऊ,
सदैव तिम्रा शिरमाथि
स्वतन्त्रताको झन्डा फहराउन सकौ’-
भन्दा भन्दै ………………….!
भन्दा भन्दै आमाको चित्कार सुन्छु,
विकराल ज्वालामुखी विस्फोटन हुन्छ,
प्रत्येक शब्द गोला-बारुद बन्छन्,
अनि कहाँ बाँच्छ मेरो कविता ?
के.सी. सान्दाइ जी
“पोखिएको मसीमा ह्वास्स बारुद गनाउँछ,
प्रत्येक शब्दमा फुटेको चोइटा गाडिन्छ”
कबिता मात्र होइन तर शब्द को चएन अति अकार्शक.
लक्ष्मी प्रसाद ढकाल
आम्सटरडाम
के.सी. सान्दाइजी
“पोखिएको मसीमा ह्वास्स बारुद गनाउँछ,
प्रत्येक शब्दमा फुटेको चोइटा गाडिन्छ”
कबिता मात्र होइन तर शब्दको चएन अति अकार्शक.
लक्ष्मी प्रसाद ढकाल
आम्सटरडाम