कहिल्यै नपग्लियोस् श्वेतकमलको यो गुच्छा
रमेश गौतम
नर्वे
जब
तिम्रो मुस्कान
कोसौँ दूरी पार गरेर
आइपुग्छ मेरो हृदयसम्म
अथाह तेज बोकेर फैलँदै गरेका
सूर्यका तिलस्मी किरणहरू
जगमगाउँछन् मेरो अनुहारमा !
घाम डुब्दै गरेको
लालीमय पश्चिमी क्षितिजसँग
मोहित हुँदै
म पर्खिरहेको छु
वर्षौँदेखि
एक गुच्छा श्वेतकमल बोकेर
मेरो सेताम्मे संसारमा
तिमीलाई स्वागत गर्न !
म चाहन्छु
श्वेतकमलको यो गुच्छा
अब उप्रान्त
कहिल्यै नपग्लियोस् !