काका, तिमी कहाँ छौ

तिलक राई 

हाम्रो धन-सम्पत्ति सबै लुटिए
बस्ने घर खोसिए
टेक्ने जमिन हडपिए
सकुनीहरूकै इशरामा
शक्तिशाली कुरूसभामा
दुर्योधन र दुस्साशनहरूबाट बलात्कृत भएर
सबै स्त्रीहरू/महिलाहरू अपमानित हुँदा
हजारौँ लाचार युधिष्ठिरहरू
जबरजस्ती/बलजफती निर्वासित भए ।

षड्यन्त्रै षड्यन्त्रबिच
लाक्षगृहमा शरण लिन
बाध्य पारिए पनि
गृह जल्न अगावै
सुरुङ मार्ग निर्माण गर्ने
कुशल खनिकको प्रतीक्षामा
बस्दा बस्दै आज
विदेशी मदिराले लट्ठ पुरोचन
ह्वार्र-ह्वार्र आगो ओकल्दै
आगो सल्काउँदै घुमिरहेको छ
दुनियाँ रमिते बनेको बेला
काका, तिमी कहाँ छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *