काठको खुकुरीसित गोबरको घिउ साट्ने ‘…….’ हरु

भक्त घिमिरे

 

◊“भूटान सरकारसित १० हजारमात्र सेना छन् । तर, तपाइँहरुसित (हातले संकेत गर्दै) यत्रा यत्रा तिघ्रा भएका ५० हजार जवानहरु छन् । के रमिता हेरिरहनुहुन्छ ?”

नेपालका वर्तमान प्रधानमन्त्री खड्ग ओली न्यूयोर्कमा छन् । भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे पनि न्यूयोर्कमै छन् । यी दुवैजना संयुक्त राष्ट्रसंघको वैठकमा भाग लिन त्यहाँ जुटेका हुन् । उनीहरुसँगै भूटानका विदेशमन्त्री दिननाथ ढुंगेल र नेपाली विदेशमन्त्री डा. आरजु देउवा पनि उपस्थित छन् । अन्य धेरै सरोकारका साथमा मूलरूपले  भविष्यको शान्ति-सुरक्षाविषयक शिखर सम्मेलनमा भाग लिन उनीहरु त्यहाँ भेला भएका हुन् । यो भेलामा उनीहरुले साढे तीनदशकदेखि विद्यमान भूटानी शरणार्थी समस्याको सवालमा पनि केही कुरा गर्लान् कि, धेरैले आशा राखेका छन् । गर्लान् नगर्लान् उनीहरु नै जानून् ।

वायाँदेखि क्रमशः दिननाथ ढुंगेल, भूटानी विदेशमन्त्री, छिरिङ तोब्गे, भूटानी प्रधानमन्त्री, केपी शर्मा ओली, नेपाली प्रधानमन्त्री, डाआर्जु देउवा, नेपाली विदेशमन्त्री !

यो संयोगमा मलाई भने लामो विगतको स्मरण भइरहेको छ । सन् १९९४ ताका मनमोहन अधिकारी नेतृत्वको नौ महिने एमाले-सरकारमा ओली गृहमन्त्री थिए । अधिकारी नेतृत्वको सरकार ढलेपछि ओली एकदिन दमकस्थित आफ्नो निवासमा आएका थिए । ऐन मौकामा एक मध्यराति १५/२० जना भूटानी शरणार्थीहरु सल्लाह-परामर्शका लागि उनलाई भेट्न उनकै निवासमा पुगे । भेटघाटको समय मध्यरातमा किन तोकियो भने उनको फुर्सदिलो समय नै त्योबेला थियो । कुराकानीको सिलसिलामा अन्य धेरै विषयप्रसंगहरु चले । तर, यहाँनेर एउटै कुरो मात्र उल्लेख गर्नु मुनासिब ठानें । लामो कुराकानीपछि सब चुपचाप थिए । सबैको मौनतापछि उनले भने,“भूटान सरकारसित १० हजारमात्र सेना छन् । तर, तपाइँहरुसित (हातले संकेत गर्दै) यत्रा यत्रा तिघ्रा भएका ५० हजार जवानहरु छन् । के रमिता हेरिरहनुहुन्छ ?” उनको यो भनाइको आशय प्रष्टै थियो । तर, कसैले केही प्रतिक्रिया गरेन । भेट्न आएका आगन्तुकहरु सबै उठेर हिँडे । उहिलेदेखि अहिलेसम्म ओलीको त्यो आशयबारे कतै चर्चा भएको छैन ।

अब अर्को प्रसंग उठाउँ । हाल ओली नेतृत्वको सरकारमा साझेदार नेपाली कंग्रेसका विनोदकुमार चौधरी भर्खरै भूटानका एकजना पत्रकारले लिएको अन्तरवार्तामा मानवताप्रेम, सद्भावना र समग्र उन्नतिको दिशामा भूटानका राजाले विश्वमै चमत्कारिता देखाएको बखान गरिरहेका थिए । भूटानको सरकार विकासप्रेमी, कल्याणकारी फरिश्ता भएको र वरिपरिका छिमेकी राष्ट्रहरुलाई उदाहरणलायक बनिरहेको उनको कथन थियो । केको लालचामा उनले त्यो कुरा गरे-कसैलाई थाहा छैन । उनकै दलका नेता शेरबहादुर देउवा र चक्रप्रसाद बाँस्तोलाले भूटानसित अतिशयोक्ति सम्झौता गरेर शरणार्थी मुद्दालाई गिजोलेको तथ्य उनले अध्ययन नै गरेका छैनन् शायद ! त्यसो त देउवा र बाँस्तोलाले थिम्पूबाट असरफी थापेर गरेको लाभदायक प्रगतिमा चौधरी लोभिएका पनि हुनसक्छन् । त्यतिमात्र कहाँ हो र !  गिरिजाप्रसाद कोइराला स्वयंले ‘चुनावी खर्च’ को रूपमा थिम्पूबाट ब्रिफकेसका उपहार थाप्ने गरेका प्रसंगहरु पनि छँदैछन् । यी सबै प्रश्नहरु संगठित रूपमा सोधिने छन्-सोधिनु पर्छ ।

चौधरीले भूटानका राजा र सरकारलाई प्रशंसाको धूरी चढाइरहेका बेला भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेचाहिं ‘ग्लोबल माइग्रेशन’ को कारण भूटान रित्तो हुनलागेको बताउँदै युगल जोडीहरुलाई दुइभन्दा बढी बच्चा जन्माउन आह्वान गरिरहेका थिए । अहिले पनि भूटानको त्यो गति कायमै छ । उनको आशयमा सन् १९९० को नागरिक उच्छेदन पनि ‘ग्लोबल माइग्रेशन’ कै एउटा योजनामा चलाइएको थियो कि? कसैले सोध्न भ्याएको छैन शायद । यो प्रश्न सोधिने छ !

अझै अर्को प्रसंगः एउटा सद्भावना भ्रमणको नाममा भूटान पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल थिम्पू पुगेपछि भनेका थिए-“खास कुरा त मैले यहाँ आएपछि पो बुझें !” उनले बुझेको खास कुरा के हो, कहिल्यै सार्वजनिक गरेका छैनन् । नेपाल जीवित रहेसम्म कुनै दिन यो प्रश्नको जवाफ उनले दिनुपर्नेछ ।

अन्तिम प्रसंगः सन् १९८९ को नोभेम्बरमा टेकनाथ रिजाललाई शरणास्थलबाट अपहरण गराएर थिम्पू दरवारमा जिम्मा बुझाउँदा नेपाल देश र आम नेपाली जनतालाई के नाफा थियो? भन्ने प्रसंगमा छलफल भएकै छैन । सन् २००१ मा एउटा अवसर फेला परेको बेला पञ्चायतकालीन विदेशमन्त्री शैलेन्द्रकुमार उपाध्याय र बहुदलीय व्यवस्थाका नेता, राजदूत, विदेशमन्त्री चक्रप्रसाद बाँस्तोलालाई संयुक्तरूपमा मैले यो प्रश्न सोधेको थिएँ । यद्यपि, उनीहरुले त्योबेला सन्तोषजनक जवाफ दिन भ्याएनन् । केही महिना अघि सामाजिक सञ्जालमा पञ्चायतकालका बौद्धिक हस्ति, राजा महेन्द्रदेखि विरेन्द्रसम्मका विश्वासपात्र, रमेशनाथ पाण्डेसित पनि यसबारे  चर्चा भएको थियो । उनले त्योबेला ‘आफू सरकारमा नभएको’ जवाफ दिएर टाटो मारेका छन् । अझै पनि यी तमाम विषयमा जनस्तरका छलफल र बुझाइको सामञ्जस्य कायम गर्नु आवश्यक छ ।

शेरबहादुर देउवा र बाँस्तोलाको नेतृत्वमा नेपालले भूटानबाट लखेटिएका गोठ-खेत गरीखाने साधारण नागरिकहरुलाई ‘अन्तरराष्ट्रिय आतङ्कवादी’ बनाइदिएका छन् । कुरा यतिसम्म भएको छ कि भूटानबाट लखेटिएर खुदुनाबारी शिविरमा बस्ने आमा-बाबुबाट जन्मिएका ४/५ वर्षका बालबालिका पनि ‘आतङ्कवादी’ को सूचीमा परेका छन् । सोही सम्झौतामा भूटानी शरणार्थी शिविरभित्र भारत-नेपालका सडकमानवहरुको पनि ठूलै संख्या भएको भूटानको दाबीलाई नेपालले सिफारिश गरिदिएको थियो । यो सवाल उठाउँदै २००१ मै बाँस्तोलासमक्ष प्रश्न राखिएको थियो-‘तपाइँहरुले नेपालका जनतालाई भूटानी शरणार्थी बनाउने चाहना राख्नुभएको हो ?’ तर, त्यसको उत्तर पाउन सन् २०२३ को मई महिनासम्म पर्खिनुपऱ्यो । नेपालका नागरिकहरुलाई भूटानी शरणार्थीका रूपमा दर्ता गराउने षड्यन्त्र सार्वजनिक भएपछि भूटान सरकारसँग सवाल-जवाफ गरिरहेका टेकनाथ रिजाल स्वयं कथाले माग गरेअनुरूप नेपाल सरकारसित जुझ्न थाले र अन्त्यमा नेपालका सरकारी मान्छेहरु नै लागेर उनलाई समेत फँसाइदिए ! सो मुद्दाको निकासा अझै पनि भएको छैन । यो काण्डमा निवर्तमान र वर्तमान प्रधानमन्त्री, विदेशमन्त्रीलगायता उनीहरुका दलीय सदस्यहरुसमेत धेरै मानिसहरुको संलग्नता रहेको आशंका सर्वत्र व्यापक बनिरहेको छ ।

अहिले न्यूयोर्कमा भेला भएकाहरु सिद्धान्ततः एउटा नागरिक लखेट्ने प्रधानमन्त्री हुन् भने अर्को आफ्नै नागरिकलाई अर्को देशका शरणार्थी बनाउने प्रधानमन्त्री हुन् । अर्थात् बुढापाकाले भन्ने कथाका पात्र- काठको खुकुरी र गोबरको घिउ साट्ने छट्टुहरु झैं हुन् ।  यिनीहरुलाई भेट्न न्यूयोर्कतिर पुग्न नसकेकोमा धेरै इष्टमित्रले गुनासो गरिरहेका थिए । हामी न्यूयोर्क पुग्न परिबन्दले सकिएन-ठिकै छ । यस्ता ‘तीन गँजडीको चन्द्रलोक यात्रा’ मा हिँडिरहेकाहरुबाट संयुक्तराष्ट्रसंघ जस्तो सर्वोच्च संस्थाले के योगदान पाउने हो-यूरोपतिर बस्ने इष्ट-मित्रहरुले जेनेभासम्म पुगेर सोध्नुहोला ! नेपाल गएर फोटो खिचाउने साथीहरुले पनि सके यी सबै नत्र एउटै मात्र भएपनि माथिका प्रश्न सोधेर जवाफ लिई फर्किनुहुन सविनय निवेदन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *