काव्य पान

भानु ढुंगाना
क्यानाडा 

शार्दुलबिक्रिडित छन्द

मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै।
लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।।

होरा गौरब पालुवा विपिनका बैशाखका पातमा।
सारा जन्तुसखा कथा र कविता लेखौँ कला गाथमा।।

राखौँ चिन्तन लौ कथा र कविता साहित्य हो जीवन
सारा जीवनका छ उत्तरमहाँ लालीत्य हो चिन्तन।

गोराका भरिया-बनेर करिया आफै हरायौँ भने
के भो जीवनको अनन्त महिमा उल्टा करायौँ भने।

माटो मात्र छुटो,छुटेन मनको बाटो अगाडी भने
भेटौँला सपना सुरम्य पथमा आशार्थ यात्री बने।

चंगा चाल छँदै उमेर रहँदै हेर्दै नयाँ आँकुरा
लेखौँ लौ कविता कला कलमले जोडा मिलून् पाखुरा।।

सैयौँ थाक कला अनेक रसकाबोकी अगाडी भयौँ
लेखेनौँ कविता कला कलमले भन्दा पराई रयौँ।

जागौँ लौ रचना कला सरसमा आशा जगाई यहाँ
सारा जीवनका अनेक पथमा उत्सर्ग बन्छन् जहाँ।।

ए साथीहरु हो नयाँ किरणका गर्दै कला सिर्जना
बोकौँ जीवनमा कला सरसका भर्दै नयाँ कल्पना

बा आमा गुरुले दया गरि अघी आऊन् अगाडी भनी
शिक्षा ज्ञान मिलो कला बदनमा जागौँ अगाडी बनी।।

Don't have a Facebook account? Please, use the form below with other options!