किन देखियो होला यस्तो सपना ?

कवि
कवि

रमेश गौतम
नर्वे

यस पालि त
दसैँ-तिहार एकै चोटि आएछन् क्यार………….

प…र एक हुल मान्छेहरू
चिउरा कुट्न लाग्दै थिए
छेवैमा शोभा दिदी
सेल पकाउन लाग्दै थिइन् |
रोमान्चित हुँदै छेवैमा म
माला गाँस्नको लागि
धागो मिलाउँदै थिएँ |

निक्कै सिपालु थिइन् शोभा दिदी
सेल पकाउने कलामा !
निक्कै मीठा हुन्थे ती सेलहरू-
धेरैवटा खाऊँ जस्तो
धेरै राम्रा हुन्थे ती सेलहरू-
हेरिरहुँ जस्तो !

तर आज
शोभा दिदीले सेल पकाउन मुछेको पीठो
लिटो जस्तो थियो
घुमिरहेका थिएनन् सेलहरू
अनि शोभा दिदी
निन्याउरो अनुहार लगाएर भन्दै थिइन्-
सेल बनाउन पट्टक्कै जानिन मैंले आज !
चुडिँदैथ्यो मेरो हातको धागो
प्रत्येक चोटि
मेरो प्रयासलाई विफल बनाउँदै
अहँ मैंले माला गाँस्न सक्दैसकिनँ |

खुल्ला आकाशमुनि थियौँ हामी
पिङ थापेको देखेर हर्षित थिएनन् बच्चाहरू
मुस्कुराइरहेका थिएनन् एक्ला फूलहरु
त्यहाँ भ्रमराहरु थिएनन्
त्यहाँ पुतलीहरू थिएनन्
फगत एक्ला थिए, स्तब्ध थिए फूलहरु
नजिकैको छहराको छङछङाहटमा
अहँ थिएन कुनै कोमल धुन |

मैंले सुनेँ
मधुरो बोलीमा भानिराथे प्रोफेसर-
मैंले त केही नगरौँ भनेको
यसले आफ्नो जिद्दी छोड्दै छोडेन |
सम्झन्छु-
यिनै प्रोफेसरले हो मलाईं
यस्ता कुराको पक्षपाती बनाएको !

मैंले
प…र चिउरा कुट्दै गरेका मान्छेलाई देखाएर भनेँ-
तिनीहरू चिउरा कुटिरहेका छन् |
त्यो तिम्रो भ्रम हो
तिनीहरू घोडाको थुतुनोलाई
ढिकीको मुसलमा रूपान्तरण गर्दै
अनैतिक रूपमा
तिम्रो खिल्ली उडाइराछन्
प्रोफेसरले आहत स्वरमा भने |

फेरि ओरिपरि हेरेँ-
अहँ पाकेन कुनै सेल यहाँ
उनिएन एउटा माला पनि
नकुटियो चिउरा
न प्रफुल्लित भए बच्चाहरू
न मुस्कुराए फूलहरु
न गुञ्जियो भ्रमरगुञ्जन
न सुनियो छहराको मधुर धुन !

किन देखियो होला यस्तो सपना ?

२२ जनवरी २०१२
स्टाभाङ्गर, नर्वे

Leave a Reply

Your email address will not be published. Required fields are marked *