कुण्ठित सपनाहरू
हरी उप्रेती
ओहायो, अमेरिका
जब जब मेरा आँखहरु खुल्थे
आकाशतिर टोहोलाउने गर्दथेँ
अनि असीमित सपनाहरू बुन्दथेँ
एक दिन त्योआकाशलाई चुमौँ
बादलपारिको दुनियाँमा छुट्टै संसार बनाऊँ
धर्तीको आश्रय लिएर टुकु टुकु हिडौं
अरू जस्तै म पनि असीमित सपना बोकेर
बादलमाथि अनि आकाशमुनि
चरीलेझैँ पखेटा फिँजाएर
भुरभुर उडौँ जस्तै लाग्थ्यो
कविले झैँ कलम बोकी
खाली पन्नामा रंगिन कविता कोरौँ जस्तो
डक्टरले झैँ मुटुको शल्यक्रिया गरौँ जस्तो
पर्वतारोहीलेझैँ सगरमाथा चढौँ जस्तो
चलचित्रमा खलनायकलेझैँ
एक पछि अर्को मान्छे पिटौँ जस्तो
कोइलीको आवाज जस्तै उसको कण्ठमा
मुर्चुङ्गा र बिनायोको धुन बनौँ जस्तो
तर तर आज आकाशभन्दा धेरै तल छु
अनि धर्तीभन्दा अलिकति माथि
त्यही आकाशले इसारा गर्दै भन्छ
तिम्रा हजार सपना म पुरा गर्छु
तर — आज धर्ती बिरानो भएको छ
हरियाली वन उजाडिएका छन्
आफन्तहरू टाढिएका छन्
नजिकको साथी दुश्मन भएको छ
मानव प्रवृत्ति नपुंसक बन्दै गएको छ
सायद यही विडम्बना हो मेरो
अनि ठुलो अभिसाप्
न त मैंले आकाशलाई छुन सकेँ
न धर्तीमा टेक्न नै
अनगिन्ती सपनाहरू चिच्याइरहेछन्
पल पल कुण्ठित हुँदैछन् ती सपनाहरू
खोलामा पानीबिना माछी छट्पटिए झैँ ।