केमिकल लोचा

तुम्बेहाङ् लिम्बु

जब दिमागमा
केमिकल इम्ब्यलेन्स
वा केमिकल लोचा हुन्छ
तब मान्छे
अस्वाभाविक बरबराउन थाल्छ
नभएको चीज देख्न थाल्छ
र स्वयंलाई
चमत्कारिक शक्ति प्राप्त भएको
भ्रममा पर्न थाल्छ।

वास्तवमा उसले
त्यस्तो केही देखेको हुँदैन
त्यस्तो केही सुनेको हुँदैन
त्यो एक विशुद्ध भ्रम
र भ्रम सिवाय केही हुँदैन
तर त्यो हेलुसिनेसन
यति तगडा हुन्छ कि
उसलाई
त्यो भ्रम जस्तो लाग्दैलाग्दैन।

यही भ्रमले ल्याउँछ
ऊ र अरू बीच पार्थक्य
यही अवस्थाले सिर्जाउँछ
मनमुटाब र सङ्घर्ष
अब मान्छे
सुल्टोलाई उल्टो र
उल्टोलाई सुल्टो देख्न थाल्छ
आफू सही, अरू गलत भन्न थाल्छ
ऊ जिद्दी हुन थाल्छ
एकोहोरे हुन थाल्छ
सबै सबै उसले भनेकै ठीक
भन्न थाल्छ
र ऊ
एकलकाँटे हुन थाल्छ।

जब यो
सामान्य व्यक्तिमा हुन्छ
यसको असर पनि सामान्य लाग्छ
तर जब
राजनीतिमा केमिकल लोचा हुन्छ
यसले देशै तहसनहस पार्छ
राष्ट्र नै भताभुङ्ग पार्छ
जनजीवनै अन्धकारमय बनाउँछ
यस्तो बेला
केमिकल लोचाले ग्रसित
त्यस्तो समूहको पछि लाग्ने कि
सही दिशा कुन हो
आफैँ निर्क्योल गर्ने?
यो अहम् प्रश्न बन्न पुग्छ
र यस घरी हामी
त्यही विभ्रमयुक्त मोडमा
दिग्भ्रमित अवस्थामा छौँ ।

अब आगे
कुन बाटो समाउने हो
त्यो तपाईँ/हाम्रै हातमा छ
तपाईँ/हामीमा
केमिकल लोचा छ कि छैन?
यही निर्णयले निर्धारण गर्नेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *