केही सम्झनाहरू : शिविरका
वि.पी शर्मा
नेदरल्याड्स
हो
म जहाँ उभिएको छु
एउटा भूगोलको सडकमाथि उभिएको छु
यस सडकमाथि
चलिरहेका मेरा लक्ष्यविहीन पाइलाहरू
को नि किन अनायासै रोकिन्छन्
सायद मैले केही सम्झिनु छ
बिच सडकमाथि हजारौँ मान्छेहरूको ओहोरदोहोर बिच
ठिङ्ग उभिएर एक क्षणका लागि
वर पर कहीँ
अतीतका गोरेटाहरूमा पुगिरहेको हुन्छु म
वनवासका परिस्थिति र वातावरणका लहरहरू
नदी झैँ, बगेर ‘म’सम्म आए जस्तो
नसम्झिने सम्झनाहरू पनि
सिरिरि बतास चलेको मौसममा
सल्लाका पातहरू झैँ
कहाँ हो कहाँ मेरा हृदयभित्र सुसाइरहे जस्तो
उच्छ्वास, थकाइहरू जीवनका कण-कणबाट
भोगिएका क्षणहरू
एउटा गह्रौँ छातीभित्र जीवन्त भएर
सँगसँगै सडकमाथि हिँडिरहेको जस्तो !
हो
एउटा आँधी आएको थियो
सुनामी आएको थियो हामीले हिँड्दै गरेका
सहर र गाउँका गल्लीहरूमा
प्रत्येक खोला,नदी-नालाबाट
आएका
सुनामीहरू, हुरीहरू आज मैले
घरका खोपा खोपामा बन्द गरेको छु
र त म यहाँ
वनवासका कुरा गर्दै छु
मनभरि रोपिएका मूर्त-अमूर्त अविस्मरणीय
यादहरूको कुरा गर्दै छु
मैले त्यहाँको शरणार्थी शिविरका गल्लीहरूमा
लटरम्म फुलेका र लत्रेका आँसुहरूका बालाहरू
देखेको छु
मैले बेलडाँगीदेखि पथरीसम्म
पथरीदेखि टिमाइ र खुदुनावारीसम्म
र पहाडका जङ्गलहरूमा बाटा खन्दै
उनीहरूले गुनगुनाइरहेका
देशविहीन गीतहरू पनि सुनेकै छु
त्यो परिवेश र परिधिभित्रको एउटा
सानो आयामभित्र
उभिएर
प्रत्येक साँझ बेलुका कोइला र दाउरा भरेर
श्वास फेरेको पनि देखेको छु
हामीले ती आकाशतिर उडिरहेका
काला धुवाहरूलाई जीवन भन्यौ ।
मुसलधार वर्षाबाट भिजेका
चुल्हाहरू तताउँदै
खोसेलाका पिराहरूमा बसेर
वेद व्यास पढ्यौँ
भागवत पढ्यौँ
स्वस्थानी व्रत कथा पढ्यौँ
देवकोटा पढ्यौँ
नारायण गोपाल गायौँ
बाँच्नुका अर्थ र उद्देश्य लिएर
बाँचेका खिइरहेका हामी हड्डीहरूका
व्यथाहरू
त्यहाँका सडकहरूमाथि बिछ्याइएका
अलकत्रा र गिटीहरूलाई सोध्नु
गगन चुम्बी भवनका हरिया झ्यालहरूलाई
सोध्नु
एउटा देश विहीन भुटानी आमाले
दही र मोहीको भीख माग्दै गरेका कथाहरू
पुर्खाको भूमिका बस्ती बस्तीलाई सोध्नु
हुन त
स्थानीय बस्तीका रातारात आँखाहरू
नबलेका पनि होइनन्
भुटान मरेर नेपालका जङ्गलहरूमा
पशु सरह हाम्रा हड्डीहरू, लासहरू
अझै तातै होलान् चिहानभित्र
कम्मरसम्म मैले पहिरेका झुत्रा-झात्रा
थाङ्नाहरू
खाली खुट्टाहरू
भर्खरै रुँदारुँदै थकाइ मारेका आँखाहरू
भर्खरै नेपाली डुङ्गामा रेटी रेटी आएका
चिराचिरा परेका पाइलाहरू
कुर्कुच्चाहरू
र,
रक्ताम्मे हातका औँलाहरूप्रति
नेपालको मौन मुस्कान र हाँसोहरू
मैले मेरो घरको अर्को खोपामा बन्द गरेको छु
तर
हामी आश्रित एउटा देशले
तिम्रो र मेरो बाध्यतालाई अङ्कमाल गर्दै
बेसरम लालच, अमानवीय मानचित्र
विश्व आँगनमा कोचिदिएर
सगरमाथा र माछापुच्छ्रेको शिर निहुराइरहेको छ
कुनै दिन
माई नदीको किनारमा मेरो लास जलिरहेको थियो
र
एउटा सिङ्गो नेपाल पनि म जलिरहेको आगो
हात सेकाउँदै तापिरहेको थियो !
जुकाले झैँ
नागरिक चुस्ने काठमाडौँको दश टाउके
कोब्राहरू
मन्दिर वरिपरि
सुमधुर भजनका सङ्गीतहरू गाउँदै
र
नेपालको प्रत्येक गुम्बाहरू वरिपरि
पवित्र चक्र घुमाउँदै भन्छन्
सीता यही जन्मेकी हुन्
बुद्ध यही जन्मेका हुन्
ब्रह्म विष्णु पनि यही जन्मेका हुन्
मथुरा पनि यही कहीँ कतै थियो ।
मैले तापेका आगोका अगुल्टाहरू
मन पोल्ने रापहरू, वेदनाहरू
लिपिदिएको छु सेता पानाभरि
नभोगेका जीवनका मितहरू होइनन् यी
घाममा फूलेका हिउँका फूलहरू होइनन् यी
होइनन् यी
यी त
मेरा मनभरि फुलेका
सम्झनाका फूलहरू हुन्
यी त
तिमी र मैले सम्झिरहने
भूटानी शिविरका सम्झनाहरू हुन् ।