खोजी
रमेश गौतम
नर्वे
सडक छेउ
ट्राफिक बत्तीहरू
“रातो” बल्दै थिए।
बाटो
सफा थियो
कहिल्यै मान्छे नहिँडे जस्तो
सूचना पाटीमा पनि
“बाटो बन्द छ” लेखिएको थियो;
साँच्चै
तार घेरा थियो गेटमा पनि
लक्ष्मण रेखा जस्तो।
मलाई डर लागेन
सैनिक पोसाकहरूसँग;
तेर्सिएका राइफलहरूसँग।
आज
म सहन नसक्ने भएको छु
म कतै जना चाहन्छु
दूरस्थान !
जीवनको खोजीमा
जीवनको अर्थको खोजीमा !
मलाई थाहा छ –
मेरो गन्तव्यको मार्गमा
सधैँ “रातो” बत्ती बाल्ने गर्छ;
त्यही बाटो हो
मेरो गन्तव्यको
जो जहिल्यै बन्द रहन्छ।
एउटा पोसाक हाँस्यो
मैँले लक्ष्मण रेखा नाघेको देखेर
त्यो मान्छे होइन
केवल दिवाल, मान्छेको
छेक्यो सजीव बनेर।
म
आज फेरि पनि
सधैँ जसरी फर्कन सक्दिन
म सहनै नसक्ने भएको छु
अधिक पीडाले ।
आफैँ हराउनुको लज्जाबोधले।
२९ जनवरी २००२
हात्तीसार, धरान