खुशीको आन्दोलन हामीले जितेका छौं
आई. पी. अधिकारी
एडिलेड, अष्ट्रलिया
जिन्दगीका लक्ष्यहरु धेरै होलान तर खुशी जीवनको सर्वोत्तम लक्ष्य हो । जीउने जो सुकै प्राणी पनि खुशीमय जीवन चाहान्छ – मनुष्य होस वा जनावर । बेखुशी जीवन सार्थक नहुन सक्छ । विज्ञानको अध्यायनले के देखाएको छ भने खुशी बिनाको मानिसले आफ्नो बौद्धिक क्षमताको अधिकतम उपयोग गर्न सक्दैन । जब मानिसले बौद्धिक क्षमताको अधिकतम प्रयोग गर्न सक्दैन, यसले समाज विकास र वृहत्तरमा मानव सभ्यतामा असर पार्छ ।
मानिस केले खुशी हुन्छ त ? – कारण, परिवेश र परिस्थिति अनुसार फरक पर्छ । कुनै एउटै विषयले कसैलाई खुशी त कसैलाई दुखी बनाउछ । यसको प्रत्यक्ष उदाहरण हुन् नेपाली भाषी भुटानी । उनीहरुको उपस्थिति भुटानको दु:खको कारण बन्यो त पश्चिमा मुलुकका लागि खुशी कारण । पश्चिमी सभ्यताले ल्याएको वैज्ञानिक क्रान्ति र त्यसले मानिसको जीवनमा ल्याएको सहजपन र ऐस आराम आज अधिकांश मानिसको खुशीको कारण बनेको छ । असज र कष्टपूर्ण जीवन बाचेको मानिसलाई आज कसैले खुशी मान्दैन ।
गरिबीमा बाचेकाहरुका लागि पैसा कमाउनु र आरामदायी जीवन जिउनु खुशीको कुरा होला । धनीहरुका लागि अझ धेरै कमाउनु खशीको कुरा होला । पुजीवादको प्रभुत्व फैलिएको आजको दुनियामा सम्पत्ति आर्जन गर्नु खुशी कमाउने एउटा माध्यम अवश्य हो । त्यसो त सम्पत्ति नै सबथोक चै पक्कै हैन । अत: खुशी कमाउने यो पुजीवादी शैलीको खिलाफ भुटान विश्व रंगमञ्चमा उत्रिएको छ । उसको भनाइमा पुजीवाद र उपभोक्तावादले मानव सभ्यतामा खलल पुर्याएको छ । पुजीवादले आफ्नो अन्तिम लक्ष्य खुशी भन्दा पनि सम्पत्तिलाई छानेका कारण समस्या सृजना भएको छ, भुटानको तर्क मान्ने हो भने ।
पश्चिमी सभ्यताका दिग्गजहरु भुटानको यो कहानी सुन्न कान ठाडा पारेर बसेका छन् । यो हैन कि ति दग्गजहरु खुशीको सिद्धान्तबारे अनभिज्ञ रहेका कारण भुटानको यो नयाँ प्रस्तुती सुन्न तयार भएका हुन् । युरोपका कैयन विद्वानले खुशीको सिद्धान्तबारे धेरै ठाउँ अनि धेरै पहिले चर्चा गरेका छन् । अमेरिकामा त संविधानमै लेखिएको छ राज्य संचालनको लक्ष्य भनेको जनतामा खुशीको सञ्चार गर्नु हो । तर के ख्याल रहन जरुरी छ भने जुन देशले पहिलो पटक संवैधानिक रुपमै खुशियलीलाई अंगाल्यो आज त्यही देश भुटानबाट निस्केको खुशीयालीको यो नयाँ बहसमा सहभागी हुन र त्यसलाई अंगाल्न अग्रसर छ ।
अप्रिल महिनाको सुरुमा संयुक्त राष्ट्र संघको आव्हानमा भएको खुशीयाली सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको नेतृत्व गर्न न्यु योर्क पुगेका भुटानी प्रधान मन्त्रि जिग्मी थिन्लेले पहिलो चोटी मुख खोले – भुटान पनि कहा खुशी छ त ? यसअघि हरेक पटक उनको तर्क हुन्थ्यो भुटान भन्दा खुशी देश अरु छैनन् । अल जजिरासंगको एक अन्तर्वाताका क्रममा केही समय अघि यिनै विद्वानले भनेका थिए भुटानका गल्लीमा हिड्ने कुकुरहरु पनि खुशी छन् ।
आज विशवभर खुशियाली सम्बन्धि लेख्दा, बहस गर्दा वा भाषण गर्दा हरेक पटक भुटानलाई उदाहरणका रुपमा प्रस्तुत गरिन्छ । कुनै बेला भुटानलाई संसारकै खुशी मुलुकका रुपमा चित्रित गरिन्थ्यो । तर यतिखेर प्रकाशित हुने संसारका खशी देशहरुको लिस्टमा भुटान कही कतै परेको पाइदैन । यद्यपि कैयन विद्वान र अध्येताहरुले भुटानलाई आज पनि खुशी देशका रुपमा चिनाउने गर्छन् । यसो भन्दा भुटान खुशी छैन भन्न पनि खोजेको हैन । भुटान अरु मुलुक भन्दा धेरै खुशी नै छ तर जुन रुपमा आज उसको चर्चा गरिएको छ, त्यो हदसम्म भने पक्कै हैन ।
भुटानलाई खुशी देश भनेर चिनाउने सबै विद्वानहरुले भुटान के कारणले खुशी छ भनेर सायद खोजेका छैनन् । बाहिर जति धेरै र जस्तै चर्चा गरे पनि भुटान खुशी हुनुको पृष्ठभुमि फरक छ । हेर्ने दृष्टिकोणमा फरक नआएसम्म यो पृष्ठभुमी पत्तो लाउन अति कठिन छ । खुशीको व्यापारमा भुटानलाई हँ मा हैंसे गर्दै काध थाप्न पुगेका यो विद्वत समुदाय भुटानको त्यो सुक्ष्म तर संवेदनशील कारण खोज्ने ध्याउन्नमा देखिएका छैनन् र भविष्यमा पनि त्यसो गर्लान भन्ने कमै मात्र आश छ । किनकि खुशी नामको यो व्यापारका लागि भुटानलो खोलेको पसल यति धेरै चिर्चित छ कि त्यसमा अन्तर्निहित विषय खोज्ने बाटाहरु यसले छोपिदिएको छ ।
भुटानको खुशीको कारण हो अरुको सभ्यतामा हमला बोल्न पाउनु र त्यो मिसन सफल हुनु । भुटान त्यो दिनदेखी खुशी देशका रुपमा चिनिदै आएको छ जतिबेला उसले अर्को सभ्यता र संस्कृतिमाथि धावा बोल्ने नीति तयार गर्यो । भुटानमा नेपाली भाषा, संस्कृति र सभ्यताको राप भुटानका विद्वानहरुमा यसरी पर्यो कि उनीहरुलाई भुटानको अरु जातीय समाज पनि त्यसैमा विलय हुने डर भयो । राजनीतिक रुपमा भुटानले त्यहाका नेपाली भाषीलाई गैर कानुनी रुपमा बसाई सरेर आएका भन्ने गरे पनि धेरै संवेदनशील अवस्थामा भुटानका नेता र राजाले त्यो देशमा नेपाली सभ्यताको जरो उखेल्नुको कारण त्यसले समग्र समाजमा पारेको प्रभाव नै हो भनेका छन् । यसरी हेर्दा अर्को सभ्यतालाई स्वीकार नगर्ने देशका रुपमा भुटानलाई चिन्दा फरक पर्दैन । त्यसैले त प्रधान मन्त्रि थिन्लेले न्यु योर्कमा हालै भनेका थिए पश्चिमा सभ्यताले ल्याएको उपभोक्तावादले मानिसलाई हिंस्रक प्राणी बनाउदैछ ।
भुटानको शासन चलाउने त्यो समुहले खुशी प्रवर्धनका निम्ति आफ्नो भाषा-सभ्यताको जगेर्ना गर्ने जस्तो सकरात्मक नीति अवलम्बन गर्नुको सट्टा अर्को सभ्यता माथि आक्रमण गर्यो । यो मानव सभ्यताको हिसाबले अनैतिक जस्तो नै देखिन्छ । अरुको भाषा, संस्कृति र सभ्यताको अवहेलना र दमन गरेर कमाएको खशीयाली कतिञ्जेल बाच्ला र ! हिजो खोरमा थुनेर “म खुशी छु” भन्न जसलाई बाध्य बनाइएको थियो, राजनैतिक परिवर्तन पछि खुल्ला समाजमा विस्तारै ती तथ्यहरु बाहिर निस्कदैछन् ।
नेपाली सभ्यताको जरो उखेलेको दुई दशकपछि भुटान विश्वकै खुशी मुलुकका रुपमा अघी आएको छ । भाषा सभ्यताको केन्द्र विन्दु हो । अर्को भाषामा भन्ने हो भने भुटानले नेपाली सभ्यताको उन्मुलक गर्नु भनेको नेपाली भाषा संकृतिको उन्मुलन गर्नु हो । आज भुटानमा नेपालि भाषाको नामो निसान छैन । त्यहाँको एउटा सिंगो नयाँ पुस्ता नेपाली बोल्न, पढ्न र लेख्न जान्दैन । नेपाली सावा अक्षर चिन्दैन । त्यहाँ घर परिवार भन्दा बाहिर नेपाली बोल्न सक्ने वातावरण छैन ।
तर भाषा र समाज छुट्टिन सक्दैन । त्यसैले भुटानले उन्मुलक गर्न चाहेको नेपाली भाषा सभ्यता नेपालका शरणार्थी छाप्रहरुमा पनि मौलाइरह्यो ।गएको चार वर्षमा यो सभ्यताको लहर भाषा अन्दोलनका स्रष्टाहरुसंगै पुनर्वास अन्तर्गत पश्चिमा मुलुक आइपुगेको छ । यतै आएर पनि भुटानी-नेपालीको साहित्य प्रतिको लगाव चुडिएन, साहित्य प्रतिको मोह टुटेको छैन । संस्था नै खोलेर उनीहरु यसमा लागका छन् । भुटानको नयाँ पुस्ता नेपाली भाषा साहित्यको महत्व र अर्थ नबुझ्ने अवस्थामा छ । पुरानो पुस्ता हिजोको दमनको धङधङीका कारण नपाली विषयमा केही गर्न चाहादैन । लखेटिएको अवस्थामा पनि सभ्यताका पुजारी बनेका यी नेपाली-भाषी भुटानीले निकट भविष्यमा भाषोन्नतिको त्यो लहर फेरी भुटान फर्काउने संभावना अब करिब मरिसकेको छ ।
यसरी सर्सर्ती हेर्दा भुटान उसको खुशी कमाउने अभियानमा सफल भएको छ । त्यसैले त उ यति खुशी छ कि उसको अभियाननै कुल राष्ट्रिय खुशीयाली बनेको छ ।
नपाली भाषी भुटानी अरुको सभ्यता अतिक्रमणमा हैन आफ्नो सभ्यता निर्माणमा खुशी हुन्छन् । भुटानमा दमित अवस्थामा रहदा होस वा नेपालमा शरणार्थी जस्तो दयनीय अवस्थामा बाँच्दा अनि पश्चिमी मुलुक पुगेर रातोदिन काममा दलिदा । उनीहरु भाषा सभ्यताको जगेर्नामा हमेसा दत्त चित्त छन् । हालै अष्ट्रेलियाको एड्लेडमा उनीहरुले सुरु गरेको नेपाली भाषा स्कुल यसको जल्दो बल्दो उदाहरण हो । नयाँ स्कुलमा सानैमा यो देश छिरेका र यहा आएर जन्मिएका मसिना बाल बालिका हरुलाई नेपाली भाषा-संकृतिबारे ज्ञान दिने उद्देश्य राखेको छ ।
आफ्नै देशका मौलाउदै गरेको एउटा सभ्यतालाई मिल्क्याएर भुटान खुशी भएको छ भने स्वतन्त्र र सभ्य समाजमा आफ्नो भाषा-सभ्यतालाई निरन्तरता दिन पाएकोमा नेपाली-भाषी भुटानी खुशी छन् । अरुको सभ्यताको दमन गरेर भुटानले खुशीको व्यापार गर्यो तर त्यो दमनमा पर्नेहरु नै आज भुटान भन्दा खुशी छन् । भुटान भन्दा धेरै खुशी मुलुकहरु डेनमार्क, नर्वे, अष्ट्रेलिया, न्यु जील्याण्ड, नेदरल्याण्डस, अमेरिका जस्ता देशमा पुगेका छन् । अत: खुशीयाली सिन्द्धान्त बारे यदि साच्चिकै अनुसन्धान गर्ने हो भने यी लखेटिएका नेपाली भाषी भुटानीमा गरे राम्रो जो जहिले पनि खुशीका साथ जिए । खुशीको मामलामा भुटानले जति धेरै हाई हाई पाए पनि आखिर उसले लखेटेकाहरु नै उ भन्दा खुशी छन् । खुशीको यो आन्दोलनमा हामीले जितेका छौं ।