खुसीका आयामहरू

बुद्धमणि ढकाल
केन्टुकी, अमेरिका

आजभोलि खुसीयालीको केन्द्रीय तर्कमा लेखिएका किताबहरु र पत्र-पत्रिकामा छापिएका लेख रचनाहरु पढ्ने अभ्यास गर्दैछु | मानिसले जीवन खुसी र सुखी दुवै होस् भन्ने चाहन्छ | देशमा पनि सबैमा खुसी छावोस भन्ने चाहना राष्ट्रका अगुवाहरुले राखेका छन् | अमेरिकामा थोमस जेफर्सनले स्वतन्त्रको घोषणा पत्रमै उल्लेख गरेका थिए खुसी हुने रहर |

भुटानका राजा जिग्मे सिंगे वांगचुकले बेलायतको एउटा आर्थिक पत्रिकालाई दिएको अन्तर्वार्तामा “भुटानकालागि कूल गार्यस्थ उत्पादनभन्दा कूल गार्यस्थ खुसी महत्वपूर्ण” भनिदिएकाले भुटानलाई सबभन्दा खुसी राष्ट्र भनिदैछ अहिले |

मेरो रुचिको विषय होइन खुसी न त मेरो अध्ययन | तर व्यक्तिगत खुसी र पारिवारिक खुसीभन्दा पर गएर राष्ट्रिय खुसी पनि सम्भव छ भन्ने तर्कले मेरो ध्यान तान्यो | भर्खरै एरिक वेइनेरले लेखेको ‘the geography of bliss ‘ पढें | संसारका विभिन्न राष्ट्रमा घुमेर लेखेको यो किताबमा भिन्नभिन्नै भूगोलमा मानिसलाई खुसी बनाउने कुरा भिन्नभिन्नै हुन्छन् भन्ने पुष्टि गरिएको छ | खुसीलाई राष्ट्रिय नीति बनाइएको भुटानमा मानिसलाई भौतिक साधनभन्दा आध्यात्मिक चिन्तन र आपसी विश्वास/ मेलमिलापले बढी खुसी बनाउँछ भन्ने तर्क छ | भुटानको राष्ट्रिय खुसीको नीति यसै तर्कमा आधारित भएको कुरा एरिकले लेखेका छन् | अमेरिका आएको तीन वर्ष हुन लागेछ र यो अवधिमा भुटान र अमेरिकाबीच तुलना गर्ने प्रचुर मौका पाएको छु मैंले | भौतिक विकासको चरम चुलीमा पुगेको अमेरिका भुटानभन्दा झन्नै दुई सय वर्ष अगाडी छ तर भुटानको जी एन एच ले अमेरिकीहरुलाई खुसी रहनु ठूलो कुरा हो भन्ने पाठ सिकाइरहे जस्तो लाग्छ | जीएनएच युएसएले २०१० मा भर्मोन्टमा आयोजना गरेको सम्मेलनले अमेरिकीहरुले पनि खुसी रहने कारक तत्वको खोजी गरिरहेका छन् भन्ने जनाउँछ |

अझ पनि भुटानको कूल गार्यस्थ खुसीको नीतिमाथि चित्त बुझिराखेको छैन | त्यसमाथि भुटान गएर पारो, थिम्फु, वांग्दी, मोंगार र बुम्थांग घुमेर आउने पश्चिमा यात्रीहरुले ‘संसारमा सबैभन्दा खुसी देश भुटान’ लेखेकोमा झनै मन पोल्छ | सन् २००९ मा अमेरिकाका एक पत्रकार ‘मार्क कदिन्ग्तनले “द इन्डिपेन्डेन्ट”मा यस्तै बढाईं गरेको पाएँ | पारोस्थित ताक्छांग गुम्बामा खिचिएको उनको फोटो झट्ट हेर्दा रमाइलो लाग्ने थियो तर म छुट्टी मनाउन हिमाली भेग घुम्न गएको मान्छे थिइनँ, जो मनोरम दृश्यमा भुलेर खुसी भएको महसुस गरिरहेको होस् | उनलाई एउटा झटारो हानें – तिमीले नबुझी नचाहिँदो प्रशंसा गरेछौ भनेर |

मनको आनन्दलाई प्रसन्नताको पर्याय भन्नु ठिकै होला | तर महाकवि देवकोटाको ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ सुनको मोहमा भोट गएको मदनलाई कुन कोटीको प्रसन्नता दिन्थ्यो होला मापन गर्न सकिएन | मानिसलाई भौतिक सम्पन्नताले खुसी तुल्याएन त, विगतमा पनि र वर्तमानमा समेत ? सुन, चांदी, हिरा, मोति, मुगा, पन्ना जस्ता रत्नले सजिए पनि मानिसका मनको प्रफ्फुल्लता नखुलेको उदाहरण भेटिन्छन् | भगवान गौतम बुद्ध स्वयम् उदाहरण छन् |

भुटानको ग्रस् न्यासनल ह्याप्पिनेसमाथि थोरै चर्चा गरेर किताब लेख्ने रिक् लिप्सी एक गोल्फ खेलाडी रहेछन् जसले थिम्फुमा गोल्फ प्रशिक्षकको काम गरेका थिए रे | कूल राष्ट्रिय खुसी होस् या नहोस्, एउटा गोल्फ खेलाडीलाई चासो थिएन, तर उनकी श्रीमतीले प्रजातान्त्रिक भुटानको दण्ड नीति (penal code) तयार पार्ने काममा त्यहाँका मुख्य न्यायधीससंग काम गरेको कुरा उल्लेख छ किताबमा | बौद्ध धर्ममा आधारित भुटानको पुरानो कानुनलाई प्रजातान्त्रिक परिपाटीको कानुनमा रुपान्तरित गर्नु र अन्तरराष्ट्रिय मापदण्ड अनुसारको कानुनी राज्यको निर्माण गर्नुसंग सारा जनताको खुसीको सवाल जोडिएको छ | मुख्य न्यायधीसले जनताको खुसीलाई ध्यानमा राखेर कानुन निर्माण गरिएको कुरा रिकले किताबको अन्तिम भागमा लेखेका छन् | अहिले भुटानलाई आवरणले मात्र चिन्न खोज्ने समुन्द्र पारिका मानिसकालागि किताबको यो कुरा सत्य भयो तर भुटानभित्रै पसेर व्यवस्थालाई बुझ्ने हामीलाई यी ‘गुलिया वचन’ मात्र हुन् किन भने तिनै न्यायधीस भनाउँदाले भुटानबाट लखेटिएका जनतालाई न्यायको खिल्ली उडाउँदै गैरभुटानी भनेर घोषणा गरेका छन् |

सन् २००७ मा भुटान गएकी अर्की अमेरिकी पत्रकार लिजा नापोलीले “रेडियो सांग्रिला, मैंले भुटानमा जे सिकें” भन्ने किताब लेखेकी छन् | रेडियो पत्रकारिताको आफ्नो लामो अनुभवलाई भुटानमा भर्खरै पलाउँदै गरेको एफ एम रेडियोलाई बाँडन पुगेकी लिजा भुटानको राष्ट्रिय खुसीको हौवा सुनेर त्यहाँ पुगेकी थिइन् | तर उनको किताबले भुटान साँच्चै खुसी नै खुसीले भरिएको देश रहेछ भनेको छैन | अथवा लिजाले बाहिर फिँजाएको खुसीको हल्ला जतिकै भुटानभित्र मानिसहरु सन्तुष्ट र खुसी नभएको पाइन् | बरु त्यहाँको युवा जमात जीवनदेखि असन्तुष्ट भएको पाइन्, र पश्चिमी देशहरुमा पैसा फल्छ भन्ने गलत धारणाले ग्रसित भएको पाइन् | उनले मसंगको कुराकानीमा ‘भुटानका युवाहरुमा भूमण्डलीकरणको गहिरो प्रभाव भेटें र त्यसैको फलस्वरूप हो मेरो किताब’ भनेकी थिइन् |

अमेरिकी नागरिकहरुको खुसी रहने प्रवृति र कारणहरुको बारेमा अर्थर सी ब्रूक्सले ‘ग्रस् न्यासनल ह्याप्पिनेस’ किताबमा तुलनात्मक अध्ययन गरेका छन् | तर अमेरिकी खुसीको रहस्य यहाँको स्वतन्त्रता र आर्थिक उचाई हो भन्ने लाग्छ | कानुनको प्रभावकारी पालना गराउने, सबै नागरिकलाई एउटा कानुन लागु हुने, भ्रष्टाचार र कर चुहावट नियन्त्रण गर्ने प्रभावशाली विधिको प्रयोग, सबै जनताले खान बस्न पाउनुपर्छ भन्ने सरकारी नीति हुनु, खान नपुगेकाहरुलाई सकारले विद्युतीय रासन कार्डको व्यवस्था गर्नु र मानिसलाई चाहिने न्युनतम आधारभूत आवश्यकता-पानी, बिजुली, टेलिफोन, बाटो- घाटो, ऊर्जा बेरोकावट हमेशा उपलब्ध गराउनुले सरकारले जनताप्रतिको पूरा गरेको मानिन्छ | त्यसैले पनि अमेरिकामा बस्ने मानिसहरुको खुसीको न्यूनतम तह कायम भएको छ, गरिब होस् वा धनि |

तर यो कुरा संसारको खुसी देशका जनताले थाहा पाउँदा हुन् अथवा तुलना गर्न खोज्दा हुन् त उनीहरु अझ बेखुसी हुनेछन्, अझ हतोत्साही हुनेछन् | त्यसैले भुटानी जनताको अज्ञानताको खुसी साँचै अल्पकालीन छ |

यद्यपि यी आधारभूत सु-व्यवस्थाले अमेरिकीहरुलाई खुसी रहने आधार निर्माण गर्छन् तथापि अर्थर ब्रूक्सले यी दैनिक उपभोग्य वस्तुको कसीमा अमेरिकी नागरिकको खुसी जोखेका छैनन् | अमेरिकामा दिनको १२ देखि १६ घण्टा काम गर्नेहरु आफ्नो परिवारसंग कम समय बस्छन् र उनीहरु यन्त्रसंग बढी काम गर्छन् जहाँ बोल्नु पर्ने कम हुन्छ; श्रीमान श्रीमतीबीच पारपाचुके हुनेमा अमेरिका निकै अगाडी छ| त्यसकारण, पारिवारिक सम्बन्ध बिग्रिनु, बुढेसकालमा एक्लो महसूस हुनु, छिमेकीहरुसंग कम मात्र बोलचाल हुनु अथवा व्यक्तिगत गोप्यतामा बढी सचेत हुनुले अमेरिकी खुसी धरापमा परेको हुनुपर्छ |
एरिक वेइनरले लेखेको जस्तै संसारमा व्यक्ति, समाज वा राष्ट्र खुसी हुने संकेत चिन्हहरु फरक फरक हुन्छन् भन्ने मलाई पनि लाग्छ | त्यसर्थ खुसी हुने सबै आधारहरु भुटानी शैलीका छैनन् अनि सबै मानिसहरु अज्ञानताको खुसीमा रमाएका पनि छैनन् |

One Reply to “खुसीका आयामहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *