गजल-१२६

निर्मला अवस्थी / काठमाडौं

राख तिम्रो आँखाभित्र नानी बनी बस्छु
तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।।

कुलतमा तिमीलाई पर्न दिने छैन
तिम्रा सबै राम्राराम्रा बानी बनी बस्छु।।

जीवनको अन्त्यसम्म तिमीलाई दिन
नरित्तिने मायाको म खानी बनी बस्छु।।

अरू केही दिने कुरा छैन मेरो साथ
तिम्रीलाई माया दिई दानी बनी बस्छु।।

कहिले पनि तिमीसंग टाढा हुने छैन
अब सधै तिम्रै मनकी रानी बनी बस्छु।।

Don't have a Facebook account? Please, use the form below with other options!