गजल-५०२

धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका

त्यो  गुनासो  सकिएन  हुँदा पनि नहुँदा पनि
समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि

गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो
गरिब ! महलमा भेटिएन हुँदा पनि नहुँदा पनि

कोही  बाँचेर  पनि  मरिरहेका  हुन्छन्  हरपल
मरेर   पनि   मरिएन   हुँदा  पनि  नहुँदा  पनि

लोभ  गर्दागर्दै  आधा  जीवन   सकियो   तर
तुच्छ  लालच  सिद्धिएन हुँदा पनि नहुँदा पनि

गर्छु भनियो, ढोल पिटियो आफ्नो पालो आएपछि
सिन्को  पनि  भाँचिएन  हुँदा  पनि  नहुँदा पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *