गजल-६२
रमेश गौतम
नर्वे
जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ
कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ
धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन्
सुकोमल त्यो जवानी नै उदासीमा खिइँदैछ
फुलेका छन् गला घोच्ने तीखा काँडा जता हेर्छौ
विवशतामा हरेक आशा नशा जस्तै पिइँदैछ
पिता-पूर्खा त्यही माटो भनी हर क्षण जुटेकाथे
इमान्दारको इमान व्यर्थै खरानीमा लिइँदैछ
व्यथा जस्तै बिहानीमा हिउँ वर्षा भएको छ
निशा मात्रै सबैलाई चिनो जस्तै दिइँदैछ
पिंगल छन्द: विधाता
१७ नोभेम्वर २००४
बिराटनगर