गजल-१

रमेश गौतम
नर्वे

मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो
नयनको अश्रुधारा तिम्रालागि शीत भयो।

मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु
सधैँ जसो त्यो दुखाइ तिम्रालागि हित भयो।

चिरिएको छातीभित्र स्वर्ग खोज्ने रहर लियौ
आँसु हेर्दै रमाउनु तिम्रालागि रीत भयो।

सपनामा चिच्याउँछु, बिपनामा निसासिन्छु
त्यही चर्को स्वर आर्तको तिम्रालागि प्रीत भयो।

बँचाइको के मूल्य भो ‘रश्उ’ सधैँ मार भयो
मराइको त्यो पीडा नै तिम्रालागि जीत भयो।

१ जनवरी २००५ 
विराटनगर 

4 Replies to “गजल-१”

  1. गोतामे साहिँलो

    राम्रो छ रमेशजी, भावना र प्रस्तुति दुवै। अरु पनि पढ्न पाउँ।

Don't have a Facebook account? Please, use the form below with other options!